चिया पिईसकेर रित्तिएको
‘सिङ्गल’ गीलासको बिटमा
एक पत्र दुधको तर कटकटिएको छ ।
म हेरिरहेछु र बोधगम्य छु
यस्ता गीलास कति रित्तिए
चियापत्ती सँगै कति यस्ता सेता तर राता बने
परन्तु–
चियाको स्वाद कहिल्यै फेरिएन ।
चियाको तृष्णा कहिल्यै मेटिएन ।
आज फेरि
रित्तिएको गीलास हेर्दै एक झल्को तिमीलाई सम्झिएँ
हाय! मनसुन झरेर निथ्रुक्क भिजेको
एउटा जवान दिनको उत्तरार्धमा
ओठमा लाली मुस्कान;
आँखामा गाजले सन्तुष्टी;
हिँडाईमा हाँसको नक्कल;
र हातमा एक जोडी चिया गीलास बोकेर
तिमी म सामु आएकी थियौ
बार्तलिको ओभानो कुनामा।
अनि–? हो अनि चियाको सुरुप सुरुप सप्तकमा
लय हाल्दै तिमीले सुनाएकी थियौ
‘सुकुमेल’ शिर्षकको एउटा स्वादिलो कविता ।
त्यसदिन देखि आजसम्म मैले
-मनसुन
-मनसुनले निथ्रुक्क भिजाएको दिन
-मनसुनले निथ्रुक्क भिजाएको दिनको चिया
-चिया भित्रको सुकुमेल
-सुकुमेल शिर्षकको कविता
-र कविता सुनाउँने तिमीलाई भुल्न सकेको छैन ।
हेर–तिमीलाई भुलाउन
म बारम्बार चिया पिईरहेछु
हरेक वर्ष मनसुन पनि झरी नै रहेको छ
अनि सुकुमेल पनि मज्जाले फस्टाईरहेको छ।
हेर– तिमीलाई भुलाउन
मैले सुकुमेलको खेती गरेको छु।