राम नवमी Ram Navami

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक विशेष पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।
 त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
भगवान श्रीरामजीका बारेमा  महत्वपुर्ण र रोचक जानकारी यस्ता छन् :
१. वनवासको समयमा भगवान श्रीराम मात्र २७ बर्षको हुनुहुन्थ्यो।
२. लवकुश श्रीराम-सीताको जुम्ल्याहा सन्तान थिए ।
३. राम–रावण युद्धको समयमा भगवान इन्द्रले श्रीरामलाई दिव्य रथ पठाएका थिए ।
४. चैत्र शुल्क नवमीको दिन श्रीरामको जन्म भएकाले हरेक वर्ष यसदिनलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।
५. भगवान श्रीरामले रावणको वध पछि रावणका भाई विभीषणलाई राजा बनाएर लंका सुम्पिनुभएको थियो।
६. ढुंगा बन्ने श्राप पाएकी गौतम ऋषिकी पत्नी अहिल्यालाई भगवान श्रीरामले मुक्ति दिलाउनु भएको थियो ।
७.अरण्य नामक राजाले रावणलाई आफ्नो वंशको युवकले मार्ने श्राप दिएका थिए, श्रीराम सोहि वशंका हुनुहुन्थ्यो।फलस्वरूप श्रीरामद्वारा नै रावणको वध भयो।
८. सीतालाई रावणको कैदबाट छुटाउन भगवान श्रीरामले एकादशीको व्रत लिनुभएको थियो। त्यहि बेलाबाट एकादशी व्रत बराबरको पुण्य अरुकुनै व्रतबाट नमिल्ने मान्यता छ ।
९. वनवासबाट अयोध्या फर्केको दिन अयोध्यावासिले दिपोत्सव गरेका थिए सोहि दिनको सम्झनामा हरेक वर्ष तिहार (दिपावली) मनाइन्छ ।