उमेरले कुखुरे वैँशको खुड्किला नाघ्दै थियो।केटाहरुबिच आपसमा प्रेम र यौनका विषयमा खुलेर बहस हुन थालिसकेको थियो।हुन त अनुभव लिन कसैले पाइसकेका थिएनन् तर ज्ञान भने यसरि बाँड्ने गरिन्थ्यो कि,ति विषयमा बोल्न समूहका हरेक सदस्य अभ्यस्त थियौँ।मानौँ दशकौँको अनुभव सहितको विज्ञ टोलीले कुनै सुक्ष्म विषयमा बहस गरिरहेको होस्।
***
सम्झँदा लाग्छ,मान्छेले कि त आफ्ना विगतका अनुभवमा टेकेर बोल्ने रहेछ कि त भने आफ्ना मनका आकाङ्ग्क्षालाई नजिकबाट नियालेर बोल्ने रहेछ।यसो भनौँ – अधिकतम समय मान्छेले आफ्नो मनको सग्लो ईच्छा नै बोल्ने रहेछ।त्यसमा जरुर,बाह्य जानकारी र सूचनाको प्रयोग गर्दै एउटा मसालेदार रेसिपी तयार गर्ने रहेछ।मनमनै।अनि के थियो – मौका मिल्यो कि पस्केर राखिदियो।अब त्यसमा वाह-वाह हुन थाल्छ,किनकि हरेकले आफ्ना पनि मनका ति रेसिपी बाँड्नु छ।साझा गर्नु छ अनि वाह-वाहि बटुल्नु छ।
केटाहरुसँग खोलामा गएर धमिलो पानीमा निर्वस्त्र चोबलिनु,बाँसको झ्याँङ्गमा छेको परेर वा महादेवको मन्दिर पछाडि बसेर सिगरेट सल्काउँनु अनि फुक्काफाल हुँदै मनमौजी चलिरहेको दृश्यमा यदि कोही कसैको आपत्तिजनक उपस्थिति भए,बाँसको खोस्टो सल्काएर सरिफ हुनुको स्वाङ्ग पार्नु।अनि तत्काल हाँसोको फोहोरामा भिज्नु।उफ! ति दिनहरुले अन्तिम सास फेरिरहेका थिए।स्कुले जीवनले बिटमार्ने बेला आईसकेको थियो।
***
ति दिनहरुमा मलाई लाग्थ्यो,कुद्नु,उफ्रनु वा भनौँ अस्थिरता नै जीवन हो।त्यसमै छ जीवनको रङ्ग।तर होइन,अहिले मलाई लाग्छ स्थिरता चाहिँ जीवन हो।
बगिरहनु तर देखिनु स्थिर,
बहिरहनु तर देखिनु स्थिर,
एउटा लयमा निरन्तरताको साख जोगाउनु
तर देखिनु स्थिर
उदाउँनु झलमल्ल तर अस्ताउँनु स्थिर
….
मलाई लाग्दैन सूर्य पश्चिमको गर्तमा पुगीरहँदा कसैले प्रलयको महसुस गर्ला।म हेर्छु आकाशभरि उपद्रव गर्दै हिड्ने बादललाई र सोच्छु कति छन् बादलका आफ्ना रङ्ग?मुस्किलले तिन।तब मलाई देख्न मन लाग्छ स्थिर उभिएको सप्तरंगी इन्द्रेणीलाई।हो मलाई लाग्छ,जीवनको रङ्ग स्थिरतामा गाढा छ,अधिक छ।
कलेजका दिनहरु कस्ता होलान भनेर कल्पना मात्रै गर्दापनि,ज्यान अजङ्गको भएर फुल्थ्यो।उत्तेजनाले रक्तसंचार तिव्र गराउँथ्यो।नयाँ परिवेश,नयाँ मित्र मण्डली,नयाँ विषय,नयाँ बहस,नयाँ हाँसो अनि सायद जीवनमा फूलकुमारीको प्रवेश पनि।कल्पनाका क्षेत्रमा निर्बाध पस्ने यिनै विषय थिए।
***
ट्युसन जाँदा-आउँदा अब त पाँच कक्षादेखि सँगै पढेकी नितालाई देख्दा पनि आम्मै लाग्ने,सरितालाई देख्दा पनि ओहो लाग्ने।हैन के भएको यस्तो?एकाएक मान्छेको रुप,यौवन,परिवर्तन भएझैँ लाग्थ्यो।ति सिगाने केटीहरु कसरि यतिबिघ्न सुन्दर लाग्न थाले भन्ने थाहै भएन।ति त फक्रिए रातारात।लहराए रातारात अनि सुवास छर्दै हिड्न थाले आँखै अगाडि….
अब स्कुलका केटाहरु हराए।कलेजका ठालुहरु भेटिए।कोही नेता,कोही ठेकेदार,कोही दोकानदार।हरेकका कुनै न कुनै अलग परिचय।ए! कलेज यस्तो हुने रहेछ।वास्तवमा भन्ने हो भने सरकारी चाहिँ क्याम्पस हुने रहेछ,निजी चाहिँ कलेज।जे होस् म कलेज नै भन्न रुचाउँछु।यहाँका केटीहरु भने भिन्न।भनौँ न,कम लजालु अनि प्रगतिशील कोटिका।संस्कारी अनि व्यवहारिक पनि।
फेरि कलेजका केटीका समूहलाई राम्रोसँग नियाल्ने हो भने तिनीहरुको न हाइट मिल्छ,न शरीरको बनावट मिल्छ,न बोल्ने शैली मिल्छ न त हाँस्ने तरिका।र पनि ति एउटै समूहमा हुन्छन् तथापी ति भेडा हुदैनन्।तिनीहरु सँगै उठबस गर्छन् तर फेरि ति भेडा हुँदैनन्।केटाहरु भन्दा केटीहरुमा,तुलनात्मक रुपले ज्यादा समझदारी र इमानदारी पसिसकेको हुने रहेछ।तिनका चालचलन,बोलाई वा हेराईमा पनि एउटा परिपक्वताको लेस टाँसिएको हुने रहेछ।हामी केटाहरुमा कहाँ त्यस्तो भेटिनु?
“हेर्दा त सोझो देखिन्छौ अनि चुरोट चाहिँ फुक्नै पर्ने?” एकदिन उसले यसरि भनि।मानौँ,चुरोट त सोझा देखिनेहरुका लागि बनेकै होइन।यो त लफंगा,फटाहा र धनी बाउका छोराहरुका लागि मात्रै हो।सुनेपछि म एकछिन सम्म झनन भएँ।फ्याट्टै जवाफ मुखमा आईहालेन।मलाई अवाक् देखेर ऊ मुस्कुराउँदै हाँसको चालमा हिंडी।मेरा आँखाले अलि परसम्म उसैलाई पछ्याए।
स्कुले जीवनमा लुकेर एक दुई कस तानिएको सिगरेटमा एउटा स्वाद हुन्थ्यो।निकोटिनले दिने नशा साँच्चै पर्याप्त हुन्थ्यो।धुवाँ जब फोक्सोमा भरिएर,बाहिर निस्किएको भान हुन्थ्यो तब तलतलको तिर्खाले कुवा भेटेको जस्तो लाग्थ्यो।अहो!एउटाले,एउटा सिङ्गो सिगरेट तानेर कहाँ सक्नु?तब त्यसको मिठास,पालै पालो गरेर दोस्रो देखि तेस्रो कसमा मज्जाले लुटिन्थ्यो।हो,त्यसपछि सुकुमेल चुस्नुको आनन्दको के बयान गरिसक्नु छ र।
अब कलेजमा सिगरेटको त्यो सुखले निरन्तरता लिईरहन सकेन।केटाहरु जुन गिलासमा चिया पियो,अन्त्यमा त्यहि गिलासको पिंधमा ठुटो खसालेर हिड्ने रहेछन्।जब गिलासको पिंधको चियापत्तीको लेदोमा सिगरेटको ठुटो ढाडिन्छ,बाफ रे बाफ मेरा लागि त्यो देख्नु भनेको निकै कष्टदायी कुरा रह्यो।तब,सिगरेटले मेरो जीवनबाट शनै शनै: अवकाश लियो।
मेरो सिगरेट छुटेकोमा कसैलाई आपत्ति नै भएन।यस्तो पनि हुन्छ त? ‘भो यार मैले छोडेँ’भन्दा केटाहरुले जबर्जस्ति गर्नुपर्दैन?पर्छ नि।तर गरेनन्।यो गुनासोका रुपमा किन रह्यो भने,कलेजका मित्र मण्डलीमा पर्वाह भन्ने रहन्न रहेछ।कहाँ स्कुलका गुच्चा खेल्ने साथी मानेर हिड्न सकिन्छ र तिनीहरुलाई।आफैँपनि त कहाँ कसैको ‘लगौंटीया यार’बन्न सकिने रहेछ र?त्यसको एउटा उमेर हुने रहेछ।त्यसको बेग्लै स्थान हुने रहेछ।उमेर जति तन्कियो,उति नै मित्र कम बन्ने रहेछन्।अझ,आत्मियताको मामलामा त शुन्य बराबर।
उसले थाहा पाई वा पाईन होला भन्ने लागिरह्यो।देखादेख भएपनि मैले कहिलै बोलाइन।ऊ पनि कहिलै नजिक आइन। ‘सोझो छु त्यसैले चुरोट फुक्न छाडेँ’ यति चाहिँ सुनाउनु थियो।कलेज भन्नु भुलभुलैया पनि हो रहेछ।एउटै संकायमा सयौँ विद्यार्थी।ऊ कुन संकायमा कुन सेक्सनमा थिई भन्ने पत्ता लगाउने जाँगर पनि चलेन।हो,कम्पाउण्ड बाहिरको चियाको ठेलामा उसले मलाई सधैँ देखिरही मैले उसलाई उही हाँसको चालमा गेटभित्र छिरीरहेकि वा निस्किरहेकि देखिरहेँ।अहिले लाग्छ,ऊ किन दोहोराएर मैले चुरोट फुकेकोमा आपत्ति जनाउन आईन?अथवा,किन मैले चुरोट फुक्न छाडेकोमा खुशी व्यक्त गर्न आईन?
हिजोआज,कहिलेकाहिँ सिगरेट सल्काउँछु।उस्तो स्वाद छैन तर स्कुलका केटाहरु सम्झन्छु,कलेजका केटाहरु सम्झन्छु अनि सम्झन्छु उसलाई।सम्झनाले स्वाद भरेको भ्रममा दुई कस उडाउँछु अनि फेसबुकमा स्टाटस राख्छु,
“खोला जस्तै साथी,बाँस जस्तै उमेर अनि बतास जस्तै एउटा अपरिचित – सिगरेटमा भेट्छु।बस,जीवनको एउटा तलतल यसरी मेट्छु”
अहँ,न केटाहरुको कमेन्ट आउँछ न त उसको नै।