हजुरबुबा

‘हजुरआमा कहाँ हुनुहुन्छ हजुरबुबा?’ नातिनीले प्रस्न गरी।

विल्कुल अनपेक्षित र असाधारण प्रस्न थियो मेरा लागि।उसको स्वभावत: ऊ जिज्ञासु छे।आठ वर्षकि एउटी बच्चीले आफ्नो आसपास हजुरआमा भनेर सम्बोधन गर्न सकिने व्यक्ति नदेख्दा त्यो प्रस्न गर्नु अस्वभाविक थिएन,भलै म उसको उक्त सवालको जवाफका लागि तयार थिईनँ।त्यसोत,यस्ता प्रस्नहरु नौला हैनन्।हरेक पटकका प्रश्नमा वजनको आभास हुन्छ।शान्त तलाऊमा फूल मात्र खसेपनि तलाऊ चलमलाउँछ।मेरो मन त्यस्तै शान्त रहन प्रयत्नरत रहँदा नातिनीका फूल जस्तै प्रश्नले मनको सोही तलाऊमा हलचल ल्याउँछ।

‘मै त हो नि तिम्रो हजुरआमा!’- उसको टाउको मुसार्दै भनेँ।

“नाइँ तपाई त हजुरबुबा हो,हजुरआमा हैन।हजुरआमा त केटीमान्छे पो हुन्छ।तपाईं केटी मान्छे हो र?”ऊ मेरो काखमा लाडिदै बोलि।

उसका कुरामा बालापन थियो।थियो कटुसत्य पनि।आमा शब्दलाई अन्य कुनै शब्दले परिभाषित गर्न सक्दैन।सकिँदो हो त आमाको महिमा यति वृहत नहुँदो हो।

‘ल हेर म हजुरआमा नभएको भए मेरो कानमा मुन्द्री हुन्थ्यो त?’ मैले आफ्ना दुईओटै कानका मुन्द्री देखाउदै भनेँ।

उसलाई पत्यार लागेन वा भनौँ ऊ मान्न तयार थिईन,कि मुन्द्री झुन्ड्याउनुले मात्र हजुरआमा हुनुको प्रमाण दिन सक्दैन।

‘त्यस्तो भए यो दारी कसरी आयो तपाइँको?’ उसले मेरा दारीलाई कपाल बाटे जस्तै गरि बाट्दै सोधी।

‘यत्ति लामो त मेरो कपाल पनि छैन।’ ऊ आफ्ना कपाल छोटो भएको गुनासो गर्न थाली।

 

केटाकेटीहरुको मानसपटलमा कस्ता कुरा खेल्दा हुन्।भर्खरसम्म हजुरआमाका बारेमा जिज्ञासु भएकी ऊ क्षणभरमै आफ्ना छोटो कपाल हेरेर दुखि भई।

‘तिम्रो कपाल छिट्टै लामो हुन्छ।मेरो भन्दा पनि लामो’ – उसलाई विस्वास दिलाएँ।

‘मेरो पनि दारी आउँछ हो त्यसोभए?’ सोधी।

‘तिम्रो दारी आउँदैन।तिम्रो गालामा बरु फूल फुल्छ।’ उसको गाला मुसार्दै भनेँ।

‘कुन फूल फुल्छ हजुरबुबा?’ ऊ मक्ख पर्दै सोध्छे।

‘मुस्कानको फूल।प्रेमको फूल।करुणाको फूल।सप्पै फूल फुल्छ।जब तिमी ठुली हुन्छौ,जब धेरै पढ्छौ ति फूल आफैँ फुल्न थाल्छन।’ बुझ्यौ?

उसले सबै कुरा बुझिन।बुझ्ने बेला पनि भएको छैन।तर बुझे जस्तो भने गरि।ऊ केही सम्झे जस्तो गरि मेरो काखबाट जुरुक्क उठी।

दगुरेर घरको मुलढोका तर्फ गई।छेउको गमलामा ऊ अल्झीई तर लडिन।गमला ढल्यो।त्यो उठाई।फेरि दगुरेर घरभित्र छिरी।

म तम्बाकु तान्न थालेँ।

 

केहीबेरमा ऊ हातमा एउटा फोटो फ्रेम लिएर म सामु आई।उसैगरी मेरो काखमा बस्दै ‘खै त हजुरआमाको गालामा त फूल नै फुलेको छैन’।ऊ हजुरआमाको तस्बिर सुमसुमाउँदै बोली।

मैले स्पष्ट देखिरहेथेँ उनको गालामा फुलेका हजारौँ फूलहरु।यो बच्चीलाई मैले कसरी बुझाउनु कि सबै कुरा हाम्रा बाहिरी आँखाले देख्न सक्दैनन्।देखेपनि बुझ्न र महसुश गर्न सक्दैनन्।बाहिरी आँखाले नदेखेका कुरा मनको आँखाले हेर्नुपर्छ।मनबाट महसुश गर्नुपर्छ।देख्नु भनेको अनुभूतिको अर्को पाटो हो।के आँखा नहुनेहरुले देख्नुको अर्थ लगाउन नसक्लान र?

‘तिमी सानै छौ नि त त्यसैले तिमीले नदेखेको हो।’यो बाहेक उसलाई भन्नसक्ने म सँग शब्द केहिपनि थिएनन्।

उसलाई आफु सानै भएको विस्वास भयो।थप प्रस्न गरिन।उसैगरी दगुरेर भित्र छिरी।मैले तम्बाकुका धुँवामा आफुलाई उडाईरहेँ।

जीवनसाथी भनेका जीवन रहेसम्म साथ निभाउनेहरुलाई भनिएको होला।

साथ निभाउनका लागि आफ्नो समीप रहनु जरुरी हुँदो हो।नत्र कसरी त्यो सानिध्यता रहँदो होला र।कसरी अन्तर्मनले गर्लम्म बेरेर राख्दो होला र।तर मैले यो कुरालाई भिन्न रुपले सोचेँ।त्यो यसकारण पनि थियो कि म सँग विकल्प बचेको थिएन।विकल्प त मनले चुन्ने हो क्यारे।जब चुन्नका लागि दोस्रो केही बाँकी रहन्न त्यसबखत आगाडी जे छ त्यहि सर्वेसर्वा हुँदो हो।

फेरि मन त कहिले चङ्गा बनिदिन्छ।कहिले ढुँगा बनिदिन्छ।कहिले फूल त कहिले पानी बनिदिन्छ।मन जब पानी बन्छ,बगेर गईदिन्छ भावनाका नदि बनेर अनेक किस्साहरुका महासागरसम्म।किनारमा अनेक सोचहरुले हात हल्लाई रहेको देख्छ।ति सोचले त्यसरी बगेर नजा भनि रहन्छन् तर बिदाईका हात हल्लाउन पनि छाड्दैनन्।मन त पानी नै पो हो कि?

मन त त्यस्तै हुँदो रहेछ।सागरमा पुगेपनि टिकिरहन सक्दैन त्यहाँको रङ्गीन माहोलमा।र किनारलाई सम्झिन्छ।मन फर्किन खोज्छ आफ्नै थाक थलोमा।बगेको मन कसरि फर्कियोस।आखीर पानी बनेर बगेको जो थियो।त्यसपछि वर्षा हुँदो हो।आकाश छोएर मन पुन: यथास्थानमा देखापर्छ।थोपा बनेर।यही चक्रलाई मैले आफ्नो शक्ति हो,आफ्नो चेत हो भनी मानेको हुँ।मनलाई मैले कहिल्यै बाँधिन।किनकि मलाई थाहा छ यो मन जहाँ पुगेपनि फर्किएर आफ्नै गुँडमा आईपुग्छ।त्यसैगरी मैले मेरी जीवनसाथीलाई पनि मसम्म आउँन र मबाट जान कहिल्यै निषेध गरिन।दिनमा घाम बनेर आउँछिन रातमा तारा बनेर आउँछिन।मलाई लाग्दैन उनि मबाट टाढा गईन।म त उनीलाई हमेसा आफ्नै समिप देख्छु।मेरी जीवनसाथीले अदृश्यतामा मेरो साथ निभाएकी छिन।ममा निहित छिन उनि।

 

नातिनीका सवालले मलाई हतास गराउँछ।भर्खरसम्म म उनिसँग गफिदै हुन्छु,फेरि पलभरमै मौनता छाउँछ।उनि आँखाका चेपबाट बग्न खोज्छिन।मेरो बसमा रहदैन आँशुको गति।सायद बग्नु आँशुको नियति होला।बाध्यता होला।

सधैँ देखिरहेको उनको तस्बिर आज झनैनजिकबाट नियालेँ।उही तेज छ मुहारमा।उही मुस्कान।उही निधार।उही नाक।उही आँखा।कसैका आँखा कसरी यती गहिरा हुनसक्छन?ति आँखामा हेरिरहँदा यस्तो लाग्छ अब परेली हल्लिने छन् तर हल्लिदैन।म एकटकले उनका नानीमा हेर्छु ताकी त्यो सरक्क सरेर बाँया चेपमा जाओस् ,जसरी उनि रिसाएको नक्कल गर्दा जाने गर्थ्यो।सर्दैन त्यो नानी पनि।जति हेरेपनि सर्दै सर्दैन।म हेरिरहन्छु उनको तस्बिर त्यस्ता अनेक इच्छा बोकेर।तर आँखा थाक्छन्।आँखा थाक्नु भन्दा पहिला एउटा सत्य देखापर्छ।त्यो सत्य विगतमा पनि यिनै आँखाले देखेको सत्य न हो।उनको भौतिकता नरहेको सत्यले आँखा घोचिदिन्छ।

‘हजुरबुबा आउनुस्।’

नातिनी स्कुल जान ठिक्क परेकी छे।उसलाई स्कुल सम्म पुराउने जिम्मा मेरो हो।सायद जिम्मा शब्द हलुङ्गो शब्द हो।त्यो शब्द परिवर्तन गर्ने हो भने दुईटा अरु शब्दले ठाउँ पाउँदा हुन्।कर्तव्य र सौभाग्य।म यसरी सोच्छु मेरी नातिनीका लागि।ऊ एक्लै जान सक्छे स्कुल बसमा।तर उसलाई म नै चाहिन्छ।अनि म?उसलाई एक्लै पठाउन म कसरि तयार हुन सक्थेँ र? 

‘मैले गाडी चलाउन सक्ने भएपछि म बसेको सिट तपाईंको हुन्छ है?’ऊ उत्साहित नजरले हेर्छे मलाई।मलाई भन्न मन लाग्छ, ‘तिमीले गाडी चलाउन सकेको दिन मेरो आत्मा मात्र रहँदो हो।’मलाई यो पनि भन्न मन लाग्छ ‘तिमीले गाडी हाँक्न सकेको दिन यो सिट मेरालागि खाली नरहला।’तर भन्न सक्दिन।त्यो बाल मगजमा म किन यस्ता गुनासाका भारी घुसाउनु?

‘तिमीले जहाँ राख्छौ म त्यहिँ बस्छु नि’ – उसलाई हेर्दै भन्छु।

‘हजुरआमा कहाँ बस्नुहुन्थ्यो?’- उसले पून: उही कुरा दोहोराई।हुनसक्छ कतै उसलाई हजुरआमाको भौतिक अस्तित्व नरहेको धमिलो ज्ञान भएको छ।

‘हजुरआमा मेरो चेतना भरि बस्नुहुन्थ्यो र आज पनि सोही ठाउँमा हुनुहुन्छ।’भन्न मन हुन्छ।सक्दिन भन्न।

‘तिमी जहाँ बसेकी छौ त्यहिँ बस्नुहुन्थ्यो’ भन्छु।मेरी नातिनी मेरी साथि हो।कम्तिमा उसको जवानी नआउन्जेल सम्मका लागि।त्यसपछिका दिनहरु मेरो भाग्यमा निर्भर रहला।

 

एउटा समय थियो छोरो साथि थियो।नातिनी जत्तिकै प्यारो।उत्तिकै जिज्ञासु।उत्तिकै आत्मिय।तर उसको जीवनमा खुशी भित्रिएको दिनबाट त्यो आत्मियता धमिलियो।धमिलिनु जरुरि थियो सायद।एउटा नधमिलिए अर्को नसङ्लिदो रहेछ क्यारे।यहि रित बसेको होला संसारमा।बसेको रित मानिदिनु अर्को रित पनि त हो।नभए त पुस्ता कसरी हस्तान्तरण हुँदै जाला र?

उमेर पनि गज्जबको रहेछ।शरीर उही,मन उही तर शक्ति भने जिर्ण।म शरीर जिर्ण भन्ने प्राचिन शब्द प्रयोग गर्न सक्थेँ तर म त्यो मान्न तयार छैन।मेरो लागि मेरो उमेर बाहेक ममा एक कण पनि परिवर्तन भएको भान कहिल्यै भएन।बढ्दो उमेरले शिथिलता ल्याउनु भनेको तपशिलका कुरा भए।शक्ति ह्रास हुनु स्वभाविक हो।तर व्यक्ति उही रहदैन र?एउटा वृद्ध वा वृद्धाले कस्ता सपना देख्लान भनेर कसैले मलाई सोध्यो भने म भन्न सक्छु कि बुढो मान्छेले बुढो सपना देखोस् त्यो जरुरि छैन।

त्यसमाथि आफ्नो आधा भाग पहिलै गुमाईसकेका मजस्ता हरुलाई थप मिठा सपना आउँदा हुन्।बुढो हुनु पाप हैन भनेर मैले केहिदिन अगाडी मात्रै बुहारीलाई भन्नु पर्यो।किनभने उसलाई यो थाहा हुन जरुरि छ कि बुढी हुने सौभाग्य मिलेमा उसले बुढी नै भएरै जीउनु पर्ने छ।अरु विकल्प सायदै बाँकि रहलान्।त्यसमाथि चाउरिएको छालालाई कस्मेटिक्सले कति पो लुकाउन सक्ला?

उसलाई खै के कुरामा गुनासो छ मसँग जान्दिन।बताउनेले बताइदिए कमजोरी थाहा लाग्दो हो।यसैपनि मानिस क्रोध र कुण्ठा पालेर बस्न रुचाउने प्राणि हो।तर ति पनि मनका भावना न हुन्।हामीले देख्ने सबै कुरा सहि र गलतकै तराजुमा राखेर तौल्न खोज्नु न स्वभाविक हो न व्यवहारिक।मान्छेको मनोविज्ञानको कुरा गर्दा जबसम्म कसैप्रति द्वैष भाव र क्रोध भाव लिएर बस्न सकिन्छ तब सम्म आफूभित्र अलग शक्तिको महशुस हुन्छ।जब त्यस्ता भावनाहरुको अन्त्य हुन्छ,त्यसले शक्ति क्षयको भ्रम पैदा गराउँछ।सायद यही तथ्य मान्न हामीलाई कठिन हुने गर्छ र आफुभित्रै गाडेर राख्न चाहन्छौँ त्यस्ता अनेक कु-भावनालाई।

गहिरिएर हेर्ने हो भने कसैप्रति प्रेम पलाएमा त्यो भावना व्यक्त नगरे सम्म बेग्लै छटपटी,वेचैनी र मनको अस्थिरता हामीसँगै रहन्छ।भित्र भित्रै हामी निसासिन्छौँ।जब त्यो भावना व्यक्त हुन्छ स्वत मन शान्त भईदिन्छ।हलुका भईदिन्छ।यो नियम प्रेमभावका लागी मात्रै कदापी हैन।मनमा उठ्ने जुनसुकै सकारात्मक र नकारात्मक भावनाका लागि समान रहन्छ।मात्र हामि यो प्रयोग गर्न चाहदैनौँ।चित्त दुखाई र गुनासाहरु सही समयमा,सही व्यक्तिसँग पोख्न सके मनमा नयाँ भावनाहरु पलाउने ठाउँ बन्दछ।सम्बन्धले गहिराई भेट्छ।

म हरेक बिहान उठेपछि सबैभन्दा पहिला नुहाउछु।कालो चिया बनाउँछु।त्यो पिएर वाकमा निस्किन्छु।म हिड्नु भनेको दुरी तय गर्नुमात्रै भन्ने सोच्दिन।बिहानको पहिलो प्रहरले जे देखाउँछ,जे सुनाउछ त्यो दिनभरी कतै देख्न सकिदैन,सुन्न सकिदैन।म आफुलाई देख्छु,आफुलाई सुन्छु।पछाडीका पदचापले पाईला पछ्याउछन्।आफ्नो पाईला पछ्याउन सक्नु भनेको बिहानीले सिकाउने पहिलो सीप हो।ज्ञान हो।

ठुलो घर छ।घरमा भौतिक रुपले चार जना छौँ तर वास्तवमा पाँचै सदस्य छौँ।मनमा बसेको मान्छेपनि गन्तीमा आउँछ।कम्तिमा मेरा लागि उनि यतै कतै नै छिन।हामी बाउछोराको मुस्किलले भेट हुन्छ।उसका आफ्ना व्यस्तता होलान।मलाई अलग भान्सा दिइएको छ।अलग सुत्ने कोठा पनि।एउटा बैठक कोठा भन्न मिल्ने कोठा छ जहाँ म धेरै समय बिताउँछु।ठुलो बुक शेल्फ राखेको छु।मैले लेख्न पढ्न जाने देखिका लगभग सबै किताब हुँदा हुन्।भित्ता भरी मनपर्ने गायक,लेखक,कलाकारका थरि थरि पोस्टर टाँसेको छु।मनपर्ने व्यक्तिका मनपर्ने भनाईहरु,जो मार्ग दर्शकका रुपमा रहेका छन्- लाई फ्रेमिंग गरेर राखेको छु।आरामदायी कुर्सि-टेबल छ जहाँ बसेर म कविता लेख्छु।टेबलको दायाँ छेउमा क्यासेट प्लेयर छ,जसमा उनि तारादेवीलाई सुनेर घन्टौँ बिताउँथिन।

 

…… तिमी आँखाले बोलिरहु,म पढीरहन्छु

नपरोस् आवस्यक शब्द कहिले पनि 

तिम्रा पाऊ हरुमा म सधैँ झुकिरहन्छु!

 

एकैसाथ जवानी सकेर एकैसाथ उमेरको उत्तार्धमा पुग्ने वाचा उनले तोडेर गईन।म जान सकिन।वा जसले उनलाई लिएर गयो ऊ मलाई लिन आजसम्म आएन।सत्य यो पनि हो कि,एउटा नमिठो र निरस जिन्दगी पार गरेपछि पुन बाँच्ने ईच्छा जाग्दै आउँने रहेछ।यो ईच्छा टिकाउ हो या क्षणीक हो यो पनि जान्दिन।कहिले कोही आफूबाट टाढा नहोस् भन्नु पर्ने,कहिले टाढा  भईसकेपछि त्यो सत्य मानीदिनु पर्ने,कहिले जे छ आफ्नो हत्केलामा त्यसमा खुसि हुनुपर्ने,कहिले आफ्नै जीवन देखेर विरक्तिनु पर्ने र कहिले उमेरको धागो तन्किएर नचुँडीयोस् भन्नु पर्ने।यो कस्तो मायावी जाल?प्रेमको यो कस्तो दोहोरो चरित्र?स्वार्थको यो कस्तो तागत?जीवनबोधको यो कस्तो लिला?

‘तपाइँको मामुले पनि तपाइँलाई गालि गर्नुहुन्थ्यो?’नातिनी मलाई सोध्छे।

लाग्यो आज फेरि बुहारीले उसलाई झपारी।

‘मैले मेरी मामुलाई भेटेँ तर देखिन,छोएँ तर स्पर्श थाहा पाईन,बोलेँ तर कुरा गरिन।मैले आँखा खोलिसक्दा मेरी मामुले आँखा बन्द गरिसक्नु भएछ।’

ओझिला मेरा शब्द उसले कती बुझी होला?तर उसले यत्ति बुझी मैले मेरी मामुलाई कहिलै देख्न पाइन।

ऊ टेबलमा भएका मध्ये एउटा किताबका पानाहरु पल्टाउँदै छे।ऊ केही खोज्दै छे ति पानाहरुमा।कती सजिलै पल्टिन्छन् किताबका हरेक पानाहरु र कती सजिलै सकिन्छन हरेक अध्यायहरु पनि।जीवन किताब जस्तो कहाँ छ?जीवनका हरेक शब्दले विशाल कथा बोकेर बस्छ।

नातिनी बोल्छे – ‘हजुरबुबा तपाइँको लाइब्रेरी त मेरो स्कुलको लाइब्रेरी जत्रै छ!कत्ति ठुलो अनि कत्ति धेरै बुक्स’

यो ठुलो लाईब्रेरिमा भएका अनगिन्ती किताबका अनगिन्ती कथाहरु कसका होलान?उनि सोध्ने गर्थिन।म भन्थेँ, यी सबै हाम्रै कथा हुन्।हामी कहिले एउटा चरित्रमा हुन्छौँ त कहिले अर्को।चरित्र फेरिन्छ र हाम्रो कथा फेरिन्छ।हरेक पात्र हामी हौँ।तिनका दु;ख हाम्रा हुन्।तिनका खुसि पनि हाम्रा।तिनका सम्बन्ध हाम्रा हुन् र तिनका मनोविज्ञान पनी हाम्रा।म बोलिरहँदा उनि मिठो नजरले हेर्थिन जहाँ अर्को पात्र देखिन्थ्यो,अर्को चरित्र देखिन्थ्यो र उन्मादको अर्को कथा जन्मिन्थ्यो।कहानीको भयानकताले हामी आपसमा थिचिन रहर गर्थ्यौँ।अब फगत स्मृति र कल्पनामा सीमित छन् ति प्रेमिल घटनाहरु।

 

‘मलाई मामु मन नै पर्दैन।मलाई तपाइँ मात्रै मन पर्छ।’ पटक पटक नातिनीले मलाई भनेकी छे।

म के गर्न सक्छु?के उसलाई उसकी आमाबाट अलग्याउँ?के उसलाई आफुबाट अलग्याउँ?के उसलाई उसको मनस्थितीमा जेलीईरहन दिउँ?यो कस्तो फसाद?मैले नभएर आमाको ममता पाईन,मैले चित्त बुझाउने झिनो ठाउँ छ।तर उसले?भएकी आमाबाट त्यो स्नेह,त्यो ममता,त्यो प्रेम,त्यो हार्दिकता,त्यो सान्निध्यता र त्यो साथ पाएको महशुस गर्न सकिरहेकी छैन।सायद यो पनि अस्तित्वको अर्को पाटो होला।यसलाई नातिनीको बालसुलभ मनले नजिकबाट नियाल्न र स्विकार्न आवस्यक छ।कुनैदिन।

अब वास्तवमै आफ्नो निजी अस्तित्वको अन्तिम घडी हरुमा स्वास प्रस्वास चलिरहेछ।अब पर्खाइ छ त्यो फरिस्ताको जसले मेरो पुरानो जिन्दगीको उद्दार गरोस्।मुक्तिको यो याचना अब क्षणिक नभई दुर सम्मको हो,कम्तिमा उक्त फरिस्ताको आगमन सम्म।

 

‘बुबा कस्तो छ अहिले?’ मेरो काखीमा थर्मोमिटर घुसार्दै नर्स बोल्छे।मेरो जवाफ के हुनुपर्छ?म ठिक छ भनुँ?अथवा ठिक छु भन्ने स्थितिमा छु म?हैन,ठिक त म कहाँ छु?त्यसोत मलाई ठिक हुनु कहाँ छ?मेरो वृद्धअवस्ताले अब एउटा कलकलाउँदो जवानी पाईसकेको छ।अब छोड्नु पर्छ जिउने रहर।आठ दशकको जिन्दगी देखेपछि पनि आफुलाई घिसार्दै बाँच्नुको अर्थ के?नर्स गई।आई।उसको उही प्रस्न।मेरो उही मौनता।बस् समयले दुरी घटाउने मेलो गरीरहेछ।

 

हजुरबुबा- मलाई देख्नुभयो? स्मार्ट फोनको भित्तामा चलमलाई रहेकी नातिनी देखापरी।उसका लागि म अब औपचारिकताको पात्र भईसकेको छु।को हो भन्दा,नाताले हजुरबुबा।पढ्न कुनै तेस्रो मुलुक गएकी ऊ उतै सेटल भई।बिहा-दान समेत भई सक्यो।केही वर्ष पहिले उसका पापा-मामु उतै गएर कन्यादान सकेर आएका हुन्।मलाई निम्ता नआउनु कुनै नौलो कहाँ थियो? 

नातिनीका आफ्ना व्यस्तता आए।सिङ्गो जिन्दगीको पहाड उसले चढेर ओर्लनु छ।जिउनुको खाँटी महत्व अब पल पल बुझ्नु छ,महशुस गर्नु छ।भोगाईका किस्साहरु सँगाल्नु छ।सँगाल्नु छ सपना र प्राप्तिका अनुभूतिहरु।कथा बन्नु छ आफ्नै जन्मको र जानु छ छाडेर भविष्यका आगन्तुक हरुलाई, जो कुनै न कुनै सम्बन्धको धागोमा अल्झिएका हुने छन्।

नातिनी प्रति गुनासो रहेन।अब गुनासो न छोरासँग रह्यो न त बुहारीसँग।म जीवनको पारी आईपुगेर कहिल्यै प्राप्त नभएको ज्ञानको ईतिहास पढिरहेछु।देख्न नसकेको सत्यमा दृष्टिगोचर भईरहेछ।आखिर जीवनको कुनै ठोस नियम कहाँ रहेछ र?जसले जसरी चाह्यो उसैगरी सिध्याउन सक्ने रहेछ यो नश्वर जिन्दगी।

बाँच्ने रहर सकिनु भनेको कतै मानसिकताको भयावहता त हैन?तर,के फरक पर्छ?औषधिका धुलोहरुले कतिदिन छोप्न सक्छ र मृत्युलाई?म टकटकिएको छु जीवन देखि।मैले बोकेको छु अनुभव र अनुभूति जो सुनाउने छु उनीलाई,कतै देख्न भेट्न सकेको खण्डमा।अब खुसीले स्वासको अन्तिम झोक्का फुस्स निकाल्न सके बाँच्नु र मर्नुको मिठास एकैसाथ प्राप्त हुँदो हो।

कर्नेल र साईली

 

‘सम्पतिको भोक सबैभन्दा तेज भोक रहेछ क्यारे।पैसै त हो नि सम्पूर्ण विलासिताको आधार।प्राप्तिको सुक्ष्म डोरी दौलतसँग नजोडिएको भए सम्बन्धमा जालो नबेरिँदो हो।’ आवाज आईरहेछ पश्चिम कुनाको टेबल बाट।

‘सन्दुकमा भोटे ताल्चा लगाएर पटुकामा साँचो गुटमुटाएकी मुखिनीलाई सम्पतिको लोभ छैन भनेर कसरी मान्नु?मुखिनिको के कुरा,आजको मानव सभ्यता मकैमा घुन अल्झिएझैँ धनमा अल्झिएको छैन र?’ अर्को कोहि लर्बरिएको जिब्रो चलाईरहेको छ।

‘ऊ! अस्ति द्वादसिका दिन नै त हो,सराद्दे खान आ’का ज्वाँई लाई समेत लखेटीछन्।हैन मान राख्नु पर्छ भनेर बिर्सन मिलो?’ यो ज्ञान दिने अस्टे साहु थियो।

 

‘पन्चायत ढाले,राजा ढाले मुखिनी अझै आफुलाई उही मान्छिन।फेरिनु भनेको काल युगको माग हो।ति नमरी फेरिन्नन्।जस्ले जे भनोस् माबादीले यत्ति त गरेकै हो ल।’ दयाराम मास्टरले यत्ति बोलि सक्दा नसक्दै, चन्द्रेले भन्यो  ‘के गर्यो जङ्गली शासनले?बोकाले दाईं कहाँ भयो?हुँदो कुरो बोल्न राजाले कहिले रोकेथे र।’

साईलीको भट्टीमा यस्तै कचहरी चल्दै छ।

“तिमेरलाई अर्काको उछित्तो नकाटी खाको पच्दैन भने अन्न किन खान्छौ हँ?घाँस खाए भो।भट्टीमा आफ्ना दुख सुख साट्ने हो।कचहरी बस्न चिया दोकान छँदै छन् गए भयो उतै।”साईलीको असन्तुष्टि पोखिन्छ।

त्यसोत गाउँको शोभा यही होला।गाउँ यही कारणले गाउँ रहला।गाउँले सारा देश देख्छ।देश दुखेको देख्छ।भाईचाराको तानमा आफ्नोपन बुन्छ।गाउँलेको दिनभरिको थकानलाई साँझमा रित्तीने गिलासले पकल्क्क मार्छ।के जादु छ ति घुट्का हरुमा?सिपालु छे साईली।भट्मास भुटेर त्यसलाई  तातो तेलमा देखाएर चरचरी काटेर लसुन हाल्दिएपछि नुन त छ्वास्स चिम्टाउनु न हो।

“मात्ने हन है।ठिक्क पीउने,जुरुक्क उठेर जाने।म सुन्न सक्दिन तिमेर्का स्वास्नीका आरोप।” साईलीको तरिका हो यो।यत्ति फलाकेपछी पिउन मन नहुनेले समेत चाख्न मनगर्छ।

‘यो पात्तेकी भोटिनिले सारा गाउँलाई धोक्ने बनाएर सक्ने भई’।साईलीलाई डस्ने शब्दहरु यिनै हुन् ,यस्तै हुन्।

सुन्छे।बिर्सिदिन्छे।सुन्छे।अनि रुन्छे।कराईमा पटपटी पड्किएको सुँगुरको भुटनमा केहि थोपा आँसु नपरी त्यसको स्वाद यो बिघ्न मिठो नभएको हुँदो हो।

उसको कम्मरको गोलाई,छातीको उचाई,ओठको तन्काई,कपालको लम्बाई र मखमलको पातलो म्याक्सिमा पुट्ट उठेको नितम्बले मात दिएर लहै लहैमा पिउनेहरुको वास्तवमा गल्ति के छ र?आँखाले के धोका दिन्छ?दिएपनि त त्यो ज्ञात धोका भएन र?सहि र गलत छुट्याउन हरेकका घरमा आ-आफ्ना जहान छन्।फेरि  पिउने बखत केलाई आफ्नो नियतको परिक्षा लिने लेठो गरिरहनु?

साईली थप् न।हत्केलाले ओठ पुछ्दै कर्नेल बोल्छ।

“किन हौ, यत्तिको धोक्नु परेको?मृगौला कुइसक्यो होला।”गिलास भर्दै साईली भन्छे।

‘डर छैन मलाई,कुहियोस्।मृगौला,आन्द्राभुँडी,कलेजो र फोक्सो पनि सडेर सक्योस्।बस यो मुटु केहि नहोस्,मुटुमा तँ छेस् नि त।’ हेहेहे।कर्नेल हाँस्छ।

साईली मौनताको वाण आँखाबाट छेड्छे।मन नपरेको स्वाङ्ग पार्दा पनि केहि पत्र गुलाफ साईलीका गालामा  फुलीहाल्छन्।राता र रसिला।

“विदेश गईसी एस्तै सिकेर आउने रछ यो मर्दको जात।सरम भन्ने बेचेर खाईसि के लाग्छ।” गिलास मस्काउँदै साईली फतफताउँछे।

बतासमा रात मिसिएर आउँछ।आकाशमा तारा आउँछन्।मातेका आँखाहरुले साईलीको रुपलाई फगत चाँदनीसँग दाँज्ने चेष्टा गर्छन।कसरी चट्ट बिर्सिएर थकान अनि ह्वास्स गनाएको आफ्नै शरीर,निस्किन्छन् पिउने हरु घरतर्फ?यो हिम्मत कहाँबाट आउँदो हो?भर नभएको पाईला र होस नभएको मगजले आफ्नो गुँड कसरी भेट्ला?चराहरुले विशाल जङ्गलबिचको एउटा हाँगोमा बनाएको गुँड पनि त नबिर्सेला।घरले कसरी तान्छ,चुम्बकले तानेझैँ। उसैगरी तानिन्छ मन।चेतनाको चेत कहाँ बुझिसक्नु छ र।

चुलोमा सेलाएको ढिंडो रुँगेर बसेकि श्रीमतीको थकित अनुहारमा साईलीको रुप देख्न आतुर कर्नेलका आँखाले देख्दैनन् नाकमा झुन्डिएको बुलाकी।

खै त बुलाकी?

“किनिदेको छस्?कुकुरको झोलमा डुबे पछि के के देख्छन् तेरा आँखाले?”दैलोमा आग्लो ठोक्दै ठुली बोल्छे।

तँलाई म पर्ले मुया गर्छु,तँ किन बुझ्दिनस् ठुली।

“गर्यो माया।जाँड बोलेको म बुझ्दिन क्या?”

उता विदेश हुँदा रगत पसिना कस्कोलागि बगा’को मैले लु भन त?देख्नु पर्दैन तैँले मेरो दुक्ख?कर्नेल सुँक्क गर्छ।

एउटो पीउसोको रहर पुरा गर्दे न ठुली।म पिउन चटक्क छोडीदिन्छु।तेरो कसम।लु।छोराको आसमा चार छोरी जन्मीसके पछि कर्नेलले अघोषित हार मानेको छ तर त्यो हारको जिम्मा आफ्नी श्रीमती  माथी थुपारेको छ।स्वास्नी जातले आफुले नबिराए पनि भोग्नु पर्ने सजाएँ मध्यको सबैभन्दा पीडादायी सजाएँ हो यो।

“मलाई के रहर नहोला?तिम्लाई मात्र छ छोराको चाहा?किस्मतमै छैन रेछ के गर्नु।” हिक्का छुट्छ दुबैको।भयङ्कर सन्नाटाले छोपिन्छ मझेरी।एउटा छुचुन्द्रो चुईकिदै तखताबाट हामफाल्छ।सँगै खसाल्छ पुराना केही प्लास्टिकका बट्टाहरु।ठुलीले केही न केही हालेर राखेकी हुँदी हो।

“धुरुक्कै रुवाई सके यी छौँडाहरुले।छुचुन्द्रा तर्फ निर्देशित उसको आक्रोसको ज्वाला कर्नेलले ‘मार्न हुन्न तिनलाई’ भनेर निभाउँछ।

कर्नेलको लरबरिएको शरीरलाई भित्तामा आड लगाईदिन्छे।तोरीको सागमा लप्सीको अचार मिचेर ढिंडोको एकगास कर्नेलको मुखमा हालिदिन्छे।छोरो हुँदो हो त ऊ यसैगरी खुवाउँदी हो।

तेरो हात पर्ले मिठो छ ठुली।

“साईलीको जत्ति त नहोला।”

दोब्बर मिठो छ।आम्मा कसम।कर्नेल चम्किन्छ।

ठुली  खितखिताउँछे।

“घरको ढिंडो र साग मिठो कि साईलीको सुँगुर?”मातेको लोग्नेलाई झन् मात दिने प्रस्न गर्छे ठुली ।

तँ रिस नगर त्यस्को।त्यो भोटिनीको मनमा पाप छैन।तैँले म माथि भरोसा राखेस्।मर्दका आँखा लोभी हुन्छन्,मेरा नि हुन्छन् ।मैले कस्ता कस्ता देखेर आको हुम् उहाँ विदेशाँ।

“तिम्ले भनेर हुन्छ?यो मन हो एउटी स्वास्नीको।कसरी टुलुटुलु हेरेर बस्नु आफ्नो लोग्ने अर्की तिर सल्केको?तिम्लाई खुसि राखेकी छैन र मैले?

ठुली चुलो पुछ्दै बोल्छे आवाज भिजेको कपास जस्तै बनाएर।तपक्क तप्किएको हुँदोहो एक बुँद आँसु।देख्न,सुन्न,जान्न र बुझ्न कर्नेल छैन होसमा।रक्सि र निन्द्राको प्राचिन सम्बन्ध हुन्छ कि त?एउटाको उपस्थितिले अर्कोको अस्तित्व जोगाएझैँ देखिन्छ।

अर्को दिनको प्रतिक्षामा रात सुतिसकेको छ।एकतमासको फ्वाँ – फ्वाँ व्याप्त छ अधेँरोको गर्भमा। उता शान्त आँधी चलिरहेछ साईलीको छातीभित्र।भातसँग एउटा खुर्सानी मिच्छे,एक गास हाल्छे,रोकिन्छे।दोहोराउँछे।

एक्लोपनको मिठास भन्नु मुखमा राखेको सुपारी जस्तै हो।त्यो स्वादको नाम छैन।बस् स्वादिलो छ।भन्नकै खातिर।एक्लोपनको मिठास एउटा रात जस्तै हो।रात कती मिठो छ,त्यो स्वादको नाम छैन बस् स्वादिलो छ।यत्तिकै किन भनियो होला रात पछी बिहान आउँछ,किन भनिएन रात फर्किने छ उही स्वरुपमा,उही अवतार,उही गहिराई र उही बेस्वादिलो स्वादमा।

आफुलाई सक्दो छोपेर गुजुल्टिएको बिरालो झस्किन्छ,साईलीको स्पर्शले।उसको मनले भनिरहेको छ,मलाई पनि  गर स्पर्श।लामो हाई काढेर बिरालो पुर्वअवस्थामा पुग्छ एउटा म्याउँ समेत नगरी।साईली आकास हेर्छे,के गिज्याईरहेछन् ति ताराहरुले उसलाई?केहिबेर अतितको सागरमा चुर्लुम्म डुबेर ऊ थरथर काम्दै निस्किन्छे।एक झप्को कर्नेलको अनुहार सम्झिन्छे।उसका तमाम छेडखान सम्झिन्छे र सासमा बोल्छे – मुर्दार।झ्याप्प बत्ति निभाउँछे।यद्यपि मधुर मधुर गुलाबी चाहना र कर्नेलका शब्दहरुको प्रभाव भने बलिरहन्छ उसका गालामा।

‘जमाना काँ पुईसको।पैले जस्तो कहाँ छ अब संसार?टुप्पो हेर्दा टोपी खस्ने दर्बारमा काम गरेको मैले त।’ कर्नेल आफ्नो विगतको हैसियत बताउँदै छ।

गाउँबाट विदेश पस्ने पहिलो व्यक्ति थियो कर्नेल।दलाललाई पुरै बत्तीस हजार तिरेर ऊ दक्षिण भारत पुगेको थियो।गेट पालेको नोकरी गर्थ्यो।जुत्ता देखि टोपी सम्म यसैपनि अनिवार्य पोशाक भईनै हाले त्यसमाथि वाकीटकी समेत भिर्न पाएपछि उसलाई आफु सेनापति भैसकिएको महशुस हुनु नौलो थिएन।कर्नेल नाम उसलाई त्यसपछि न मिलेको हो।स्वघोषित रुपमा।कर्नेल भन्छ, ‘म सिरिलंकाको दर्बारमा खटिएको थेँ।कतिपय त हिन्दि भाषा बुझ्थे।म सँ गफ गाफ गर्थे।’चुस्की लिईरहेका गाउँलेहरु उसका कुरालाई लोककथाझैँ सुन्छन र जिल्ल पर्दै जिब्रो निकाल्छन।

“भारत र सिरिलंका नजिक हुन् रे है”? अर्कोले प्रस्न राख्दै निधार तन्काउँछ।

हो त।सहि थप्ने लगभग सबै हुन्छन।

भट्टीमा साँझ पसिसकेको छ।हरेक साँझका बेग्लै कथा हुन्छन,बेग्लै परिस्थिति हुन्छन र बेग्लै परिणाम पनि।एउटा भ्याई नभ्याईले न्याकेर राख्छ साईलीलाई।साईलीको हातको रक्सि,मासु,सितन र उसको बिस्तारै उम्किन्दै गरेको यौवनले घोक्राएर भित्र तानिनेहरुको अलग झुण्ड छ।वास्तवमा रुपमा के छ र,फगत सपाट छाला बाहेक।बाहिरी आवरणले तानिनेहरु आत्मा सम्मको यात्रामा निस्किने हो भने के त्यो उन्मादले भरिएको आँखालाई न्याय गर्न सक्लान्?सक्दैनन् भने रुपलाई किन आधार मान्छ तृप्तिको तृष्णाले?

“यो जात नै मिठो जात हो हजुर”।तालुको टोपी झिकेर कपाल कन्याउँदै कानेखुसी गर्दै छ सुवेदी।

उसको यो मिठो जातको तात्पर्य साईली तर्फ इन्कित छ।

“यो छाला जापानीसँग मिल्दो जुल्दो छ भन्छन।नौनी बराबर भनेर त मेरै काकाले भनेका हुन्।”ऊ थप्दै छ किस्सा माथी किस्सा।

“भनेसी तेरो काकाऊले जापानी सँ नारीने मौका पायो?जी हजुरी बटुलीरहेको मुखिनीको छोरो अविस्वास र उत्सुकताको मिस्रित नजरले हेर्छ।

“कहाँ हुनु काकाले त भोटिनीको कुरा गरेक हुन्।जापानी सँ नारीन पाए मै गोरु बन्दो हुँ जिन्दगीभर हेहेहे।”सुवेदी खितखिताउँछ।

धत्! हुँदो नहुँदो,मनलाग्दी ओकलेर बस्छ।व्यापक असन्तुस्टीको अर्को गिलास भरिन्छ दुबैका अगाडी मुखिनिको छोराको आवाज द्वारा।

पल्लो कुनाबाट कर्नेलको आवाज आईरहेकै छ।

“सुन्छु कर्नेलको लसपस छ रे।नामैले खाने भो जाँठाले।”सुवेदी कान कोतर्दै छ।

साईली खै भट्मास त आएन नि।कर्नेल बसेको टेबलबाट आवाज आउँछ।

“एकछिन रुक्न नसक्नि किन हो?दस ओटा हात छैन मेरो।”भट्मासको प्लेट राख्दै साईली पट्कीन्छे।

‘दश ओटा हात त कालीको हुन्छ साईली! तँ गोरी छेस्,तेरा दुई हत्केला काफी छ।परिका पनि दुईटै मात्र हुँदा हुन् हातहरु।’

कर्नेलले गिलास सिनित्त पार्दै बोल्यो।

“म के जानु?न काली मेरी छिमेकी न परि मेरी मितिनी।तिम्ले देख्या हौला कसका के छन् भनेर।”उत्तिखेरै जवाफ फर्काएर जान्छे साईली।

                                                        **********

“तिमि किन घर जाँदैनौ?मलाई अबगाल पार्न?यसैपनि  तिम्री स्वास्नी मलाई देखिसहन्न।जाउ कर्नेल तिमी, रात छिप्पियो।”

एघार बजेको हुँदो हो,एक्लै धुमधुम्ती बसेको कर्नेललाई घर फर्किन आग्रह गर्दै छे साईली।कसैको सामिप्यताको साक्षात्कार भईसकेपछि त्यो न्यानोपन,त्यो नछोईएरै हुने स्पर्श र मनले बेर्ने आफ्नोपनको धागो हत्तपत्त चुँडीदैन क्यारे।कर्नेलले सारा संसार कसरी भुल्न सक्छ साईलीको उपस्थितिमा?

त्यसो त साईलीलाई के आत्मा देखिनै कर्नेल गए हुन्थ्यो जस्तो लागेको होला र?ऊ निस्किएपछि झ्याल,ढोका,कुना कप्चेराबाट छिर्ने सादा र रंगहिन एक्लोपनाले ऊ आक्रान्त भईसकेकी छे भने किन चाहन्थी कर्नेल निस्किएर जाओस्।कोठाभरि पोखिने अँधेरोमा भविष्यको नक्सा खोज्नु जत्ति दिक्दार काम उसले कहिले गरि र क्षणभरको दिक्दारिलाई पन्छाईदिएर बसेको कर्नेल लाई गई हाल भन्न सकोस्।

“एकैछिन मेरो नजिक बस्।आईज साईली।मलाई तेरो सामुन्ने बसेर पुगेकै छैन।मलाई दिनरात तेरो भोकले सताउँछ।आज यो मनको भारी तेरो छेउमा बिसाउन मन छ।” कर्नेल भन्छ।

“म के गरौँ त? तिम्रो भोक के मा छ म जान्दिन तर तिमी  नबिर्स घरकी स्वास्नीलाई।चार ओटी छोरीलाई र यो समाजलाई।म प्रति तिम्रो दयाभाव छ भनेपनि मलाई चाहिन्न त्यो।म कसैको दयामा किन बाँच्नु?” साईली बोल्छे।

“किन आफैँलाई ढाँट्छेस् तँ?तेरा आँखा म पढ्न सक्दिन र?तेरो मनमा मेरो लागि एक थोपा माया छैन भने कसम खा मेरो।” कर्नेल बसेको ठाउँबाट सरक्क उठेर बोल्छ।

“के गर्छौ हँ माया छ भनेँ भने?कहाँ छ यसको गन्तव्य?यसको सुरुवात नै थाहा छैन भने अन्त्यको कसरी सोच्न सकूँली?यसैपनि कसैको बनेको घरमा आगो लगाउनु छैन मलाई।”साइली भावुक हुँदै बोल्छे।

‘रोकेर रोकिन्छ र मायाको भेल?खहरे बनेर उर्लिदै छ मेरो छाती भित्र तेरो माया।तँ के चाहन्छेस म यसैगरी आँखा मात्र  जुधाएर बसुँ?तेरो शरीर हेरेर थुक निल्नेहरुलाई टुलु टुलु हेरेर बसुँ हारेको सीपाही झैँ?मेरो नजरले तेरा कुन अङ्ग चिमोटेको छ आज सम्म?’ कर्नेल पनि भावनामा बग्दै बोल्छ।

मेरो मुटु चिमोटेको छ।भन्न चाहन्छे साईली।सक्दिन।

प्रेमको अभिव्यक्ति जत्तिको सकस अरु केहिमा नहोला।कसरी पिल्सिएर बस्न सक्ने रहेछ यो प्रेम भन्ने जिनिस।कसरी गुटुमुटिएर रहन सक्ने रहेछ यो प्रेम।केमा टुसाउँदो हो प्रेम र केमा फूल्दो हो जो जसरी फूलेपनि मग्मगाउँछ।गमलामा फूलेको फूलमाथि माटोको हक लाग्ला कि गमलाको?साईली यस्तै दुविधामा छे।उसलाई फूल्न ठाउँ दिने यो गाउँ हो,यहाँ लहलह फूलाएकी छे आफ्नो परिचय,अस्तित्व र जोगाएकी छे अनिश्चित एउटा भविष्यको बिज।अर्को तर्फ आफू निर्धक्क फूल्न सकेको गमलाको रुपमा कर्नेल छ।त्यो गमलामा एउटा फूल निकै पहिलै फुलिरहेथ्यो,तापनि साईलीले आफ्नो जरा गाडिएको महशुस गरेकी छे।कर्नेलले त्यो स्थान दिएको छ उसलाई।

श्रीमती र चार छोरीको बाऊ कसरी अर्को बेनाम सम्बन्धमा बेरिन सक्छ?हरेक सम्बन्धमा विस्वासको लिसो टाँसिएको हुन्छ जसले टुक्रिन दिँदैन,जोडिएको सगोल परिचय।ऊ र उसकी श्रीमती भन्नु दुवैको एउटा सगोल परिचय नभए के हो त?फेरि कुन आगो त्यो लिसो पगाल्न उद्दत छ?के प्रेम आगो हो?प्रेममा जायज वा नाजायज भन्ने सीमितता रहन्छ र?प्रेमको यो कस्तो स्वभाव हो जो एकातिर आँसु बनेर बग्न खोज्दै छ भने अर्को तर्फ खुसीको ढिक्का भनेर जम्न खोज्दै छ।

‘मलाई छोरो दिन सकिन ठुलिले।’ लामो मौनता चिर्दै कर्नेल बोल्छ। ‘मलाई था’छ तेस्को कुनै दोष छैन तर जे मैले पाईन त्यो सत्य हो,उसले दिन सकिन।मलाई छोरो जन्माएर दिन सक्छेस भने अहिले भर्खर सिन्दुर हालेर भित्र्याउँछु।’ कर्नेल एक सासमा बोलेर,टुसुक्क भुइँमा बस्छ।

‘ए!अनी मैले पनि छोरो दिन सकिन भने नि?’ साईलीको अनुहारभरि क्रोध,घृणा,बेईजति र त्यस्तै अनगिन्ति भावका नशा फुल्छन।मरुभूमिझैँ बन्न लागिसकेको गलामा आँखाको आर्दको सिंचाई हुन्छ।

साइली बसेको ठाउँबाट जुरुक्क उठ्छे र भन्छे,

‘यही हो तिम्रो श्रीमती प्रतिको संवेदना?यही हो तिम्ले उसलाई दिएको साथ?यहि हो तिम्ले मलाई गर्ने प्रेम?यत्ति हो मेरोजीवनको स्थान तिम्रो जीवनमा?यत्ति हो हाम्रा आँखाले आजसम्म गरेका संवाद?के यत्ति हो मैले तिम्रो कल्पनामा सजाएको एउटा संसारको मूल्य?तिम्ले कम्तिमा मलाई देखाउन हुन्नथ्यो यो निचता।

प्रेम कुनै चाहानाले उम्रिएको छ भने,मुर्झाएर झर्न बेर लाग्दैन।कहाँ छ मालीले महिनौ सम्म सम्हालेको फूलले जिन्दगी भरी उसलाई साथ दिएको?छ कतै?कति निस्ठुर हुन्छ फूल समेत,उस्तै माली पनि।फगत एकले अर्कोलाई समय सीमामा केही दिए,सकिए।कस्तो तुच्छता।तिम्रो प्रेम त्यस्तै छ कर्नेल।केही नपाउन्जेल सम्मको सीमा छ तिम्रो प्रेमको।मलाई यो घना स्वार्थमा बादल सरि उडेको प्रेम चाहिएन कर्नेल।के थाहा यो बादल कहाँ कतिबेला टुक्रिने हो र वर्षा हुने हो मेरा सुकी सकेको आँसुहरुको रुपमा जाऊ निस्किएर र यहाँ फर्किएर कदापी नआऊ।म हिजोपनि एक्लै थिएँ र भोलि पनि एक्लै रहन सक्छु।तिमी पापी हौ।मेरो मनमा सपनाको महल बनाएर आज त्यसलाई एकैखेपमा गर्लम्म ढालीदियौ।

म पनि कति नासमझ।मैले सोच्नुपर्थ्यो तिमी मेरा लागी हैनौ भनेर।यो सत्य स्वीकारेकी भए तिम्रो यो मनस्थिति बुझ्न सक्दि हुँ।तर प्रेम कहाँ त्यस्तो हिसाब किताबमा हुन्छ र?बाघचाल त तिमीले खेल्दै रहेछौ कर्नेल।म जान्दिन यस्तो प्रेम गर्न।गईहाल यहाँबाट।मलाई हेर्नु छैन तिम्रो यो स्वार्थी अनुहार।

कर्नेलले सर्वाङ्ग ज्यानमा हजारौँ अरिङ्गालले एकसाथ चिलेको अनुभव गर्छ।स्वाट्ट बिजुली गएझैँ रक्सीले छोड्छ।उसलाई हठात् पिसाब लाग्छ,दिसा लाग्छ।मनभरी बोल्ने शब्दहरु आपसमा लडि रहेछन कि त?मुख खोलेपनि जिब्रोमा हलचल छैन।मध्यरातमा  हालको  यो अवस्थाको न कर्नेलले पहिला कहिल्यै कल्पना गर्यो न त अहिले विस्वास।उसलाई त लाग्थ्यो आफ्नो चाहाको एउटा अभिव्यत्तिले साईलीलाई ऊ तर्फ अझ संबेदनशील बनाउने छ।तर परिणाम विपरित भईदिन्छ।हिजोसम्म आँखा जुध्दा काँडा उम्रिने तन र मन,आज उही काँडाले निर्मम कोतरेझैँ दर्खराएको छ।

न आवेग,न क्रोध,न हारको रंग,न अर्को पाईलाको भर,न अबको गन्तव्य,न परिणाम स्वीकारोक्तिको शक्ति,न साहसको क्षय,न सोच,न शब्द केहीपनि नबोकी कर्नेल निस्किन्छ।उसलाई घरले पनि मचक्क थिचेको हुँदो हो र त पाईला त्यता मोडीएनन्।मुर्दा हिडेझैँ कर्नेलको प्राण लस्किरहन्छ रातभर।विश्रामको बिन्दु कतै त हुनुपर्छ तर विश्राम के को?पाईला या प्राण?

बाँकि के रह्यो र अब साईलीको भागमा पनि।कतिपय प्रेम व्यक्त नहुनु जाती रहेछ।कुण्ठा कुन प्रेममा नहोला तर त्यसको आयतन कति रहला निश्चित आफुले गर्ने रहेछ।कतिबेला कर्नेल सँग उसको मन साटियो उसैलाई खबर छैन।यो अन्यौलता प्रेमको अर्को सुन्दरता होला।

अन्तिम पटक उसले पुन बिरालोलाई सुमसुमाई।आज ऊ झस्किएन,तर्सिएन न ब्युँझियो।हुनसक्छ उसले आजसम्म साईलीले गरेको स्पर्श बुझेको छ र स्वीकारेको छ।हुन सक्छ उसले त्यो सहजता अपनाएको छ।हुन सक्छ अब उपरान्त यही स्पर्शमा हराउन चाहन्छ।तर उसले देखेको छैन,भर्खर एउटा यस्तै सहजताले भत्काईदिएको सम्बन्धको खाँबो।त्यसपछि भट्टीको ढोका खुल्लै राखेर साईली निस्किन्छे अनिश्चित यात्रामा।ऊ यहाँ फर्किने छैन अब।

भोलिपल्ट सबेरै भालेको डाँकोसँगै गाउँभरि हल्ला फैलिन्छ कि कर्नेलले साईलीलाई भगायो।कर्नेलकि श्रीमती  ठुली मनमनै कामना गर्छे मेरी सौतालाई खुसि नै खुसि मिलोस्।उसलाई के थाहा कर्नेल र साईलीका पाईलाहरु एकसाथ नभई विपरित दिशामा चलेका थिए।