भलाकुसारी

                                १.

“ के मौन बस्नु मेरो कमजोरी हो?”-मौनता’ले सोध्यो।

“मौन बस्नु आफैँमा कमजोरी हैन,तर तिम्रो मौनताको घनत्वले निर्धारण गर्दछ,कि तिम्रो मौनता कति फलदायक छ”-आवाज’ले भन्यो।

“त्यसोभए परिणाम ननिस्किए,मौन रहनुको अर्थ छैन?”-मौनता’ले सोध्यो।

“कदापी छैन,किनकि मौन बस्नु कमजोरी हुँदै हैन”-आवाज’ले भन्यो।

 

                                    २.

मौनता’ले सोध्यो- “दुख के हो?”

आवाज’ले भन्यो- “सुखको खोजि नै दुख हो!”

 

                                    ३.

“मलाई किन कसैले बुझ्दैन,किन कोहि बुझ्न चाहदैन?”- मौनता’ले सोध्यो।

“तिमीलाई बुझिदिए हुन्थ्यो जस्तो लाग्नेहरुको पनि यहि सवाल थियो!” – अवाज’ले भन्यो।

 

महसूस!

म गहिरो निद्राबाट

ब्युँझिएको एउटा शिशु’झैँ भएको छु

जसका जोर नयनले 

बेपत्तासँग खोजिरहेछ

आफ्नी आमाको न्यानो काख ।

 

मेरो अन्तरात्मामा एउटा

चिसो सिरेटो चलिरहेको छ

जस्तै;

मलाई मेरो जन्मसँग कतै गुनासो पो छ कि?

उमेरका पदचापलाई पछ्याउँदै 

जीवनको मध्यान्तरसम्म आईपुग्दा

कुनै गुनासो रहेन र रहन्न भन्न खोजिरहेछु 

आफैँलाई तसल्लीको बिडिं पिलाईरहेछु 

 

तथापी

म आमालाई सोध्न चाहन्छु

आमा,के म उही जन्मिएँ जो तपाइँले

कल्पिनु भएको थियो?

के म उही रगतको मसिनो धार हुँ

जो तपाइँमा कलकल बगिरहेथ्यो?

मैले आज लाई जीवनको मध्यान्तर

भनिरहँदा 

के मैले उत्तरार्धलाई देखिसकेको हुँ?

 

खैर– सवाल जवाफको तानमा

समयको हतासोले- हिर्काउँदै– हुर्काउँदै 

लैजाने विचित्रको एउटा जीवन रुपी भ्रमलाई

अँगाल्दै र छोड्दै  यहाँसम्म आईपुगेको छु 

जहाँ आईपुग्नु लेखान्तको अन्तिम हरफ थियो – सायद ।

 

मेरी आमाले बुझेको जीवनको सार्थकता

अनि– आवस्यकताको परिभाषाभित्र  म 

अटाउँन नसकीरहेको अवस्थामा

आमाका आँखामा तेर्सिएका  प्रस्नवाचक

मौनतालाई म के भनेर जवाफ दिउँ?

आखिर मौन प्रस्नको जवाफ मौनता कहाँ हुने रहेछ र?

 

लाग्छ 

समयले नेटो नकाट्दै मैले यो भन्नु थियो। कि –

कद काँटी होचो त मन उसको अग्लो छ 

भिजेका छन् परेला तर ह्रदय उसको सग्लो छ ।

 

लाग्छ मैले यो भन्नु थियो। कि –आमा

जूनेली रातलाई साक्षि राखी

जूनसँगै मितिनी लगाईदिएँ

उसलाई बगैँचामा राखेर

फूलहरुलाई पनि सजाईदिएँ ।

तर त्यसो भन्न सकेको छैन–

प्रस्न उही छन् – गहिरा र अप्ठ्यारा 

लाग्छ यसरी जवाफ दिनु थियो। कि –

 

जानकीको चरण कमल’झैँ 

दाहिने खुट्टा सारी आउँछिन् ।

कौशल्यालाई जस्तै मेरी मातालाई 

दङ्ग पारि आउँछिन् ।

आमा – सीता जस्ती बुहारी आउँछिन् ।

भन्नुपर्ने यहि थियो,हुनुपर्ने यहि थियो 

तर – खै कहाँ अल्झिएको छु 

कसरि बरालिएको छु किन बिग्रिएको छु ?

 

लाग्छ 

उमेको एउटा हाँगो समातेर 

कसैलाई यस्तो भन्नु पर्थ्यो।कि –

यसरी पाएँ तिमीलाई  – जसरी हार्मोनियमले सुर पायो

कोईला खानीको मजदुरले – खानीभित्र कोहिनुर पायो

जसले तिमीलाई गुमायो आखिर जे नै पायो के पायो?

यसरी पाएँ तिमीलाई – जसरी रामचन्द्रले जनकपुर पायो ।

 

मेरो भद्र पर्खाईले चिमोट्न थाले म के गरौँला?

अन्जान छु– त्यो विपतको घनत्व अनि क्षतिबाट 

कोहि कसैको आगमनले खुसी ल्याउने हो भने

एक्लै खुसी कसरि छु?

कोहि कसैको वेवास्ताले दुखी तुल्याउने हो भने 

एक्लै खुसी कसरी छु?

 

जीवनको यो क्षणभङ्गुरतालाई

उत्सवको जलप लगाएर 

म कहिले सम्म टिलिक्क टल्काई रहुँला र?

तर 

हरेक बिहानीले नविन समय बोकेर आउँछ

म पर्खिरहेको छु 

मेरो आँगनमा भुर भुर गरेर उड्ने त्यो

चन्चल समयलाई

जसले मेरा हत्केला समातेर भनोस् 

“यो नौलो सुरुवात हो,आऊ हामी सुरु बाट सुरु गरौँ”।

माघको सर्दी र आगो!

 

 

 

कस्तो चिसो?ऊ आफैँसँग प्रस्न गर्दै हिँड्यो।हिँडीरह्यो।उसलाई लाग्यो बस भित्र छिर्नपाए केही राहत मिल्दो हो।बतासले बरफ बोकेर ल्याएझैँ बर्फिलो मौसम थियो।ठण्डीले हातका औँलाहरु खरखर गरेर बज्ने भएका थिए।मुठी पारेर उसले तातो स्वासलाई हत्केला भित्र हाल्यो।स्वास पनि चिसिएछ कि?उस्तो न्यानोपन प्रसारित भएन।ऊ लुखुर-लुखुर लस्किरह्यो।बटुवाहरु अलमलिएर भिँड नगराउने छेऊ हेरेर ऊ ठिङ्ग उभियो।

 

हुर्रिएर आएको बसको ढोकामा खलासीले ढ्याप्प-ढ्याप्प दुई पटक मुठी बजार्यो।बसले गती घटायो यद्यपि रोकिएन।

जाने हो दाई?खलासी ढोकैबाट चिच्यायो।उसले सुन्यो।ऊ चलमलाएन।उसैगरी ढोकाले दुई मुड्की खाएपछि बस फेरि हुर्रियो।ऊ चढ्नुपर्ने बस थिएन,त्यसैले चढेन।

 

समय स्लोमोसनमा घुमिरहेको जस्तो उसलाई भान भयो।किन भयो?खै किन भयो किन।तर उसलाई भयो।घाम नलागेको दिन यस्तै हुन्छ।सबै धिमिधिमि गतिमा चलेजस्तो।हुनुपर्ने कामकुरा भैनैरहेतापनि सदा भन्दा ढिलो भैरहेजस्तो।सडक छेऊ लहरै उभिएका रुखहरु भएभरका पात झरेपछी सर्वाङ्ग नाङ्गिएको देखेर उसलाई विरक्त लाग्यो।गर्मीयाममा बस कुर्दा तिनै रुखको छाहारीमा बस्नुको आनन्दले उसलाई झल्झल्ती सतायो।उसलाई ति सबै नाङ्गा रुखको किञ्चित माया पनि लागेर आयो।

 

गर्मीले सातो लिएपछि,शितल ताप्न छाहारीमा बसिरहँदा कागले लतत हगेर उसको कपाल-निधार-नाक हुँदै जुँगासम्म पोतिदिएको उसले यतिबेला बिर्सियो।सम्झेको भए नाङ्गा रुखनै उसलाई मनपर्दो हो।नाङ्गा रुखमा बसेको कागले हगेको पहिलै देख्न सकिन्छ भन्ने उस्लाई लागेको थियो।त्यसदिन मुख भित्र पस्नसक्ने उक्त कागको प्रसादलाई जुँगाले गर्दा पस्न पाएको थिएन।त्यसपछि उसले जुँगा कहिलै फालेन।

 

बसहरु आईरहे।गईरहे।तर ऊ चढ्ने बस कुन हो?खै कुन हो कुन हो।ऊ कुनैमा पनि चढेन,भलै ऊ बसनै कुरेर बसेको थियो।ऊ बारम्बार घडी हेर्दै सडकको पर-पर सम्म आँखा च्यातेर नजर डुलाउँदै थियो।तर ऊ चढ्ने बस आएन।यत्तिकैमा उसका एक जोर नजर सडक पारीको फुटपाथमा गएर अडिए।किन अडिए?किनकि त्यहाँ फूल फुलेको थियो।एउटा ठिक्कको बगैँचा आएर गोलाकार रुपमा फैलिदियो।चारथरी फूल सकेको जति जवानी निचोरेर लहलह फुलिरहेको वारीबाटै देख्यो।

 

एउटा फूल पहेँलै गोदावरीझैँ फुलेको थियो।दोस्रो फूल प्याजी गुलाफझैँ फुलेको थियो।तेस्रो वगन-विलास फुलेको थियो भने चौँथो सुनगाभाझैँ फुलेको थियो।थोरै सेतो र प्याजीसँग मिसिएको रङ्गले सुनगाभा बढी सुसज्जित थियो।सडकमा दौडिरहेका बस,टेन्पो,ट्रिपर आदिलाई छल्दै उसले बगैँचाबाट आँखा हटाएन।बगैँचा आपसमा मस्त गफीई रहेको थियो।प्रत्येक फूलले हातमा सानो-सानो ब्याग लिएका थिए।पर्स भन्न सुहाउने आकारका।उसले वारीबाट यत्तिको अलावा अरु के देखोस्?

 

उसलाई आफुलाई मात्र किन यसरी जाडो लागेको होला भनेर अर्को पिरले खर्लप्पै छोप्यो।पिर पनि कति चिसो?उसलाई यस्तै लाग्यो।किन लाग्यो?किन लाग्यो किन।तर उसलाई लाग्यो।सम्भवत उसलाई पिरले उती तताएन कि त?उसले त्यस्तो सङ्केतपनि गरेन।पिर परेको पक्का हो तर त्यसको असरले च्वास्स छोएर मात्रै गयो।हो,पिर किन परेको हो भने,आधा माघको यो बिहान सारा दुनियाँ जाडोलाई सराप्दै दौडीरहेको बेलामा उसले चारथरी फूल एक पत्र सारी र एक पत्र ब्लाउजमा निस्फिक्री फुलेको देखेर परेको हो।यो सारी र ब्लाउजमा के आगो जडित छ?के यसले बाहिरको चिसोलाई शरीरमा पस्नबाट छेक्छ?कि जवानीको तलाऊमा डुबुल्की मारीरहेका तरुनीहरुमा माघको सर्दिलाई मात दिने शक्ति छ?आफैँलाई प्रस्नमाथि प्रस्न थोपरेर विस्मातले थिचीन्छ ऊ।

 

धत्तेरी!आजै घाम नलाग्नु परेको।कम्तिमा टोपी त लगाउनु पर्दैनथ्यो।ऊ एक्लै फत्फतियो।ऊ एकल संवादमा लिप्त भईरहँदा आफ्ना आसपास भएकाहरुलाई आँखा जुधाएरै हेर्थ्यो।त्यसैले ऊसँग आँखा ठोक्किएकाहरु आफुलाई केही भनेको हो कि?भन्ने प्रस्नवाचक दृष्टि ऊतर्फ फ्याँक्थे र आफ्नो बाटो लाग्थे,किनकि त्यतिबेला सम्म ऊसको नजर अन्तै परिसक्थ्यो।

 

अर्को बस आएर घ्याच्च रोकियो।उसले एकपटक चनाखो भएर बसलाई नियाल्यो।यही बसमै चढ्नुपर्ने हो भन्ने उसलाई कता कता लाग्यो।फेरि यो बस पनि हैन रहेछ उसले थाहापायो।किनकि खलासीको हातभरी पैसाको मुठो थियो।ऊ भाडा तिरेर बस चढ्न यहाँ आएको हैन।हुँदै हैन।

 

बस गुड्यो।उसको मन पनि गुड्न सुरु गर्यो।एक थोपा पानी समेत मुखमा नहाली ऊ डेराबाट निस्किएको थियो।अलि पर एउटी बुढीआमै स्टोभमा चिया उमाली रहेकी थिईन।स्टोभको मसिनो तर स्पष्ट आवाज उसले निकैबेर अघिदेखि सुनी नै रहेको थियो तर यतिबेला उसलाई चिया डढेको गन्धले बढी आकर्षित गर्यो।ऊ त्यतै लस्कियो।यतिबेला उसले बगैँचातर्फ आँखा पुर्याउन भने छोड्यो।मनमा एउटा सन्देह बोकेर ऊ चिया पिउने अठोटले मुढामा बस्यो।बस आएर गयो भने त कुरो बर्बाद छ,उसलाई यस्तै लाग्यो।लागेपनि एक कप चिया नपिई कतै नलाग्ने निर्णय बमोजिम ऊ थचियो।

 

आमै आफुलाई सकेको जति मजेत्रोले ढाकेर डाडुले चिया चलाउँदै थिईन।अरु दुई व्यक्तिपनि आपसमा गफ लगाउँदै चिया पीउँदै थिए।हुनसक्छ उनीहरुले गफै नदिएका हुन् तर उसलाई त्यस्तै लाग्यो कि यी तोर्पेहरु एकअर्कालाई बेबकुफ बनाउँदै छन्।आमैले चिया उसको हातमा थमाई दिईन।पाउरोटी खानुस् बाबु,भर्खर आएको हो,उ त्याँ पुग्यो ल्याउने मान्छे,तातै छ खानुस्।आमैले भनिन्।हैन-हैन बिहान-बिहान पाउरोटी खायो भने मेरो पेट ढुसीन्छ।ऊ बोल्यो।अनि कतिबेला खानुहुन्छ त पाउरोटी?आमैले सोधिन्।म पाउरोटी नै खादिन।उसले भन्यो।

ए! आमैले भनिन्।

 

चियाको अन्तिम घुट्को पिएपछि, ‘तपाइँ एक-दुई गीलास चिया मज्जाले डढाउने गर्नुस,ग्राहक बढ्छन्।म पनि उत्ता थिएँ,बास्नाले तानिएर आएँ।’उसले यत्ति ज्ञान दियो।आमै मख्ख परिन्।उसले आमै खुसी भएको भेउ पायो। ‘ल हेर्नुस् त मैले तपाइँको बेपार बढाउने जुक्ति दिएँ।’भन्यो।सीपालु हुनुदो रेच बाबु त।आमैले हाँसेजस्तै गरी भनिन्।त्यहि त अलि अलि त छु।ऊ मस्कियो।छेउका दुईटाले उसलाई पुलुक्क हेरे।उसले दाँत देखायो।

 

मुढामा बसेको ऊ दुई तिघ्राबीच घुँडामा हात कोचेर घरि घरि  सडकतर्फ पनि नजर लगाउँदै थियो।एकैछिनमा उसले लाज-सरम नमानी ‘त्यसोभए एउटा चियाको के हिसाब गर्नुहुन्छ त?’भन्यो।त्यसो भनेर कहाँहुन्छ?मिठा कुराले मिठो चिया आउने भए म यो चिसो खाएर किन बस्थेँ?आमैले उनको मनको चिया भुक्लुक्क उमालिन।झनक्क रिसको एकभाग पानी ,आफ्ना दुखको एकभाग दुध,उसको कालो मनको एकचिम्टी चियापत्ती मात्रै हालेर।दयाको एउटा सुकुमेल र कुराको गुलियो चिनी उनले किन हाल्ने?हालिनन्।पन्ध्र रुपैया तिरेर ऊ फरार भयो।उसलाई चिया नखानु पर्ने रहेछ जस्तो लाग्न थाल्यो।ऊ पुन सोहि ठाउँमा गएर उभियो,जहाँ केहीबेर अघि उभिएको थियो।

धत्,बिहान-बिहान तोरी काम गरियो।ऊ फेरि एक्लै फत्फतियो।कसलाई तोरी भनिस्?पछाडीबाट हिडीरहेको एउटा कपाल फुल्न सुरसार गरेको व्यक्ति कड्कियो।उसको शिरमा ढाकाटोपी र हातमा बेरेर मुठो पारेको पत्रिका थियो।झट्ट हेर्दा उसलाई सरकारी स्कुलमा नेपाली विषय पढाउने शिक्षक भन्न सुहाउँथ्यो।ऊ झस्कियो।हैन मैले त आफैँलाई भनेको।यी हेर्नुस् त म कस्तो तोरी देखिएको छु।सहज हुन खोज्दै ऊ बोल्यो।भेट्लास।उक्त व्यक्तिले सकेको जत्ति आँखा ठुला पारेर भन्यो र लुरुलुरु गयो।आजको त दिनै खराब।ऊ एकपटक रातो भयो।

 

आँखा पारी पुगेछन।चारथरी फूल फुलेको बगैँचा केही फराकिलो भएछ।त्यहाँ उसले फूलका अलावा केही अरिङ्गालको थुतुनो परेका भँवराहरु पनि देख्यो।केही उमेरले निचोर्नु सम्म निचोरेर छोडेका महिलाहरु पनि देखिए।उनीहरु सक्दो आफुलाई सिंगारेर आईपुगेका थिए।सुक्न लागेको गुँरास जस्ता देखिएपनि मौरीले रस चुस्न नछोडीसकेका हुनुपर्छ।उसलाई यस्तै लाग्यो।लगत्तै के पनि लाग्यो भने,बस कुर्न ऊ गलत दिशामा बसेको छ।ऊ बाटो काट्न तम्सियो।निकैबेरको सकसपछि पनि ऊ पारी तर्न असमर्थ भयो।किनकि कुनैपनि सवारीले उसलाई बाटो छोडेनन्।बाटो काट्दा दौडनु हुँदैन भनेर उसलाई सानैमा कसले सुनाईदिएको थियो।त्यसैले ऊ नदौडने पक्षमा थियो तर नदौडी पारी पुगिने आशा उसले मार्दियो।झट्ट दायाँ-बायाँ नजर घुमाएर ऊ दुई फट्कामा पारी पुग्यो।एउटा ट्रिपरले हर्न मार्दियो।ऊ किञ्चित आत्तियो।र आफैँले मात्र सुन्ने गरी भन्यो – जेमराज।तरेपछि उसलाई लाग्यो,जेब्राक्रसिङ्ग त्यहिँ पर  थियो,त्यहाँबाट तर्नु परेको रैछ,फोकटमा सातो गयो।लगत्तै उसलाई लाग्यो, के जेब्रा क्रसिङ्गमा चाहिँ कसैले रोकेर जा भन्छ र।भन्दैनन्।सोमत नभाकाहरु।

 

दिदि! रुब्सा पार्टी प्यालेस जाने बस यहिँ रोक्ने हो?फूलैफूलको बिचमा उसले प्रस्नको हँसिया चलाईदियो।आफुले सकेको र जानेको जति तिकडमले सिङ्गार-पटार गरेर निस्किएका ति तरुनीहरुले आफ्नो भन्दा बढी उमेको पुरुषको मुखबाट दिदि शब्द सुन्नु जत्तिको भयानकता अरु के होला?स्ट्रेट कपालवाली जो गोदावरीको गुच्छाझैँ देखिएकी थिई-ले भनि,म कुन एङ्गल बाट दिदि देखिन्छु?हैन मैले त सबैलाई सोधेको हो।ऊ थोरै नर्भस हुँदै बोल्यो।आमामा सबैलाई पो भने रछ ओए,एउटी नेवार्नि जस्ती लाग्नेले सातो लिईदिई।ऊ हिँड्यो।के भाका आजकलका केटी?केहि सोध्नै नहुने?बोल्नै नहुने?मनमनै यती फलाकेपछि उसलाई आनन्द लाग्यो।

 

‘रिजर्भ-रुब्सा पार्टी प्यालेस’लेखिएको ब्यानरवाला बस रोकियो।ठेलम-ठेल गरेर ऊ अन्तिममा चढ्यो।भरिभराऊ बसको ढोका भन्दा माथि ऊ जान सकेन।दाई अलि माथि जानुस् त।खलासीले उसैलाई हप्कायो।कहाँ जाने हो?ठाउँ हुनु परेन?ऊ पनि कड्कियो।खलासीले वास्ता गरेन।रिजर्भ गरेपछि त आनन्दले बस्न मिल्नेगरि गर्नु नि।अर्को बस थप्नु नि बरु।उसले असन्तुष्टि पोख्यो।आफैँसँग।दौडिएको बसको ढोकामा उसलाई बतासले चुट्नु सम्म चुट्यो।

 

पार्टी प्यालेस पुगेपछि सबैभन्दा पहिला ऊ ओर्लियो।ऊ गजक्क पर्यो।आफुलाई घचेटेर पहिला चढेकाहरु सबैभन्दा पछि बसबाट झरेको देख्दा ऊ बढो रोमान्चित भयो। ‘आलो-पालो जिन्दगि क्या फरक पड्ता है’-टुप्पो न फेदको यत्ति बोल्यो।उसले यो बोल्न कहाँ सिक्यो?कहिले सिक्यो?कतीपय कुरा अकस्मात सिर्जना हुने रहेछ कि?उसले बस कुर्नुको कारण यही थियो कि कसैको बिहाको निम्ता मान्नु थियो।

 

बिहामा गएपछि सबैभन्दा पहिलो काम खाने काम न हो।बुफे लागेको स्थानबाट पुलाऊको बास्ना प्रसारित भईरहेथ्यो।अलि अलि लागेको भोक,झन् बढ्यो।निकैबेर खाने-खुवाउने सुरसार नै चलेन।लाईन लाग्न परे सबैभन्दा पहिला लाग्छु भनेर ऊ बुफेस्थलको नजिकै ध्यानस्थ उभियो।ज्या,के ढिला गर्या होला।भोकले ऊ रन्थनिन थाल्यो।

 

बल्ल निम्तालुहरु लाईन जस्तै भएर उभिए।ऊ पनि मिसियो।पुलाऊ देखि पापड सम्म लगभग एक दर्जन खाना सजाईएको थियो।उसले त पहिलै के खाने के नखाने निर्णय गरिसकेको थियो।उसको रोजाईमा पुलाऊ-राज्मा-खसीको मासु र चिकेन रोस्ट थियो।एउटा प्लेटमा सकेजत्ति भरेर कतै कुनाको कुर्सीमा बसेर खाने उस्को योजना थियो।सोचे अनुरुप उसले प्लेट भर्यो।त्यसरी भरिभराउ गर्दा उसलाई अप्ठेरो लागेन किनभने सबैले उसैगरी अटाई-नअटाई थुप्राएका थिए।कस्ता खानै नपाएका जङ्गली।धत्।उसले अरुका प्लेट हेरेर सोच्यो।सोच्दा एक टुक्रो रोस्ट भुइँमा खस्यो।उसले अर्को टिप्न मन गरेन।किन गरेन?किनकि त्यसै बखत वेटरले उसलाई एक नजर पुलुक्क हेर्यो।

 

कुनामा बसेर चाटीचुटि खाएपछि एकपटक लामो डकार्यो।उसले डकारेको सुनेर छेउको फुच्चेले तिरस्कारको दृष्टिले हेर्यो।उसलाई रिस उठ्यो।के हेर्या हँ?हप्काउने शैलिले बोल्यो।तेरो बाऊ हेर्या,फुच्चेले भन्दियो।र फुच्चे बेतोडले दौडियो।उसलाई भर्खर खाएको खानाको स्वाद नै गाएब भएझैँ लाग्यो।दाँतमा अड्किएको खसीको छालाले उसलाई बल्ल दुखाउन थाल्यो।दहि र जेरी राखिएको ठाउँमा गएर एउटा टुथपिक लियो र छेउको कुर्सीमा असजिलो गरी टेसियो।दाँत कोट्याउँदै गर्दा मनमनै बोल्यो- कस्तो तिखो मरिच रहेछ।चाउरे।ठाडै तेरो बाउ भन्दियो त।उसले निकैबेर लगाएर दाँतबाट केही टुक्रा निकाल्यो र आफ्नो डेरातर्फ लाग्यो।

 

डेरामा पुगेर ऊ केही नगरी पहिला खाटमा पछारियो।दिन बाँकी नै थियो।यसैपनि चिसोले राज गरेको दिन,बाहिरफेर निस्किन उसलाई जाँगर चलेन।मज्जाले मिट-पुलाऊ खाएर ढाडिएपछि शरीर आलस्य हुनु के नौलो भयो र?अब बाँकि दिन के गरेर बिताउने भनेर ऊ एकछिन गम्न थाल्यो।झट्ट गरीहालौँ लाग्ने केही नभेटेपछि ऊ कौसीमा निस्किने तरखरमा लाग्यो।घरबेटीका लोग्ने-स्वास्नी सधैँ जसो कौसीमा गएर टिनको ड्रममा आगो तापेर बस्छन।कहिलेकाही ऊ पनि हत्केला तताउन पुग्थ्यो।हत्केला भन्दा बढी ऊ आफ्ना अन्तर-कुन्तरका अङ्गहरु तताएर कोठामा झर्थ्यो।घरबेटी दम्पतिका अलावा नियमित आगो ताप्नेमा घरकी नोकर्नी उषा हुन्थी।दिन बिराएर दोस्रो तल्लामा बस्ने सचिवका लोग्ने-स्वास्नी पनि हुन्थे।तर खास चिनजान पनि नभएकाले ऊ त्यति खसखस लिएर वास्ता गर्दैनथ्यो।

 

आगो तापीरहँदा ऊ अरुका आँखा छलेर उषाका हात छोईदिन्थ्यो।सुरु सुरुमा ऊ खाउँला जसरी हेर्थी-ऊ हच्किन्थ्यो।अघिल्लो सर्दी सुरु भएर सकिन लाग्दा उसले हच्किन परेन।उही सर्दी यो सालपनि आयो।उसैगरी मिलेसम्म ऊ कौसीमा उक्लिन्थ्यो।हिजोआज माघको लगनले घरबेटी निम्ता मान्न दौडीरहने भएकाले कौसीमा आगो बल्न सकेको थिएन।तर अकस्मात उसलाई आज आफैँ गएर आगो सल्काउने जोस चल्यो।

 

कौसीमा पुगेर ड्रममा केही टुक्रा दाउरा हाल्यो-मिलायो।लाईटर लिन पुन तल झर्यो।हातमा केहि कपडा बोकेर उषा भर्याङ्ग उक्लिदै थिई।

-लाईटर दिन्छौ कि भनेर।उसले फिस्स गर्यो।

-आफैँ लानु नि।उषा बोली।

-हुनुपरेन?वालमा टाँसिएर दाँत देखायो।

-चाहिनेले किनेर राख्दा भयो त।उषाले टर्रो बोलि कायमनै राखी।

-मागेर काम चलाउनुको पनि बेग्लै आनन्द छ नि त।उसले शालीन मुद्रामा भद्र भएर यत्ति बोलेपछि आँखा पल्टाएर उषा भान्साकोठाभित्र पसी।

-दाउरा सप्पै नसक्नु नि हामीलाई पनि चाहिन्छ।भरेलाई।बोलिरहँदा लाईटर उसलाई थमाईदिई।

-ताप्ने भए आऊ के रे।लगभग कौसीमा पुग्नै लाग्दा ऊ चिच्यायो।उषाले सुनिन कि,ऊ गईन।

 

भोलिपल्ट घामको केही मात्रा धर्तीमा देखापर्यो।उज्यालो मात्रै गराएको घामले न्यानो दिन सकेको थिएन।उठेर धोई पखाली गरेपछि ऊ जागिरमा जान निस्कियो।ढोकामा ताल्चा लगाउँदै थियो,उषा देखापरी।

 

-छिटै उठेछौ त?हाँस्दै सोध्यो।

-नौ बजीसक्दा छिटो हुन्छ?यतिबेला सम्म सुत्न कहाँ पाईन्छ?तपैंको जस्तो मनलाग्दी कहाँ छ मलाई?दुख दिने भन्दा अरु कोही छैन ह्याँ।मलिनो अनुहारले बोल्दै गरेकी उषाको बोलि अड्कि अड्कि निस्किदै थियो।

-लौ के भयो?उसले जिल्ल पर्दै सोध्यो।

-केही हैन।उषा फटाफट भर्याङ्ग उक्लीई।

 

ऊ फुटपाथमा लामो-लामो पाईलाले लम्कीईरहँदा उषाको कुरा सम्झिन्छ।कहाँ छ मेरो मनलाग्दी।अर्काको काम गर्नु परेको छ।अर्काकै भर पर्नु परेको छ।अर्काले दिएको खानु परेको छ।कसरी छ मेरो मनलाग्दी?ऊ एकालाप गर्छ।सकेको घर-धन्दा गरेर उसैले मिठो खाएकी छे।नोकर्नी भएर के भो त?खान र बस्न पाएपछि?के मचाहिँ नोकर हैन र?किन हैन?म झन् तल्लो स्तरको नोकर हुँ।मलाई मालिकले भर्खर कामबाट निकाल्न सक्छ।मैले नुन किनेर खान नसक्ने दिन आउन सक्छ।त्यसको यो अवस्था कहाँ छ त?मेरै रिस गर्दी रैछे हाँडी त।ऊ मुर्मुरियो।

 

सोचाईको तापले चिसोलाई पगाल्ने जत्तिकै तातेर ऊ एउटा सटर भित्र पस्छ।केही बेरमा पछाडी झोला भिरेर,हातभरी घडीको एक झुप्पो बोकेर निस्किन्छ।उसको जागीर यही हो।साहुसँग घडी लिने,त्यसलाई सकेको महँगोमा बेच्ने।महिनाको पाँच हजार तलब र महिना भरि बेचेको घडीको प्रतिगोटा रु.पचासका दरले थप पाईने।तर महिना भरिमा कम्तिमा दुईसय गोटा घडी नबेचे थप पाउनु पर्ने नपाईने।सरसर्ती हेर्दा उसको तलब त्यहि चोखो पाँच हजार।कसरी टिक्ने सहरमा?

 

-लिनुस् बा,यो घडीले तपाइँको समय गतिलो बनाऊने छ।ऊ एउटा चाउरिएको बुढो मान्छेलाई घडी भिराउने ध्याउन्नमा छ।

 

-बनायो गतिलो!गतिलो समय कुर्दा कुर्दा जवानी गयो।बुढेसकालले खाएपछि अब गतिलो समय केलाई चाहियो?बुढोले भन्यो।

-त्यसो हैन बा,तन बुढो भएर के भो त,मन रसिलै होला?बुढोलाई फकाउन उसले यो तरिका अपनायो।बुढो आफ्नो जवानीको सफरमा फर्कियो।

-ऊ बेलाको के कुरा?मकैबारी,वनजङ्गल,डाँडा-पखेरा सब आफ्नो हुन्थ्यो।गोठालो जान नपाए जीउ चिलाएर पर्ले हुन्थ्यो।कन्याईदिने हुन्थे नि त,बुढो गिजा देखाएर हाँस्यो।

-तपाइँ घडी लिने कि नलिने?बुढोले गफ मात्रै गरेर घडी नलिने देखेपछि ऊ झोक्कियो।

-कहाँ भाईपनि मु-ख बोल्ने कोही नभएर एकछिन गफ गर्न आएको म।घडी त चाहिएकै हैन नि।बुढो रन्थनिएर हिड्यो।यत्रो सहरमा बुढोसँग बोलिदिने कोहि रहेनछ।उसले च्व च्व गर्यो।

 

एकरात उसलाई घरजम गर्नसके जोईपोईले कमाउन सकिन्थ्यो कि जस्तो लाग्यो।त्यति नभए बुढेसकाल लागेपछी पाटीमै गएर बस्नुपरे पनि भलाकुसारी गर्न अर्को खोज्न पर्ने झन्झट टर्न सक्ने देखेर उसलाई एउटी स्वास्नीको रहर चढ्यो।ऊ आफ्नी स्वास्नी कस्ती हुनुपर्छ भन्ने तर्कना गर्न थाल्यो।त्यसका लागि उसले देखेका अरुका स्वास्नीहरुलाई मनमनै केलाउन थाल्यो।

 

सबैभन्दा पहिला घरबेटीकि स्वास्नीलाई सम्झियो।धत्।यस्ती बुढी स्वास्नी के काम?यो बुढी कुनै बेला तरुनी थिईहोला भन्ने उसलाई लाग्दै लागेन।किन लागेन?किनकि उसले स्वास्नी भनेका हमेसा जवान हुनुपर्छ भन्ने सोचेको थियो।त्यसपछि उसले दोस्रोतल्लामा बस्ने सचिवकि स्वास्नी सम्झियो।आगो ताप्ने बेलामा त्यो पनि आक्कल-झुक्कल बाहेक कतै देखेको उसलाई याद आएन।यसरी गाएब नै हुने स्वास्नी के काम?कोठाभित्रै टि.भीमा टाँसिएर बस्ने स्वास्नी नि के स्वास्नी।ओहो हुन्न।

 

फेरि उसले सामान्यतया किराना सामल-तुमल किन्ने दोकानकी साहुनी सम्झियो।सुरु सुरुमा उसलाई कता कता राम्री राम्री,हँसिली हँसिली लागेको थियो।उसको हाँस्दै बोल्ने लवजले ऊ मोहित भएको थियो।लोग्ने चाहिँ कतार गएको छ भन्ने सुने देखि उसको दाल-चामलको खरिदक्रम ह्वात्तै बढेको थियो।समयान्तरमा त्यो साहुनी ऊ सँग मात्रै नभएर जोसँग पनि उसैगरि बोल्ने गरेको थाहालागेपछि ऊ त्यो बाटो हिड्नै छाड्यो।त्यसरी जोसँग पनि दिल खोलेर बोल्दै सबैलाई घाईते बनाउने स्वास्नी के काम?त्यस्ती स्वास्नी त पोईल जान नि सक्छे।धत् हुन्न।उसलाई त्यस्ती स्वास्नी पनि चित्त बुझेन।

 

पल्लो घरको छतमा डोरी खेल्दै उफ्रने एउटी तरुनी उसले देखेको थियो।प्रायजसो,बिहान र साँझपख ऊ जोड-जोडले उफ्रिरहेकी हुन्थी।त्यसोत ऊ दिनहुँ उफ्रिंदी हो तर उसले भने कहिले काहिँ मात्रै देखेको थियो।अक्सर हाफ टिसर्ट र टाईट कालो जिन्समा देखिने उसलाई कसैकी स्वास्नी हो कि हैन भनेर छुट्याउन मुस्किल पर्यो।र पनि त्यसलाई कसैकी स्वास्नी नै सम्झियो र सोच्यो,विवाहित र अविवाहित नै नछुट्टिने गरी उफ्रिने स्वास्नी नि के स्वास्नी?छनछनी चुरा र पाउजु बजेको सुन्न नपाउने भए बिहे गर्नुको के अर्थ।धत् हुन्न।

 

उसले देखे-जाने सम्मका सबैलाई एक एक गर्दै मनमनै नियाल्यो।साँच्चै स्वास्नी जस्ता कोहिपनि लागेन।अब उसले बिहे नगर्ने अठोट गर्यो।गम्लङ्ग सिरक ओढेर सुत्न खोज्यो।तर कता कता चिसो बतास उसको सिरक भित्र मडारियो।उसलाई लाग्यो स्वास्नी भएकी भए यो बतास छिर्ने ठाउँ टालिँदो हो।उत्तानो फर्किएर उसले उषालाई एक झप्को सम्झियो।के त्यो हाँडी स्वास्नी बन्न लाएककी छे त?आफैँलाई गहिरो प्रस्न गर्यो।हठात् उषा उमेरले आफुभन्दा कान्छी भएको सम्झियो।आ; के फरक पर्छ?स्वास्नी भनेका आफुभन्दा कान्छी नै ठिक।मन बुझायो।

 

उत्तिखेरै उसले साहुलाई सम्झियो।विराटनगरको सेठ भनेर कहलिएको उसको साहुलाई कुर्सीमा बसेको ठाउँमा हेर्ने हो भने,एउटा घ्याम्पोको मुखमा बढेमानको फर्सी राखेकोझैँ देखिन्थ्यो।गर्धन नभएको सेठको ओठ आङ तानेर बसेको चिप्लेकिरो झैँ देखिन्थ्यो भने ओठको ठिक माथि झुसिलकिरो बसेझैँ जुँगा थियो।कति कुरुप मान्छे त्यो धत्।उसलाई सम्झिएरै वाक्क लाग्यो यद्यपि ऊ यतिबेला सेठकि स्वास्नी सम्झिन खोज्दै थियो।झट्ट हेर्दा बाउ छोरी भन्न सुहाउने जोडीलाई लोग्ने स्वास्नीको उपमा मिलेको थियो।जत्तिबेलै सारीमा सजिएर बस्ने उसकी स्वास्नीलाई हेरेर सबै घुटुक्क थुक निल्थे।उसलाई भने त्यस्तो भएन।ऊ कसैगरी पनि सेठकि स्वास्नी तर्फ आकर्षित भएन।किन भएन?खै किन भएन किन।सायद उसलाई सेठकि स्वास्नीले अनुहारमा दलेको क्रिम-पाउडर सम्झेर दिगमिग लाग्दो हो कि त?

 

​हो,उमेरको हदबन्दीको प्रसङ्गमा उसले बुढो सेठ र उसकी जवान स्वास्नी सम्झिएको थियो।उषा उसकी स्वास्नी बन्न त्यति मुस्किल छ जस्तो उसलाई लागेन।आफ्नो उमेर हेरेर उषाको जवानी देख्दा अरुले आँखा लगाउने हुन् कि भन्ने एउटा सन्त्रास मनमा आएपनि एकपटक उषालाई सोधी हेर्ने निधो गरेर ऊ सुत्यो।

 

अर्को एकदिन उषा कौसीमा कपडा सुकाउदै थिई।ऊ मिल्कियो।उषाले नदेखेकोझैँ गरि।

 

-किन नदेख्याझैँ गर्छौ है?भन्यो।

-के गर्नु परो त?हेरेरै बस्नु?उतर्फ नहेरी उषा बोलि।

-एउटा कुरा भन्नुथ्यो।वास्तवमा भन्नु भन्दापनि सोध्नुथ्यो।

-भन्नुथ्यो कि सोध्नुथ्यो पहिला निर्क्योल गर्नुस।भुइँको गलैँचा उठाउँदै उषा बोलि।

-मेरी स्वास्नी बन्ने हो?उसले ठाडै सोध्यो।

-भाङ्ग खाएर आको हो क्या?अनुहार हेर्या छ ऐनामा?जे पनि भन्ने।उषा एकै पटक भटट पड्किई।

सुनेर उसलाई रनन भयो।

-आफ्नो अनुहारचाहीँ ऐनामा हेरेकी छेस्?हाँडी।उसले नि भन्दियो।

-आफैँ होला नि हाँडी,अर्कालाई इतिकै जे पायो तेही भन्ने कहिँ नभाको खूईले।उषा फलाक्दै तल झरी।

 

उसलाई आफुले साँच्चै अन्तिम पटक कहिले ऐना हेरिएको हो याद आएन।ऊ फटाफट ओर्लियो र कोठामा छिर्यो।ऐना थिएन।उषालाई बोलायो।ऊ बोलिन।माथिबाट घरबेटीकि स्वास्नी बोलि,किन हँ?

-ऐना हेर्नु थ्यो त्यसैले।तलैबाट उसले जवाफ दियो।

-के छ र तेस्तो ऐना हेर्नु पर्ने त्यो थुतुनोमा?माथिबाट आवाज आयो।

-त्यहि पत्तो लगाउन हेर्न परेको हो।उसले भन्यो।फेरि आवाज आएन।

 

उसलाई केहीदिन यतादेखि आफुमाथि भईरहेको ज्यादतीले कसो-कसो चिमोटेझैँ लाग्यो।कोठामा छिर्यो र खाटमा पसारियो।पछिल्ला दिनहरुमा उसलाई ककसले के के भने,कसो गरे र किन गरे भनेर पत्ता लगाउन मनभयो।मन भएर हुन्छ?तरिका हुनु परेन?उसलाई यस्तै लाग्यो।आ; होस् के को चिन्ता बोक्नु।जसले जे सुकै भनोस्।उसले तत्काल यथास्थितिलाई स्वीकार गर्यो।र भुसुक्कै निदायो।

 

माघको आधा-आधी  देशैभरि झरी परेको थियो।ऊ जागिरमा गएन।बिहान अबेरसम्म आफुलाई कोठाभित्रै थुनेर राख्यो।सडकतर्फ फर्किएको झ्यालमा पर्दा थिएन,त्यसैले सिसामा चिसोको कारणले बनेको  बाफ एक पत्र जमेको थियो।उसले झ्याल नजिक गएर सिसाबाट बाहिर नियाल्न खोज्यो।धमिलो आकृति औसत आकार ठुलो बनेर देखिएको थियो।झ्याल खोल्यो।पानी दरर दर्किरहेकै थियो।आकास खसिहाल्छकी जसरी कालोनिलो भएर मडारींदै थियो।उसलाई झरी परेको दृश्य अद्भुत लाग्यो।उसले सडकको गतिबिधि नियाल्यो।

 

*ठेलामा तरकारी बेच्न हिँडेको एउटा दुब्लो मान्छे तरकारीलाई त्रिपालले छोपेर आफु भने रुझ्दै हिँडेको थियो।

*एउटा जिपले खाल्डामा जमेको धमिलो पानी एउटी आईमाईमाथी छ्यापेर गयो।

*एउटा गाई चुपचाप उभिएर ढाडमाथि पानीको हरेक थोपाको सुख लिई रहेझैँ देखियो।

*छाता ओढेर आवत जावत गरिरहेकाहरु आधा शरीर रुझी सकिएको हेक्का नराखी हिडीरहेका देखिए।

*एउटा स्कुले फुच्चे रुँदै बस चढ्दै थियो।आमाचाहिँ होलि बस पर नपुगुन्जेल हेरेर बसी र बाटो लागी।

*बिजुलीका तारमाथि भँगेरा र गौंथली आपसमा बाझा-बाझ गरेझैँ चिर्बिर-चिर्बिर गरेको सुनियो।

 

उसले आम रुपमा सधैँ देखिरहेको तर नजरअन्दाज गरेको कुरालाई आज गहिरो नजरले हेर्यो।उसको मन कपास बनेर हलुङ्गो भए जस्तो भयो।ऊ यत्तिकै खुसी देखियो।आफ्नो बस्ने बास छ भन्ने सम्झियो।रुझ्दै हिड्न नपरेको सम्झियो।मोटर गाडीले हिलो छ्याप्न नसकेको सम्झियो।यस्तै यस्तै सम्झिएर ऊ पुलकित भयो।मौसमले भएको चिसोलाई थप चिसो गराएको थियो।उसलाई उषासँग बसेर आगो ताप्न मनलाग्यो।निकै दिनदेखि बोलचाल बन्द भएकोले बोलाई हाल्न सकेन।त्यस्तैमा कसैले ढोका ढकढकायो।बाहिर उषा उभिएकी थिई।पहेँलो रङ्गको कुर्थामा ऊ लटरम्म फलेको सुन्तलाको बोटझैँ देखिएकी थिई।थोरै आस्चर्य र थोरै खुसी मिस्रित आँखाले उषालाई हेर्यो।

 

-यो कोठाको ढोकापनि ढकढकाउन जानेकी रैछौ त?भन्यो।

-मैले नजानेकी के छु र?उसले भनि।

-भित्र त आउँदिनौ होला?

-बोलाए किन नआउनु?

-मैले आज सम्म ऐनामा अनुहार हेरेको छैन,कसरी आऊ भन्नु?

-ठिक छ,तपाइँ कुनै अर्को दिन हेर्नुहोला।आज आगो ताप्न मन छैन?

-झरीले कौसीमा गईसक्नु कहाँ छ र?

-कोठामै बाल्ने नि?

-घरबेटीले मलाई निकाल्छन्।

-कसले थाहा दिन्छ र?

-तिमीले गएर भन्यौ भने नि?

-आज बालेको आगो कसैलाई भन्दिन।यो हामी बिचमा बल्ने आगो हो।खै छोड्नुस।उषाले धकेलेरै भित्र पसी।

उसले किङ्गकर्तव्यताले जेलिएर चुकुल लगायो।कोठामा लाइटर थिएन।तर उनीहरु दिनभरि आगो तापेर बसे।

Read more

‘परदेशी ‘

परदेशी 

 

नजा बाबु त्यो विरानो सहरमा भनेकी थियौ

यि पाईला अडिएनन् रुँदै रुपैँया गनेकी थियौ 

उडेर आएँ चरीझैँ आकाशको चिलगाडीमा 

यो जुनी मौलाउँदैन अरबको तातो खाडिमा 

आमा आकाशको चिलगाडीमा /

 

दुखसँग हारेँ भने मैले केलाई जित्नु आमा?

हुरीले पालि फर्काउला ढुङ्गाले थिच्नु आमा

म टाठै छु, किस्मत छैन अझै गलेको

सपना देख्छु घर माथिको वर पीपल ढलेको

आमा किस्मत छैन अझै गलेको /

 

भन्ने गर्थ्यौ विपत् पर्दा दैवले हेर्छन् बाबै

हाम्रा दैव अन्धा र’छन,था’पायौ कि पाईनौ आमै?

आफ्नै माटो फल्दो हो त परदेश किन आउँथे हुँला?

दुख्दा,पोल्दा,गल्दा तिम्रै काखमा रुन पाउँथे हुँला

आमा म किन आउँथे हुँला /

 

आशा कहिल्यै नमार्नु तिम्ले निम दियो बाल्नु

फरिया फाटे म लिई आउँला, छाति फाटे चाहिँ टाल्नु 

दु;खको आयु हुन्न यो तिमीले मान्नु

पुस- माघले दम बढाउँछ एउटा बर्को हाल्नु 

आमा यो तिमीले मान्नु /

 

महलको सपना मर्यो आँखा अगाडी महल देख्दा

त्यही छाप्रो शित्तल लाग्यो घामले मेरो तालु सेक्दा

केही गर्न नसके यत्ति त गर्छु बरु

तातो बालुवाले निल्दैन,तिम्रै काखमा मर्छु बरु

आमा यत्ति त गर्छु बरु /

 

साँझ बिहान आँगनमा साहु आएर कराउला

बोलिदिने कोही छैन त्यो मन कति डराउला 

हरे!मेरो कस्तो नसिब सोच्दा सोच्दै घायल हुन्छु 

मनले घर फर्की भन्छ ऋण सम्झेर कायल हुन्छु 

आमा ऋण सम्झेर कायल हुन्छु /

 

मकै मिठो ठेट्नाले,मह मिठो फूलले 

सुख लेख्ने मसि सुक्यो भावीको एउटा भुलले 

निधारको पसिना पुछ्दै विरही भाका हाल्छु 

सुर्ता तिमी नगर आमा सुखै सुखले पाल्छु 

आमा विरही भाका हाल्छु /

 

हल गोरु छोडी दिनु डाँडा पाखा चरुन 

सकुन्जेल चुँडेर खालान नसके सुखैले मरुन 

तिनका पिठ्यूँमा सुम्ला बसे झिनो गल्ति गर्दा 

जोताईको पीडा बुझेँ आफैँ जोतिनु पर्दा 

आमा झिनो गल्ति गर्दा /

 

पापी पेटले खान माग्छ एकै छाक आउँछ 

खाउन्जेल आराम हो नत्र कहाँ पाउँछ 

यो जिब्रो बिग्रियो कि छैन पटक्कै मिठो 

मिठो त त्यही खोले त्यही कोदोको पिठो 

आमा छैन पटक्कै मिठो /

 

पुण्यमातामा मुख गाडेर प्यास मेट्ने बानी 

मट्टीतेल झैँ लाग्छ,यहाँको पिउने पानी 

न्यास्रिए होलान वनपाखा,खहरे खोल्सा र खोली 

झट्टै फर्की आईज भन्दै बालवनमा कोईली रोली 

आमा खहरे,खोल्सा र खोली /

 

दिन बिराएर दाजुभाई यो बालुवामा झर्छन 

सहन सक्नेले सहन्छ, बाँकी पुक्लुक्क मर्छन

सपनाको ईन्द्रेणी कालो बादलमा लुक्छ 

सुख किन्न आ’को छोरो बाकसमा घर पुग्छ 

आमा कालो बादलमा लुक्छ /

 

तिमी जस्तै सबैका,बुढी आमै होलिन 

आफ्नो मुटुलाई बाकसमा देख्दा ति कती रोलिन 

सम्हाल्नु कसले कसलाई,बज्रियो यस्तो दुर्गति 

मुर्छा पर्लिन हरे ति बिचरी उनकी श्रीमती 

आमा ति कति रोलिन /

 

आगौँ हिउँदमा पक्कै आउछु तिमी पर्खि बसे 

अब धुरी टालिन्छ, खस्नु बर्खा खसे 

साहुको मुखमा बुझो लाग्छ तिमी ढुक्क हुनु 

तिमी रोए मलाई दुख्छ बिन्ति रुँदै नरुनु 

आमा तिमी ढुक्क हुनु /

 

तिम्लाई बोकी देवघाट हुँदै बद्रि-केदार जाउँला

भगवानले दिएछन भने चन्दन केशरी लाउँला 

तिर्थ वर्त तिम्रो काम भो,म घर व्यवहार हेर्छु 

खुसी छिर्ने दैलो बाहेक बाँकी सबै घेर्छु 

आमा म घर व्यवहार हेर्छु /

 

बुहारीका रुपमा एउटी लक्ष्मी घरमा पस्ली

सुकुल माथि तिमी बस्नु ऊ चुलामा बस्ली 

सानो संसार बनाउने मेरो सपनाको भेल 

तेरो चरण पर्छु ईश्वर नगर्दे है झेल 

ईस्वर नगर्दे है झेल /

ईश्वर नगर्दे है झेल /