Site icon मौनताका आवाज

कर्नेल र साईली

 

‘सम्पतिको भोक सबैभन्दा तेज भोक रहेछ क्यारे।पैसै त हो नि सम्पूर्ण विलासिताको आधार।प्राप्तिको सुक्ष्म डोरी दौलतसँग नजोडिएको भए सम्बन्धमा जालो नबेरिँदो हो।’ आवाज आईरहेछ पश्चिम कुनाको टेबल बाट।

‘सन्दुकमा भोटे ताल्चा लगाएर पटुकामा साँचो गुटमुटाएकी मुखिनीलाई सम्पतिको लोभ छैन भनेर कसरी मान्नु?मुखिनिको के कुरा,आजको मानव सभ्यता मकैमा घुन अल्झिएझैँ धनमा अल्झिएको छैन र?’ अर्को कोहि लर्बरिएको जिब्रो चलाईरहेको छ।

‘ऊ! अस्ति द्वादसिका दिन नै त हो,सराद्दे खान आ’का ज्वाँई लाई समेत लखेटीछन्।हैन मान राख्नु पर्छ भनेर बिर्सन मिलो?’ यो ज्ञान दिने अस्टे साहु थियो।

 

‘पन्चायत ढाले,राजा ढाले मुखिनी अझै आफुलाई उही मान्छिन।फेरिनु भनेको काल युगको माग हो।ति नमरी फेरिन्नन्।जस्ले जे भनोस् माबादीले यत्ति त गरेकै हो ल।’ दयाराम मास्टरले यत्ति बोलि सक्दा नसक्दै, चन्द्रेले भन्यो  ‘के गर्यो जङ्गली शासनले?बोकाले दाईं कहाँ भयो?हुँदो कुरो बोल्न राजाले कहिले रोकेथे र।’

साईलीको भट्टीमा यस्तै कचहरी चल्दै छ।

“तिमेरलाई अर्काको उछित्तो नकाटी खाको पच्दैन भने अन्न किन खान्छौ हँ?घाँस खाए भो।भट्टीमा आफ्ना दुख सुख साट्ने हो।कचहरी बस्न चिया दोकान छँदै छन् गए भयो उतै।”साईलीको असन्तुष्टि पोखिन्छ।

त्यसोत गाउँको शोभा यही होला।गाउँ यही कारणले गाउँ रहला।गाउँले सारा देश देख्छ।देश दुखेको देख्छ।भाईचाराको तानमा आफ्नोपन बुन्छ।गाउँलेको दिनभरिको थकानलाई साँझमा रित्तीने गिलासले पकल्क्क मार्छ।के जादु छ ति घुट्का हरुमा?सिपालु छे साईली।भट्मास भुटेर त्यसलाई  तातो तेलमा देखाएर चरचरी काटेर लसुन हाल्दिएपछि नुन त छ्वास्स चिम्टाउनु न हो।

“मात्ने हन है।ठिक्क पीउने,जुरुक्क उठेर जाने।म सुन्न सक्दिन तिमेर्का स्वास्नीका आरोप।” साईलीको तरिका हो यो।यत्ति फलाकेपछी पिउन मन नहुनेले समेत चाख्न मनगर्छ।

‘यो पात्तेकी भोटिनिले सारा गाउँलाई धोक्ने बनाएर सक्ने भई’।साईलीलाई डस्ने शब्दहरु यिनै हुन् ,यस्तै हुन्।

सुन्छे।बिर्सिदिन्छे।सुन्छे।अनि रुन्छे।कराईमा पटपटी पड्किएको सुँगुरको भुटनमा केहि थोपा आँसु नपरी त्यसको स्वाद यो बिघ्न मिठो नभएको हुँदो हो।

उसको कम्मरको गोलाई,छातीको उचाई,ओठको तन्काई,कपालको लम्बाई र मखमलको पातलो म्याक्सिमा पुट्ट उठेको नितम्बले मात दिएर लहै लहैमा पिउनेहरुको वास्तवमा गल्ति के छ र?आँखाले के धोका दिन्छ?दिएपनि त त्यो ज्ञात धोका भएन र?सहि र गलत छुट्याउन हरेकका घरमा आ-आफ्ना जहान छन्।फेरि  पिउने बखत केलाई आफ्नो नियतको परिक्षा लिने लेठो गरिरहनु?

साईली थप् न।हत्केलाले ओठ पुछ्दै कर्नेल बोल्छ।

“किन हौ, यत्तिको धोक्नु परेको?मृगौला कुइसक्यो होला।”गिलास भर्दै साईली भन्छे।

‘डर छैन मलाई,कुहियोस्।मृगौला,आन्द्राभुँडी,कलेजो र फोक्सो पनि सडेर सक्योस्।बस यो मुटु केहि नहोस्,मुटुमा तँ छेस् नि त।’ हेहेहे।कर्नेल हाँस्छ।

साईली मौनताको वाण आँखाबाट छेड्छे।मन नपरेको स्वाङ्ग पार्दा पनि केहि पत्र गुलाफ साईलीका गालामा  फुलीहाल्छन्।राता र रसिला।

“विदेश गईसी एस्तै सिकेर आउने रछ यो मर्दको जात।सरम भन्ने बेचेर खाईसि के लाग्छ।” गिलास मस्काउँदै साईली फतफताउँछे।

बतासमा रात मिसिएर आउँछ।आकाशमा तारा आउँछन्।मातेका आँखाहरुले साईलीको रुपलाई फगत चाँदनीसँग दाँज्ने चेष्टा गर्छन।कसरी चट्ट बिर्सिएर थकान अनि ह्वास्स गनाएको आफ्नै शरीर,निस्किन्छन् पिउने हरु घरतर्फ?यो हिम्मत कहाँबाट आउँदो हो?भर नभएको पाईला र होस नभएको मगजले आफ्नो गुँड कसरी भेट्ला?चराहरुले विशाल जङ्गलबिचको एउटा हाँगोमा बनाएको गुँड पनि त नबिर्सेला।घरले कसरी तान्छ,चुम्बकले तानेझैँ। उसैगरी तानिन्छ मन।चेतनाको चेत कहाँ बुझिसक्नु छ र।

चुलोमा सेलाएको ढिंडो रुँगेर बसेकि श्रीमतीको थकित अनुहारमा साईलीको रुप देख्न आतुर कर्नेलका आँखाले देख्दैनन् नाकमा झुन्डिएको बुलाकी।

खै त बुलाकी?

“किनिदेको छस्?कुकुरको झोलमा डुबे पछि के के देख्छन् तेरा आँखाले?”दैलोमा आग्लो ठोक्दै ठुली बोल्छे।

तँलाई म पर्ले मुया गर्छु,तँ किन बुझ्दिनस् ठुली।

“गर्यो माया।जाँड बोलेको म बुझ्दिन क्या?”

उता विदेश हुँदा रगत पसिना कस्कोलागि बगा’को मैले लु भन त?देख्नु पर्दैन तैँले मेरो दुक्ख?कर्नेल सुँक्क गर्छ।

एउटो पीउसोको रहर पुरा गर्दे न ठुली।म पिउन चटक्क छोडीदिन्छु।तेरो कसम।लु।छोराको आसमा चार छोरी जन्मीसके पछि कर्नेलले अघोषित हार मानेको छ तर त्यो हारको जिम्मा आफ्नी श्रीमती  माथी थुपारेको छ।स्वास्नी जातले आफुले नबिराए पनि भोग्नु पर्ने सजाएँ मध्यको सबैभन्दा पीडादायी सजाएँ हो यो।

“मलाई के रहर नहोला?तिम्लाई मात्र छ छोराको चाहा?किस्मतमै छैन रेछ के गर्नु।” हिक्का छुट्छ दुबैको।भयङ्कर सन्नाटाले छोपिन्छ मझेरी।एउटा छुचुन्द्रो चुईकिदै तखताबाट हामफाल्छ।सँगै खसाल्छ पुराना केही प्लास्टिकका बट्टाहरु।ठुलीले केही न केही हालेर राखेकी हुँदी हो।

“धुरुक्कै रुवाई सके यी छौँडाहरुले।छुचुन्द्रा तर्फ निर्देशित उसको आक्रोसको ज्वाला कर्नेलले ‘मार्न हुन्न तिनलाई’ भनेर निभाउँछ।

कर्नेलको लरबरिएको शरीरलाई भित्तामा आड लगाईदिन्छे।तोरीको सागमा लप्सीको अचार मिचेर ढिंडोको एकगास कर्नेलको मुखमा हालिदिन्छे।छोरो हुँदो हो त ऊ यसैगरी खुवाउँदी हो।

तेरो हात पर्ले मिठो छ ठुली।

“साईलीको जत्ति त नहोला।”

दोब्बर मिठो छ।आम्मा कसम।कर्नेल चम्किन्छ।

ठुली  खितखिताउँछे।

“घरको ढिंडो र साग मिठो कि साईलीको सुँगुर?”मातेको लोग्नेलाई झन् मात दिने प्रस्न गर्छे ठुली ।

तँ रिस नगर त्यस्को।त्यो भोटिनीको मनमा पाप छैन।तैँले म माथि भरोसा राखेस्।मर्दका आँखा लोभी हुन्छन्,मेरा नि हुन्छन् ।मैले कस्ता कस्ता देखेर आको हुम् उहाँ विदेशाँ।

“तिम्ले भनेर हुन्छ?यो मन हो एउटी स्वास्नीको।कसरी टुलुटुलु हेरेर बस्नु आफ्नो लोग्ने अर्की तिर सल्केको?तिम्लाई खुसि राखेकी छैन र मैले?

ठुली चुलो पुछ्दै बोल्छे आवाज भिजेको कपास जस्तै बनाएर।तपक्क तप्किएको हुँदोहो एक बुँद आँसु।देख्न,सुन्न,जान्न र बुझ्न कर्नेल छैन होसमा।रक्सि र निन्द्राको प्राचिन सम्बन्ध हुन्छ कि त?एउटाको उपस्थितिले अर्कोको अस्तित्व जोगाएझैँ देखिन्छ।

अर्को दिनको प्रतिक्षामा रात सुतिसकेको छ।एकतमासको फ्वाँ – फ्वाँ व्याप्त छ अधेँरोको गर्भमा। उता शान्त आँधी चलिरहेछ साईलीको छातीभित्र।भातसँग एउटा खुर्सानी मिच्छे,एक गास हाल्छे,रोकिन्छे।दोहोराउँछे।

एक्लोपनको मिठास भन्नु मुखमा राखेको सुपारी जस्तै हो।त्यो स्वादको नाम छैन।बस् स्वादिलो छ।भन्नकै खातिर।एक्लोपनको मिठास एउटा रात जस्तै हो।रात कती मिठो छ,त्यो स्वादको नाम छैन बस् स्वादिलो छ।यत्तिकै किन भनियो होला रात पछी बिहान आउँछ,किन भनिएन रात फर्किने छ उही स्वरुपमा,उही अवतार,उही गहिराई र उही बेस्वादिलो स्वादमा।

आफुलाई सक्दो छोपेर गुजुल्टिएको बिरालो झस्किन्छ,साईलीको स्पर्शले।उसको मनले भनिरहेको छ,मलाई पनि  गर स्पर्श।लामो हाई काढेर बिरालो पुर्वअवस्थामा पुग्छ एउटा म्याउँ समेत नगरी।साईली आकास हेर्छे,के गिज्याईरहेछन् ति ताराहरुले उसलाई?केहिबेर अतितको सागरमा चुर्लुम्म डुबेर ऊ थरथर काम्दै निस्किन्छे।एक झप्को कर्नेलको अनुहार सम्झिन्छे।उसका तमाम छेडखान सम्झिन्छे र सासमा बोल्छे – मुर्दार।झ्याप्प बत्ति निभाउँछे।यद्यपि मधुर मधुर गुलाबी चाहना र कर्नेलका शब्दहरुको प्रभाव भने बलिरहन्छ उसका गालामा।

‘जमाना काँ पुईसको।पैले जस्तो कहाँ छ अब संसार?टुप्पो हेर्दा टोपी खस्ने दर्बारमा काम गरेको मैले त।’ कर्नेल आफ्नो विगतको हैसियत बताउँदै छ।

गाउँबाट विदेश पस्ने पहिलो व्यक्ति थियो कर्नेल।दलाललाई पुरै बत्तीस हजार तिरेर ऊ दक्षिण भारत पुगेको थियो।गेट पालेको नोकरी गर्थ्यो।जुत्ता देखि टोपी सम्म यसैपनि अनिवार्य पोशाक भईनै हाले त्यसमाथि वाकीटकी समेत भिर्न पाएपछि उसलाई आफु सेनापति भैसकिएको महशुस हुनु नौलो थिएन।कर्नेल नाम उसलाई त्यसपछि न मिलेको हो।स्वघोषित रुपमा।कर्नेल भन्छ, ‘म सिरिलंकाको दर्बारमा खटिएको थेँ।कतिपय त हिन्दि भाषा बुझ्थे।म सँ गफ गाफ गर्थे।’चुस्की लिईरहेका गाउँलेहरु उसका कुरालाई लोककथाझैँ सुन्छन र जिल्ल पर्दै जिब्रो निकाल्छन।

“भारत र सिरिलंका नजिक हुन् रे है”? अर्कोले प्रस्न राख्दै निधार तन्काउँछ।

हो त।सहि थप्ने लगभग सबै हुन्छन।

भट्टीमा साँझ पसिसकेको छ।हरेक साँझका बेग्लै कथा हुन्छन,बेग्लै परिस्थिति हुन्छन र बेग्लै परिणाम पनि।एउटा भ्याई नभ्याईले न्याकेर राख्छ साईलीलाई।साईलीको हातको रक्सि,मासु,सितन र उसको बिस्तारै उम्किन्दै गरेको यौवनले घोक्राएर भित्र तानिनेहरुको अलग झुण्ड छ।वास्तवमा रुपमा के छ र,फगत सपाट छाला बाहेक।बाहिरी आवरणले तानिनेहरु आत्मा सम्मको यात्रामा निस्किने हो भने के त्यो उन्मादले भरिएको आँखालाई न्याय गर्न सक्लान्?सक्दैनन् भने रुपलाई किन आधार मान्छ तृप्तिको तृष्णाले?

“यो जात नै मिठो जात हो हजुर”।तालुको टोपी झिकेर कपाल कन्याउँदै कानेखुसी गर्दै छ सुवेदी।

उसको यो मिठो जातको तात्पर्य साईली तर्फ इन्कित छ।

“यो छाला जापानीसँग मिल्दो जुल्दो छ भन्छन।नौनी बराबर भनेर त मेरै काकाले भनेका हुन्।”ऊ थप्दै छ किस्सा माथी किस्सा।

“भनेसी तेरो काकाऊले जापानी सँ नारीने मौका पायो?जी हजुरी बटुलीरहेको मुखिनीको छोरो अविस्वास र उत्सुकताको मिस्रित नजरले हेर्छ।

“कहाँ हुनु काकाले त भोटिनीको कुरा गरेक हुन्।जापानी सँ नारीन पाए मै गोरु बन्दो हुँ जिन्दगीभर हेहेहे।”सुवेदी खितखिताउँछ।

धत्! हुँदो नहुँदो,मनलाग्दी ओकलेर बस्छ।व्यापक असन्तुस्टीको अर्को गिलास भरिन्छ दुबैका अगाडी मुखिनिको छोराको आवाज द्वारा।

पल्लो कुनाबाट कर्नेलको आवाज आईरहेकै छ।

“सुन्छु कर्नेलको लसपस छ रे।नामैले खाने भो जाँठाले।”सुवेदी कान कोतर्दै छ।

साईली खै भट्मास त आएन नि।कर्नेल बसेको टेबलबाट आवाज आउँछ।

“एकछिन रुक्न नसक्नि किन हो?दस ओटा हात छैन मेरो।”भट्मासको प्लेट राख्दै साईली पट्कीन्छे।

‘दश ओटा हात त कालीको हुन्छ साईली! तँ गोरी छेस्,तेरा दुई हत्केला काफी छ।परिका पनि दुईटै मात्र हुँदा हुन् हातहरु।’

कर्नेलले गिलास सिनित्त पार्दै बोल्यो।

“म के जानु?न काली मेरी छिमेकी न परि मेरी मितिनी।तिम्ले देख्या हौला कसका के छन् भनेर।”उत्तिखेरै जवाफ फर्काएर जान्छे साईली।

                                                        **********

“तिमि किन घर जाँदैनौ?मलाई अबगाल पार्न?यसैपनि  तिम्री स्वास्नी मलाई देखिसहन्न।जाउ कर्नेल तिमी, रात छिप्पियो।”

एघार बजेको हुँदो हो,एक्लै धुमधुम्ती बसेको कर्नेललाई घर फर्किन आग्रह गर्दै छे साईली।कसैको सामिप्यताको साक्षात्कार भईसकेपछि त्यो न्यानोपन,त्यो नछोईएरै हुने स्पर्श र मनले बेर्ने आफ्नोपनको धागो हत्तपत्त चुँडीदैन क्यारे।कर्नेलले सारा संसार कसरी भुल्न सक्छ साईलीको उपस्थितिमा?

त्यसो त साईलीलाई के आत्मा देखिनै कर्नेल गए हुन्थ्यो जस्तो लागेको होला र?ऊ निस्किएपछि झ्याल,ढोका,कुना कप्चेराबाट छिर्ने सादा र रंगहिन एक्लोपनाले ऊ आक्रान्त भईसकेकी छे भने किन चाहन्थी कर्नेल निस्किएर जाओस्।कोठाभरि पोखिने अँधेरोमा भविष्यको नक्सा खोज्नु जत्ति दिक्दार काम उसले कहिले गरि र क्षणभरको दिक्दारिलाई पन्छाईदिएर बसेको कर्नेल लाई गई हाल भन्न सकोस्।

“एकैछिन मेरो नजिक बस्।आईज साईली।मलाई तेरो सामुन्ने बसेर पुगेकै छैन।मलाई दिनरात तेरो भोकले सताउँछ।आज यो मनको भारी तेरो छेउमा बिसाउन मन छ।” कर्नेल भन्छ।

“म के गरौँ त? तिम्रो भोक के मा छ म जान्दिन तर तिमी  नबिर्स घरकी स्वास्नीलाई।चार ओटी छोरीलाई र यो समाजलाई।म प्रति तिम्रो दयाभाव छ भनेपनि मलाई चाहिन्न त्यो।म कसैको दयामा किन बाँच्नु?” साईली बोल्छे।

“किन आफैँलाई ढाँट्छेस् तँ?तेरा आँखा म पढ्न सक्दिन र?तेरो मनमा मेरो लागि एक थोपा माया छैन भने कसम खा मेरो।” कर्नेल बसेको ठाउँबाट सरक्क उठेर बोल्छ।

“के गर्छौ हँ माया छ भनेँ भने?कहाँ छ यसको गन्तव्य?यसको सुरुवात नै थाहा छैन भने अन्त्यको कसरी सोच्न सकूँली?यसैपनि कसैको बनेको घरमा आगो लगाउनु छैन मलाई।”साइली भावुक हुँदै बोल्छे।

‘रोकेर रोकिन्छ र मायाको भेल?खहरे बनेर उर्लिदै छ मेरो छाती भित्र तेरो माया।तँ के चाहन्छेस म यसैगरी आँखा मात्र  जुधाएर बसुँ?तेरो शरीर हेरेर थुक निल्नेहरुलाई टुलु टुलु हेरेर बसुँ हारेको सीपाही झैँ?मेरो नजरले तेरा कुन अङ्ग चिमोटेको छ आज सम्म?’ कर्नेल पनि भावनामा बग्दै बोल्छ।

मेरो मुटु चिमोटेको छ।भन्न चाहन्छे साईली।सक्दिन।

प्रेमको अभिव्यक्ति जत्तिको सकस अरु केहिमा नहोला।कसरी पिल्सिएर बस्न सक्ने रहेछ यो प्रेम भन्ने जिनिस।कसरी गुटुमुटिएर रहन सक्ने रहेछ यो प्रेम।केमा टुसाउँदो हो प्रेम र केमा फूल्दो हो जो जसरी फूलेपनि मग्मगाउँछ।गमलामा फूलेको फूलमाथि माटोको हक लाग्ला कि गमलाको?साईली यस्तै दुविधामा छे।उसलाई फूल्न ठाउँ दिने यो गाउँ हो,यहाँ लहलह फूलाएकी छे आफ्नो परिचय,अस्तित्व र जोगाएकी छे अनिश्चित एउटा भविष्यको बिज।अर्को तर्फ आफू निर्धक्क फूल्न सकेको गमलाको रुपमा कर्नेल छ।त्यो गमलामा एउटा फूल निकै पहिलै फुलिरहेथ्यो,तापनि साईलीले आफ्नो जरा गाडिएको महशुस गरेकी छे।कर्नेलले त्यो स्थान दिएको छ उसलाई।

श्रीमती र चार छोरीको बाऊ कसरी अर्को बेनाम सम्बन्धमा बेरिन सक्छ?हरेक सम्बन्धमा विस्वासको लिसो टाँसिएको हुन्छ जसले टुक्रिन दिँदैन,जोडिएको सगोल परिचय।ऊ र उसकी श्रीमती भन्नु दुवैको एउटा सगोल परिचय नभए के हो त?फेरि कुन आगो त्यो लिसो पगाल्न उद्दत छ?के प्रेम आगो हो?प्रेममा जायज वा नाजायज भन्ने सीमितता रहन्छ र?प्रेमको यो कस्तो स्वभाव हो जो एकातिर आँसु बनेर बग्न खोज्दै छ भने अर्को तर्फ खुसीको ढिक्का भनेर जम्न खोज्दै छ।

‘मलाई छोरो दिन सकिन ठुलिले।’ लामो मौनता चिर्दै कर्नेल बोल्छ। ‘मलाई था’छ तेस्को कुनै दोष छैन तर जे मैले पाईन त्यो सत्य हो,उसले दिन सकिन।मलाई छोरो जन्माएर दिन सक्छेस भने अहिले भर्खर सिन्दुर हालेर भित्र्याउँछु।’ कर्नेल एक सासमा बोलेर,टुसुक्क भुइँमा बस्छ।

‘ए!अनी मैले पनि छोरो दिन सकिन भने नि?’ साईलीको अनुहारभरि क्रोध,घृणा,बेईजति र त्यस्तै अनगिन्ति भावका नशा फुल्छन।मरुभूमिझैँ बन्न लागिसकेको गलामा आँखाको आर्दको सिंचाई हुन्छ।

साइली बसेको ठाउँबाट जुरुक्क उठ्छे र भन्छे,

‘यही हो तिम्रो श्रीमती प्रतिको संवेदना?यही हो तिम्ले उसलाई दिएको साथ?यहि हो तिम्ले मलाई गर्ने प्रेम?यत्ति हो मेरोजीवनको स्थान तिम्रो जीवनमा?यत्ति हो हाम्रा आँखाले आजसम्म गरेका संवाद?के यत्ति हो मैले तिम्रो कल्पनामा सजाएको एउटा संसारको मूल्य?तिम्ले कम्तिमा मलाई देखाउन हुन्नथ्यो यो निचता।

प्रेम कुनै चाहानाले उम्रिएको छ भने,मुर्झाएर झर्न बेर लाग्दैन।कहाँ छ मालीले महिनौ सम्म सम्हालेको फूलले जिन्दगी भरी उसलाई साथ दिएको?छ कतै?कति निस्ठुर हुन्छ फूल समेत,उस्तै माली पनि।फगत एकले अर्कोलाई समय सीमामा केही दिए,सकिए।कस्तो तुच्छता।तिम्रो प्रेम त्यस्तै छ कर्नेल।केही नपाउन्जेल सम्मको सीमा छ तिम्रो प्रेमको।मलाई यो घना स्वार्थमा बादल सरि उडेको प्रेम चाहिएन कर्नेल।के थाहा यो बादल कहाँ कतिबेला टुक्रिने हो र वर्षा हुने हो मेरा सुकी सकेको आँसुहरुको रुपमा जाऊ निस्किएर र यहाँ फर्किएर कदापी नआऊ।म हिजोपनि एक्लै थिएँ र भोलि पनि एक्लै रहन सक्छु।तिमी पापी हौ।मेरो मनमा सपनाको महल बनाएर आज त्यसलाई एकैखेपमा गर्लम्म ढालीदियौ।

म पनि कति नासमझ।मैले सोच्नुपर्थ्यो तिमी मेरा लागी हैनौ भनेर।यो सत्य स्वीकारेकी भए तिम्रो यो मनस्थिति बुझ्न सक्दि हुँ।तर प्रेम कहाँ त्यस्तो हिसाब किताबमा हुन्छ र?बाघचाल त तिमीले खेल्दै रहेछौ कर्नेल।म जान्दिन यस्तो प्रेम गर्न।गईहाल यहाँबाट।मलाई हेर्नु छैन तिम्रो यो स्वार्थी अनुहार।

कर्नेलले सर्वाङ्ग ज्यानमा हजारौँ अरिङ्गालले एकसाथ चिलेको अनुभव गर्छ।स्वाट्ट बिजुली गएझैँ रक्सीले छोड्छ।उसलाई हठात् पिसाब लाग्छ,दिसा लाग्छ।मनभरी बोल्ने शब्दहरु आपसमा लडि रहेछन कि त?मुख खोलेपनि जिब्रोमा हलचल छैन।मध्यरातमा  हालको  यो अवस्थाको न कर्नेलले पहिला कहिल्यै कल्पना गर्यो न त अहिले विस्वास।उसलाई त लाग्थ्यो आफ्नो चाहाको एउटा अभिव्यत्तिले साईलीलाई ऊ तर्फ अझ संबेदनशील बनाउने छ।तर परिणाम विपरित भईदिन्छ।हिजोसम्म आँखा जुध्दा काँडा उम्रिने तन र मन,आज उही काँडाले निर्मम कोतरेझैँ दर्खराएको छ।

न आवेग,न क्रोध,न हारको रंग,न अर्को पाईलाको भर,न अबको गन्तव्य,न परिणाम स्वीकारोक्तिको शक्ति,न साहसको क्षय,न सोच,न शब्द केहीपनि नबोकी कर्नेल निस्किन्छ।उसलाई घरले पनि मचक्क थिचेको हुँदो हो र त पाईला त्यता मोडीएनन्।मुर्दा हिडेझैँ कर्नेलको प्राण लस्किरहन्छ रातभर।विश्रामको बिन्दु कतै त हुनुपर्छ तर विश्राम के को?पाईला या प्राण?

बाँकि के रह्यो र अब साईलीको भागमा पनि।कतिपय प्रेम व्यक्त नहुनु जाती रहेछ।कुण्ठा कुन प्रेममा नहोला तर त्यसको आयतन कति रहला निश्चित आफुले गर्ने रहेछ।कतिबेला कर्नेल सँग उसको मन साटियो उसैलाई खबर छैन।यो अन्यौलता प्रेमको अर्को सुन्दरता होला।

अन्तिम पटक उसले पुन बिरालोलाई सुमसुमाई।आज ऊ झस्किएन,तर्सिएन न ब्युँझियो।हुनसक्छ उसले आजसम्म साईलीले गरेको स्पर्श बुझेको छ र स्वीकारेको छ।हुन सक्छ उसले त्यो सहजता अपनाएको छ।हुन सक्छ अब उपरान्त यही स्पर्शमा हराउन चाहन्छ।तर उसले देखेको छैन,भर्खर एउटा यस्तै सहजताले भत्काईदिएको सम्बन्धको खाँबो।त्यसपछि भट्टीको ढोका खुल्लै राखेर साईली निस्किन्छे अनिश्चित यात्रामा।ऊ यहाँ फर्किने छैन अब।

भोलिपल्ट सबेरै भालेको डाँकोसँगै गाउँभरि हल्ला फैलिन्छ कि कर्नेलले साईलीलाई भगायो।कर्नेलकि श्रीमती  ठुली मनमनै कामना गर्छे मेरी सौतालाई खुसि नै खुसि मिलोस्।उसलाई के थाहा कर्नेल र साईलीका पाईलाहरु एकसाथ नभई विपरित दिशामा चलेका थिए। 

Exit mobile version