‘नासो’भित्र सामाजिक चिन्तन

सामाजिक विषयवस्तुलाई मानवियता र भावनाको उत्कर्षमा उनेर कथा लेख्न सीपालु कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’कथासङ्ग्रहमा एघारवटा कथा अटाएका छन्।२००७ साल र सोही कालखण्डको आसपास लेखिएका यी कथाहरुमा विशेष गरि मान्छेका आपसी सम्बन्ध,गाउँघरका चाल चलन,जातिय विभेद,गरिबी र वर्गीय असन्तुलनले समाजमा ल्याउने खलबललाई निकै मार्मिक रुपमा पात्रहरुको संवेदना द्वारा प्रस्ट्याईको छ।

लोभ,क्रोध,ईर्ष्या,द्वेष,अंहकार आदि मान्छेका नकारात्मक भावनालाई प्रेम,आपसी सद्भाव,शहनशिलताले अवश्य जित्न सक्छ,परास्त गर्न सक्छ र वैचारिक बेमेललाई किनारा लगाउँदै सम्बन्धमा सुमधुरताले निरन्तरता पाउन सक्छ भन्ने ज्ञान ‘नासो’ कथासङ्ग्रहले दिन्छ।

सम्पतिका लागि हुने दाजुभाई बिचको मनमुटाव,अज्ञानताले छोपीएर छिमेकीसँग हुने कलह,जोईपोईका सामान्य टकरावले पनि ध्वस्त बनाएको परिवार,प्रेमको अभिव्यक्तिमा भएको ढिलाई अनि त्यसको रित्तो परिणाम,घमण्डले आँखा छोपेपछि आफूबाट हुने गल्ती र त्यसको प्रायश्चितले दिएको शोक आदि विषयमा यी कथाहरु लेखिएका छन्।

यी कथाहरु सरसर्ती पढ्दा वियोग,पीर,पीडा आँशुले भरिएका कथा जस्तो लागेपनि,ग्रामिण जीवनका मानवीय पक्षलाई निकै नजिकबाट बुझाउने हेतु कलात्मकताको प्रधानतालाई ध्यानमा राखी लेखिएका कथा हुन्। कथाकारको सामाजिक चेत,समस्याको निराकरणको क्षमता र सौहार्दताको सबल र बलियो पक्ष यी कथामा स्पष्ट बुझ्न सकिन्छ।

. ‘नासो’कथा— प्रेममा मग्न जोडी सन्तानको अभावमा रित्तो अनुभव गर्छन्।अन्तत: दोश्रो विवाह गरेर सौता भित्राएपछि जेठी श्रीमतीलाई पर्ने पीडा र उनले खेपेका चोटलाईमर्मस्पर्शी रुपले देखाईएको छ।यो कथा पछि भित्रिएकी सौताले भन्दा पनि आफ्नो श्रीमानले गर्ने अलग व्यवहार र विल्कुलै फेरिएको उनको स्वभावले एउटी नारीलाई पार्ने संवेदनात्मक प्रभावलाई वियोगात्मक रुपमा लेखिएको कथा हो।

. ‘छिमेकी,कर्तव्य र पापको परिणाम’ कथाहरु — अहंकारले पराकाष्ठ नाघेपछि मान्छेको उँधोगतिको सुरुवात हुन्छ भन्ने गतिलो उदाहरण सहितका कथाहरु हुन्।भाई- भाई, तल्लो माथ्लो छिमेकी र एउटै गाउँमा मिलेर बस्ने जुनै जात र वर्गका मान्छे बिचमा पनि सौहार्द नै सुहाउँछ भन्ने सन्देश दिने कथा हुन् यी।दौलत र शक्तिको आडमा कसैलाई तुच्छ सम्झनु, आफूलाई सर्वस्व ठान्नु क्षणिक हुन् भन्ने ज्ञान पनि यी कथामा छन्। दाजुभाईका बिचको खटपटमा आफ्नो पुर्खाको मान,ईज्जत,नाम र सम्मान पिसिनु हुँदैन भन्ने शिक्षा ‘कर्तव्य’ले दिन्छ।आखिर दुख्ने भनेको आफ्नालाई नै हो रहेछ।

. ‘प्रायश्चित’ — कथाले एउटी विधवालाई आफ्नो जीवनलिला समाप्त पार्न बाध्य गराउँने कथित ‘स्त्रीसुधारका पक्षधर’ गोविन्द र गोविन्दहरुको उच्च शिक्षा माथि व्यङ्ग्य गर्छ।एकल महिलालाई प्रेम र आफ्नोपनको चाह अवश्य होला तर धोका सहितको सम्बन्धले दुर्घटना मात्र निम्त्याउँछ।

. ‘बिदा’– कथामा त एउटा सिङ्गो चलचित्र नै बन्न सक्छ होला।यो कथा छोरीले/नारीले आफ्ना ईच्छा,चाहना,सपना लाई मनमनै गाडेर धर्म,जात,कुल आदिका नाममा जीवनको आहुति दिनपर्ने हाम्रो समाजको तल्लो स्तरको मान्यता माथि बोलेको छ।हुन त,आज पनि जात मिल्दो केटो र कुल घराना कुटुम्ब खोज्दै छोरीका बाउ हिड्छन् भने,यो कथा लेखीरहँदा अवस्था कस्तो हुँदो हो।प्रभा, नरेन्द्रसँग आफूखुशी बिहा गरेर गई।डेरामा राखेर नरेन्द्रले केही समय पतित्व निभायो अनि भयो उही कि – खुसुक्क जात-कुल मिलाएर अर्को विवाह।त्यसले प्रभाको जीवनमा ल्याएको आँधी र त्यो आँधी साम्य भएको त्यो स्थान र त्यो क्षण सम्झँदा पनि हुरुक्क भईन्छ।मतलब,छोरी मान्छेले कति सहनुपर्छ है?

. ‘परालको आगो’ कथामा — श्रीमान श्रीमतीको घर झगडाले परिवारमा हुने अनेक समस्यालाई मसिनो गरि केलाएको छ।एउटा घरलाई श्रीमती वा आमाको हैसियतमा बसेर एउटी नारीले कसरि सम्हालेकी हुन्छे,त्यसको मिठो उदाहरण यो कथा हुनसक्छ।हुन त,श्रीमतीले दिनहुँको कुटाई सहनुपर्ने बाध्यताको बिचमा लिएको निर्णयले अपराधी लोग्नेले पाएको चेत र खेपेको दुखलाई पढ्दा ‘ठिक्क पर्यो’भन्न मनलाग्छ तर जसरि कथा सकिन्छ – त्यो मिठो छ।यो कथामाथि चलचित्र बनेको छ जस्तो लाग्छ।

. ‘सहिद’ कथामा — आफ्नो सम्पूर्ण गुमाएर पनि अन्त्य सम्म राष्ट्रलाई अगाडि राख्ने ‘विर’को वर्णन छ।प्रवासमा रहँदा बस्दा आफ्ना देशका भाई भारदारलाई निस्वार्थ सेवा टहलि गर्ने ‘विर’ हरु आज त कतै छन् कि छैनन् कुन्नि?दिनहुँ नेपाली बाटै नेपाली लुटिएका समाचार आईरहन्छन्। 

. ‘प्रत्यागमन’ कथा – बिहा गरेपछि केटो बिग्रियो,उसलाई अब श्रीमतीले उठबस गराउँछे।बा सरहको दाजु र आमा सरह कि भाउजुको लालन पोषणले हुर्किएको ठिटोले श्रीमतीलाई सर्वस्व ठान्छ अनि के सहि के गलत छुट्याउँन नसकी कुम्लो बोकेर हिड्छ।एउटा समय आउँछ, प्रायस्चितको र ऊ घर फर्कन्छ।यो कथा आजको समाजलाई पनि उस्तै ऐना देखाउन सफल छ।स्वास्नी च्यापेर,आमा कुट्न हिड्ने छोराहरुको कमी छैन यहाँ।

. ‘चिताको ज्वाला’ सङ्ग्रहको अन्तिम कथा हो। यो कथा भित्र व्यक्त नभएको प्रेमको अर्को कथा छ।बाल्यकालको प्रेम कहिल्यै नमर्ने रहेछ क्यारे।अन्तिम घडीसम्म पनि त्यहाँ प्रेमको अभिव्यक्तिको खाँचो हुन्छ तर रहँदैन प्रेम गर्ने व्यक्ति।यो कथामा नायक नायिकाको प्राकृतिक नखरालाई लोभलाग्ने गरि प्रस्तुत गरिएको छ।

1 Response

  1. प्रकाश says:

    मीठो गरी केलाउनु भएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *