मृत्युपुर !

 

म त्यहाँ पुग्नासाथ एउटा भव्य स्वागतको आयोजना भयो।मलाई ठुलै सत्कारका साथ विशाल घाँसे मैदानमा पुराईयो।जसै म त्यहाँको परिवेश बुझ्न खोज्दै थिएँ, भीडमाझबाट एउटा आवाज आयो र ठोकियो मेरो कानमा। “मृत्युपुरमा यहाँलाई स्वागत छ महाशय।तपाईंको स्वागतका लागि हामी यहाँ छौं।आशा छ तपाईंको यो आगमन हामी सबैका लागि एउटा नवीन प्रेरणा हुनेछ”।

 

आवाज स्पष्ट र मृदुल थियो।लगभग बाईस चौबिस वर्षकी युवतिको आवाज लाग्थ्यो त्यो।हजारौँ देखिन्थे त्यहाँ तर सबै बिना शरीरका टाउका|देखेर अचम्मित भएँ।सबै आआफ्नै धुनमा मस्त थिए।मेरो स्वागतमा लागेको त्यो भिंड बिस्तारै पातलिँदै गयो र आवाज आउन बन्द भयो।म फगत नियाली रहेँ त्यो वातावरण,त्यो समय र त्यो मौनता।कति सुनसान रहेछ यो मृत्युपुर।कति स्वच्छ र सफा यहाँको हावा।कति शालीन यहाँका मानिस।कति निडर र बेफिक्री यहाँका जनावरहरु।मेरो वरिपरि पूर्ण प्रकृति थियो।टाउकाहरु बिस्तारै हराउँदै गए।म, मलाई बसाईएको मैदानबाट बाहिरिएँ।

 

पछाडिबाट कसैले आवाज दियो। म तन्द्रामा झस्किए झैँ किञ्चित झस्किएँ।“तपाईलाई यो वातावरण अजिब किसिमको लागिराखेको होला,वास्तवमा त्यस्तो होइन।तपाई यहाँ आउनु पूर्वको स्थान यानी पृथ्वीपुर जो अँध्यारो र उज्यालोको बिचमा अडिएको थियो तपाई त्यो भन्दा परको संसारमा हनुहुन्छ।मृत्युपुरमा तपाईंलाई फेरि पनि हार्दिक स्वागत छ।” 

 

त्यहाँ मात्र आवाज थियो।हावाले बोलेझैं बिल्कुल सुनसान। केही वस्तु थिएन।व्यक्ति कोही थिएन।साँझमा मलाई एउटा सभाहल जस्तै देखीईने थुम्कोमा पुर्याइयो।त्यहाँको दुबो कपास भन्दापनि मुलायम थियो।त्यहाँ पनि उस्तै टाउका मात्र थिए।हजारौंका सङ्ख्यामा,सबै मुस्कुराइरहेका।शान्त र भद्र रुपमा बसेर हरेकले मलाई नियालिरहेका थिए।

 

“आजबाट तपाईं मृत्युपुरको सम्पूर्णरुपमा हकदार हुनुहुन्छ।अनगिन्ती शुभकामनाका साथ केही अनुत्तरित प्रश्नहरु राख्ने अनुमति चाहन्छु महाशय, कृपया दायाँतर्फको ढुँगामा विराजमान भईदिनु हुन सादर अनुरोध गर्दछु।”

बिहानको स्वागत कार्यक्रममा बोल्ने युवती थिईन अनुरोध गर्ने वाली।त्यहाँ बिजुली थिएन,टुकी,पानस,मैन बलेको थिएन तर सम्पूर्ण परिवेश स्पष्ट देख्न सकिन्थ्यो।जसरी पुर्णिमाको रातमा धर्ति झलमल्ल हुन्छ,त्यस्तै झलमल्ल देखिन्थ्यो त्यहाँको वातावरण ।मलाई त्यहाँ जानुको कारण सोधियो।

 

मैले कारण यसरी बताएँ।

“मेरो जन्म सँगै मृत्यु जन्मिएको थियो।मृत्यु मैले नै लिएर आएको थिएँ तर मेरो अस्तित्वको आयु निर्धारण गर्ने हक मलाई थिएन।मैले प्रकृतिको नियम तोडेर आफ्नो जीवनको आयु निर्धारण गरेको हुँ।शारीरिक रुपले मात्र नभई मानसिक रुपमा समेत घिस्रिएर बाँचिरहेकाहरुलाई यो एउटा अप्रिय,असम्भव र घमन्डी स्वभावले गराएको दुःखद घटना लाग्यो तर मैले जिउने रहर पूरा गरेर यहाँ आएको हुँ।तसर्थ, म यहाँ आउनुको एउटै र महत्वपूर्ण कारण अरु केही नभई अँध्यारो र उज्यालो बाहेक पृथ्वीपुरमा अरु केही नहुनु र मृत्युपुर अँध्यारो र उज्यालो रहित हुनु नै हो।मृत्युपुरको यहि विशेषताले मलाई आकर्षण गरेको हो।यहाँको विशेष प्रकारको ज्योतिले मलाई यहाँ सम्म ल्याएको हो”

 

तालीको गड्गडाहट सुनियो तर ताली बज्यो पो कसरी?खै कहाँ छन् ती ताली बजाउने हत्केला?म अवाक् भएको देखेर ती उदघोषिका बोलिन्।“अचम्मित नहुनुस् महाशय। मृत्युपुरमा सबै असम्भवहरु सम्भव छन्।उनि बोल्दै गईन्।

म लगाएत यहाँ उपस्थित सम्पुर्ण महानुभावहरु र तपाईमा केही भिन्नता पनि त छैन।तपाईले हामी सम्पूर्णलाई बिना शरीरको टाउको मात्र देखिरहनुभएको छ।उसैगरी हामी सबैले तपाईलाई देखिरहेका छौँ।यहाँ एकअर्कालाई हेर्ने नजर समान छ। सिवाय आफूलाई।यसो हुनुको प्रमुख कारण हाम्रो नग्नतालाई मृत्युपुरमा अझै नजिकबाट नियाल्नु हो।आफ्नो नग्नतालाई  उल्लासमय बनाउनु हो।यसलाई तपाइँ आफ्नो जन्मको अवस्थालाई बाहिरी आवरण र आभूषणले ढाकेर सामाजिक हुनुको पाखण्डीपन लाई परास्त पार्ने कदमको रुपमा लिन सक्नुहुन्छ।

तथापी प्रारम्भिक चरणमा तपाईंको नग्नताले मलाई मानसिक रुपमा उद्धत र उत्तेजित नगरोस् साथै मेरो नग्नताले तपाईंमा सोही भावना जागृत नहोस् साथै एकअर्काको शारीरिक बनावटको उपहास पनि नहोस् र अपेक्षा पनि नहोस् भनेरै मृत्युपुरले यो विधान राखेको हो।

तर जब हामी स्वयं आफ्नो नग्नतालाई स्विकार्न सक्षम हुन्छौँ त्यसपश्चात पूर्ण शरीर पनि देख्न सकिने छ।तत्कालका लागि आफ्नो शरीरलाई नियाल्नुस्।आफ्ना अंगहरु नियाल्नुस्।छोप्ने र देखाउने जस्तो केहिपनि छैन हाम्रो शरीरमा।तसर्थ आफुलाई यसरी तयार गर्नुस कि तपाईंको नग्नतालाई भद्दाको रुपमा नहेरियोस्।पृथ्वीपुरमा त्यस्तो मौका कहाँ थियो र?हामीमध्ये कतिले त आफ्नो पूर्ण कद हेरेको पनि थिएनौं होला।तर यहाँ त्यो अवस्था छैन।यहाँ निवस्त्र विचरण गर्ने अवसर र अधिकार पूर्ण रुपमा छ।”

 

उनि मुस्कुराईन।मलाई बल्ल चेत आयो कि म निवस्त्र छु।लाग्यो उनले मेरा अङ्ग-अङ्ग नियालिरहेकी छिन्।मेरो निधार तात्यो।कानका लोती राता भए।मुख र तालु सुके जस्ता भए, केही बोल्न खोज्दै थिएँ आवाज निस्किएन।

मेरो अवस्था सायद उनले बुझिन् र भनीन् “ नआत्तिनुस हामी सबैले यतिबेला तपाईँको शिर मात्रै देख्न सक्छौँ।जब तपाईँ आफ्नो नग्नता स्विकार्नु हुन्छ तब मात्र तपाईँको पूर्ण शरीर देखिईने छ।” म ढुक्क भएँ।उनले सभा विसर्जनको घोषणा गरीन् र ती सम्पूर्ण टाउकाहरु आआफ्नो बाटो लागे।

दिनहरु बित्दै गए।म त्यहाँको वातावरण,यथार्थता र आफ्नो नयाँ जीवनसँग अभ्यस्त हुँदै गएँ।मानिसले मृत्यु रोज्नुको कारण बुझ्दै गएँ।अनौठो त के थियो भने पृथ्वीपुरमा जो व्यक्ति जुन उमेरमा आफ्नो आयुको बिट मार्छ सोहि उमेर बाट नै मृत्युपुरमा नयाँ जन्म हुने प्रावधान थियो।फेरि मर्नु पर्ने बाध्यता थिएन।त्यसैले त्यहाँ युवा थिए,प्रौढ थिए वृद्ध थिए,महिला थिए,पुरुष थिए तर सबैमा एउटै गुण साझा थियो।त्यो हो शालीनता।

बाँचुन्जेल मानिस जति लोभ,घमण्ड र क्रोधले भरिए पनि मृत्युपश्चात् शालीनताको बाटो नै उसको रोजाई हुने रहेछ।सरलता र शिष्टता नै उसको अन्तिम लक्ष हुने प्रमाण मैले प्रत्यक्ष देखेँ।

 

सबैका आ-आफ्ना कथा थिए।सबै कुनै न कुनै परिस्थितिबाट प्रताडित भएरै मृत्युको त्यो बाटो रोजेको जिकिर गर्दथे।कसैलाई समाजले वर्ग र वर्णका आधारमा अपहेलना गरेको थियो।कसैलाई नसा र कुलतले बिगारेको थियो|कोही प्रेमका खाडलमा भासिएका थिए र कोही धोका र बदलाको शिकार भएका थिए।

 

म जस्तै ति सबैमा आफ्नो जन्मसिद्ध अधिकार प्रयोग गर्ने हिम्मत थियो।जानेर होस् या अन्जानमा सम्झौताले बाँधिएर परिस्थितिजन्य परिणामलाई स्वीकार्दै हरबखत अस्तित्व तन्काउने कुप्रयास र कुथिति बाट माथि उठेर त्यहाँ पुग्न सफल भएका थिए।त्यो साहस जो बाँच्न भन्दा धेरै आफुलाई मार्नलाई चाहिन्छ,जुटाउन सफल भएका थिए।

 

एकदिन मैले लगभग सत्तरीका वृद्धलाई सोधेँ, “यो उमेर सम्म जीवन देखेपछि तपाईंलाई के कुराले अब रहनुको औचित्य छैन जस्तो लाग्यो?तपाईं यसैपनि केही वर्षमा प्राकृतिक रुपमै मृत्युवरण गर्न सक्नुहुन्थ्यो।”

उनले हाँस्दै भने “हेर्नुस् यो जीवनको अन्त्य कहाँ छ र यसको पूर्णबिराम कहिले लाग्छ त्यो पुर्व निर्धारित थियो भने म यहाँ नहुँदो हुँ।म पार्किन्सन्स् भन्ने रोगले ग्रसित थिएँ।सन्तानका आआफ्ना व्यस्तता थियो।त्यसमाथि बुढा बा आमालाई सन्तानले समय दिन सक्दैनन्।श्रीमतीले चार वर्ष रुँगेर बसिन्।दिन प्रतिदिन म कुँजो बन्दै गईरहेको थिएँ।कुर्ने कामले धेरै थकाउने रहेछ।उनलाई पनी थकाई लाग्यो।एकरात चिर निन्द्रामा गइन् र ब्युँझिनन्।त्यसपछीका मेरा दिन झन् जटिल बन्न थाले। मेरो स्याहार कसले गरोस्।छोरा बुहारीलाई दुख दिन मनले मानेन।छोरी आएर समय समयमा अक्सिजनको सिलिन्डर फेरीदिन्थी।एकदिन उस्लाई पनि नआऊ भनेँ ।छ आठ महिनाका लागि थुपारेका ओखतिका चक्कीहरु एकैरातमा निलेर सकेँ।कतिबेला आफु सकिएछु थाहा छैन।ब्युँझिदा त्यही स्वागत मैदानमा थिएँ जहाँ तपाइँलाई पनि स्वागत गरिएको थियो।म त्यहि भिंडमा थिएँ।मैले आफूलाई दुःख मुक्त गराएँ।आफ्नालाई दुःख मुक्त गराएँ।दुखले उमेर हेर्दैन बाबु।यहाँ आएपछि खुशी बाहेक केही देख्नु परेको छैन।”

 

बुढा फेरि हाँसे।सबैले आफ्नै खुशी मात्र कहाँ हेर्दा रहेछन् र?ति बुढाले सन्तानको सुख हेरेछन् र आफ्नो अन्त्य गरेछन्।मृत्युपुरमा समयको अर्थ छैन।अर्थात् यहाँ समय हेरेर गर्नु पर्ने काम छैन।जसरि जङ्गलमा निर्वाध घुमिरहने जनावर लाई समयको घेरामा बाँधिन जरुरि छैन,मृत्युपुरका मानिस हरुलाई पनि समयसिमामा बाँधिन जरुरि छैन।यहाँ सदासर्वदा एकनासको वातावरण हुन्छ जो आफु अनुकुल भएको भान हुन्छ।त्यसैले यहाँको बसाईमा मनलाई शान्ति मिल्छ।प्रसन्नता मिल्छ।आराम मिल्छ।

 

मानिसमा दम्भ र देखावटी छैन।रिस र राग छैन।तथाकथित् विकास र विलासिताको गन्ध छैन।सपना देख्नु जरुरी छैन।यहाँ जीवन फगत चलिरहेछ मात्र एउटा समभावमा र त्यो हो मुस्कान।

मलाई लाग्यो मुस्कान नै सम्पूर्ण आवश्यकताको परिपूर्ति हो।मुस्कान सम्पूर्ण पीडाको मलम हो।भोकको भोजन हो।प्यास को तृप्तता हो।थकानको सुस्केरा हो,विश्राम हो।मुस्कान अपरिचित हरुलाई आपसमा बाँध्न सक्ने धागो हो।मुस्कान आपसमा हातेमालो गर्न सघाउने सारथी हो ।मुस्कानमा खुशी बाँड्न सक्ने तागत छ।मृत्युपुरले मलाई सिकाएको मुस्कुराउन हो।दिल खोलेर मुस्कुराउन।मेरो मुस्कानले यहाँ मजस्ता लाखौंले हाँस्न सिकेका छन्।

 

अर्को एक दिन मैले समुद्र किनारमा ती सभामा बोल्ने उदघोषिकालाई  सोधेको थिएँ “मृत्युपुरमा किन कसैको नाम वा परिचय नभएको?”उनले भनेकी थिइन् “कसैको नाम र परिचय किटान गर्नु भनेको उसको अस्तित्वको सिमान्कन गर्नु हो।एउटा घेरामा राख्नु हो।प्रकृति भनेको के के मात्र हैन सोच्नुस् त?उनले मलाई सोच्न लगाएकी थिइन्।लगत्तै मैले सोचेको थिएँ र जवाफ पाएको थिएँ।म त प्रकृति पो रहेछु,उनी प्रकृति रहिछिन,ती वृद्ध प्रकृति रहेछन्।मृत्युपुरका लाखौं अरु प्रकृति रहेछन्।हाम्रो परिचय प्रकृति रहेछ।

 

पृथ्वीपुरमा इर्स्या,क्रोध,विलासिता,धोकाधडी,अमानवीयता,यौन,प्रताडन,ठगी,जस्ता अनेक अपराधमा आफुलाई ठालु सम्झने हरेक मानव यो प्रकृतिबाट अनन्तको दुरीमा छन्।र यो प्रकृति भनेको अन्तिम सुख हो भनेर बुझ्न मृत्युपुरमा आफुलाई समाहित गराउन जरुरि छ।

मलाई यहाँ  हुनुको औचित्य स्वभाविक लाग्दै थियो।जीवनले सरलता पाएको थियो।दौडधुप बाट मुक्ति थियो।म भित्रको अनावस्यक ईख  र अहमता स्वत; हराउदै गईरहेको थियो।

मलाई महसुश हुँदै थियो कि मैले गल्ति गरेको थिईन।म कम्तिमा बाँच्न थालेको थिएँ।यो कस्तो भ्रम,म मृत्यु पछि जीउने कला सिक्न थालेको थिएँ।म मा गुनासा बाँकी थिएनन्।कोही कसैप्रति चित्त दुखाई थिएन।म नतमस्तक हुँदै थिएँ मृत्युपुरका हर व्यक्ति परिवेश, घटना र समग्र जीवन व्यतिततामा।

 

दिनानुदिन मृत्युपुरमा जानेहरुको सङ्ख्या बढ्दो थियो।हुनत,पृथ्वीपुरमा अपराध र निरासाले उग्र रुप लिइरहेको हुँदो हो।घरपरिवार,कार्यस्थल,स्कुल कलेज,मन्दिर मस्जिद,चौर चौतारी,चिया दोकान,दारु अड्डा लगायत कहाँ कहाँ थिएन र ति अपराध?

अपराध आफैँसँको।अपराध आफ्नासँगको।लोग्ने स्वास्नीको।बाउ छोराको।गुरु शिष्यको।आस्तिक र नास्तिक बीचको।धनि र गरिबको।मालिक र नोकरको।जात र पानिको।जताततै हावी हुँदो हो त्यस्ता अपराधहरु।आपसी मनमुटाव,असमझदारीले पकड जमाएको हुँदो हो।सपना र चाहनाहरु भत्किदै गएका हुँदा हुन्।दोष दोषारोपण हुँदो हो।जालझेल र धोका हुँदो हो।नहुनु पर्ने लगभग सबै हुँदो हो पृथ्वीपुरमा जसले मानिसलाई मृत्यु रोज्न उद्दत गराउदै हुँदो हो।जसको परिणाम स्वरुप म स्वयं त्यहाँ थिएँ।म जस्ता लाखौँ थिए।

 

म यसै टहल्दै थिएँ पहिले नदेखिएको मेरै उमेरको ठिटो जसका गाला सुकेका थिए-देखेँ।

हे! बोलाएँ।उ म भएतिर आयो।नयाँ नयाँ जस्तो छ नि -सोधेँ।एस्,फिउ डेज ब्याक- भन्यो।हाउ अबाउट यु?सोध्यो।खै!दिन गनेको छैन।यहाँ दिनगन्ती केलाई गर्नु?यसैपनि अब मर्नु छैन।कि कसो?-भनेँ। उ हाँस्यो। “मलाई थाहा थिएन मान्छे मरे पछि यहाँ आउछ।दिस ईज अमेजिङ्ग प्लेस”।उ चारैतिर आँखा दौडाउदै बोल्यो।

सबै मर्नेहरु यहाँ आउन पाउदैनन्।तिमी हामी जसरी मरेका हरुका लागि  मात्र हो मृत्युपुर।छेवैको ढुंगामा बस्दै भनेँ।

“ओह!म आएकै दिन कसैले भन्नु भा’थ्यो मैले त बिर्सिएछु।तर मलाई लाग्छ स्वर्ग पनि  यस्तै सुन्दर हुन्छ होला।बिउटिफुल एंड पिसफुल” उ अझै तारिफ गर्न खोज्दै थियो मृत्युपुरको।

“यदी कतै स्वर्ग छ भने सायद!”मैले स्वर्गको अस्तित्वमा शंका गर्दै भनेँ।

 

त्यहिदिन उसले भनेको थियो।परिवार र उसको निजि जीवनले आपसमा साझेदारी गर्न सकेका थिएनन्।उसलाई घमण्ड थियो पुर्खाले थुपारिदिएको सम्पतिमा।उसका मातापितालाई घमण्ड थियो उ हुनुमा।एउटा कालखण्ड उ र उसका मातापिताले घमण्डको खोल ओडेर बितायो।तर समय बित्दै जाँदा अभिभावकत्वले पहिला कहिल्यै नलिएको ठाउँ लिन थाल्यो।

 

सन्तानलाई कुन हदसम्म स्वतन्त्रता दिने त्यो सिक्न ढिला गरे उसका मातापिताले।तर जब त्यो बोध भयो कि दौलत र लाड प्यारले आफ्नो छोरो आफ्नै नियन्त्रण बाहिर जान थाल्यो निकै अबेर भईसकेको थियो।उ नशा र कुलतको दलदलमा फसिसकेको थियो।उसका मातापितालाई चेत आयो कि उसलाई त्यो दलदल बाट निकाल्नै पर्छ।त्यो प्रयासलाई उसले आफ्नो अधिकार प्रतिको प्रहार सम्झियो र उसलाई आफ्नै घरसमेत जेल लाग्न थाल्यो।

 

पारिवारिक कलह बिस्तारै झाँगिएर मुलढोका हुँदै बाहिर निस्कियो।र छरपस्ट छरियो बजार भरी।छोरो सम्हाल्न सकेनन् उसका मातापिताले।उसलाई लाग्यो उ माथि आफ्नै मातापिताबाट घोर अन्याय र अत्याचार हुँदै छ।त्यसैलाई अन्त्य गर्न उसले आफ्नै कोठामा पासो लगायो र मृत्युपुरले उसलाई सहर्ष स्वागत गर्यो।

 

उसको त्यो कथा मेरो मानसपटलमा निकै दिन सम्म दाग बनेर बसिरह्यो।म चाहन्न थिएँ सम्झिन।मेटाउन चाहन्थेँ उसका ति कथा किनकि उसको कथामा मलाई समवेदना थिएन।मलाई  दुख पनि लागेन।उसको कथाले मेरो मनमा उ प्रति एक निमेषका लागि  पनि दया आएन।बरु मलाई लाग्यो उसले मृत्युको बाटो त रोज्यो तर त्यसले खास उपलब्धि भएन।कम्तिमा उसको मृत्युले उसलाई र उसका मातापितालाई न्याय गरेको मैले महशुस गरिन।

 

मैले बुझेँ कतिपय मृत्युहरुको अर्थहीन जन्म हुने रहेछ।उसको मृत्यु त झन् आवेग,आवेस,संसारिक सुख,धन दौलत र उसका अभिभावकले ग्रहण गर्नुपर्ने अभिभावकत्व समयमा नगर्नुको दुस्परिणामले भएको थियो।कस्तो निरर्थक मृत्यु।

दौलतलाई केन्द्र बनाएर बाँच्न चाहनेहरु र सम्पतिको घमण्डमा बाँचीरहेकाहरुको सपाट तस्विर मेरो आँखामा नाचेको थियो।धनले सुख र खुसीको प्रतिनिधित्व गर्न सक्दैन र गर्दैन भन्ने मेरो तर्क उसलाई भेटे पछी झन् बलियो भएको थियो।

अर्को एक बिहान म तलाउको डिलमा बसेर माछा हेरिरहेको थिएँ।खुट्टा तलाउमा डुबेका थिए।माछाहरु आएर खुट्टामा झुम्मिन्थे।मलाई मिठो लाग्थ्यो त्यो स्पर्श।मृत्युपुर आएयता स्पर्शसुखले म वन्चित थिएँ।यौन र मैथुनले ठाउँ पाएको थिएन।

यसैपनि पृथ्वीपुरको यौनाभ्यासलाई मृत्युपूरले खास निको मान्दैनथ्यो।त्यसका निकै गहकिला र भिन्न तर्क थिए।त्यसमध्ये पहिलो र खास तर्क “यौनको प्राकृतिक महत्व र सुन्दरतालाई मानिसले स्वार्थमा प्रयोग गर्दै अप्रतक्ष रुपमा त्यो यौन आफैँ अपराधमा परिणत हुनु” थियो।कहिँ न कहिँ यो व्यवहारिक तर्क पनि थियो।तर यो विषयमा कतै कुरा उठ्दैनथ्यो।

कहिँ कतै जनावरहरुको सम्भोग क्रिडा देखियो भने सबैका पाईला छिटो चल्थ्यो र लाखा पाखा लागि हाल्थे।त्यसैले यो विषयमा मैले कसैसँग बहस गर्ने मौका पाएको थिईन।

 

संयोग बस उदघोषिका म भए तिरै आउदै गरेको देखेँ।मेरो नजिकै बस्दै ‘के हेर्दै हुनुहुन्थ्यो यहाँ’ सोधीन्।

“तपाईंको प्रतिक्षामा थिएँ” ठट्टा भावमा भनेँ।मुस्कुराउदै मलाई हेरिन। 

‘प्रतिक्षा गर्नुको कारण सोधेँ भनेँ?मेरा आँखामा आँखा गाडेर प्रस्न तेर्स्याइन।म फसादमा परें।के भन्नु अब।माछाले जब खुट्टा टोक्छ आनन्द लाग्छ त्यहि भएर’ मुखबाट निस्किएछ।सुनेर उनि खितकिताइन।

“आइ नो द्याट।मलाई पनि मज्जा लाग्छ तर कहिलेकाही साँचै टोकिदिन्छ त्यहिभएर डर पनि लाग्छ’ खुसि हुँदै आफ्नो अनुभव साटिन्।

 

म पहिलो पटक उनको यत्ति नजिक बसेको थिएँ।अदृस्य शरीर महसुश गर्न सक्थें।सायद उनले पनि मेरो शरीर महसुश गरिन ।

एकाएक म भित्रको पुरुष जाग्न थाल्यो।पृथ्वीपुरमा हुँदा समय समयमा निर्वाध छताछुल्ल भएर पोखिएको आफ्नो पुरुषत्व एक एक गर्दै मस्तिस्कमा घुम्न थाले।प्रकृतिले स्त्रीलाई दिएको यो शक्ति,जो सजिलै कुनै पनि मर्दलाई पगाल्न सक्छ-सँग सधै मलाई इर्स्या थियो।

किन कोही जवान युवतिले मलाई सेक्स अपीलिंग गरिरहेको भान हुन्छ?किन म आमन्त्रित महसुश गर्छु?के मलाई मात्रै यस्तो हुन्छ वा सबै पुरुषको साझा अनुभव हो यो?कि मेरो भ्रम मात्रै हो कि मलाई त्यस्तो लाग्छ?

 

के यस्तो हुन सक्थ्यो जे म महसुस गर्थेँ,त्यो कुनै सम्भावित घटनाको पुर्व तयारी हो,र भाग्यवस त्यो घटना नघटेको होस्?

के यो हुन सक्थ्यो मैले देखेको म भित्रको पुरुषले राक्षेस रुपधारण गरेर नारी अस्मिताको बध गर्न सक्थ्यो?

यस्ता प्रस्न बारम्बार पृथ्वीपुरमा पनि मेरो मगजमा नआएका हैनन्।मृत्युपुरमा पनि म सोही जिज्ञासा बोकेर बसेको थिएँ।

 

जवाफ खोज्दै जाने ठाउँ थिएन।र आफैलाई तसल्ली दिँदै थिएँ कि यो प्राकृतिक नै हो। धेरै नसोच्नु नै बेहत्तर होला।मैले मानिदिए पनि मेरो शरीरले प्रतिक्रिया जनाई हाल्थ्यो।आफ्नो भोक देखाई हाल्थ्यो।त्यस्तो भोक जो जति भोकायो,भोजन प्राप्तिपछि त्यो भोकको स्तर दुई गुणा बढ्न सक्थ्यो।

मेरो अनुभवले पनि त यहि बताउथ्यो कि भोक जति मिठो हुन्छ,भोजन उति मिठो र भोजन जति मिठो हुन्छ,उही भोजनको लालचले फेरि भोकको मिठास दूईगुणा भईदिन्छ।यदी त्यस्तो नहुँदो हो त मेरो नजिक उनि आएर बस्नासाथ म मा वासनाको  त्यो तलतलता नहुँदो हो।

 

मलाई बस्नु भन्दा हिड्दै गफिनु ठिक लाग्यो।उनले पनि सहमति जनाईन।हामी तलाउको किनारै किनार हुँदै गफिदै निकै पर पुग्यौँ।

अगाडीको दृश्यले हाम्रा पाईला टक्क रोकिए।हामी बीचमा थोरै असहजता र थोरै लज्जाभावले ठाउँ लियो।

हाम्रो अगाडी मृग जोडी रासलिलामा तल्लिन थियो।मैले कयौँ पटक देखेको थिएँ तर एक्लै हुँदा देख्नु र एउटी आफ्नै उमेरकी तरुनीको साथ हुँदा देख्नु स्वभाविक रुपमा आकाश पातालको भिन्नता हुने भईहाल्यो।

मलाई लाग्यो उनि अब लजाएर फुत्त भाग्ने छिन्,तर त्यस्तो भएन।उनि त रमाउदै त्यो दृश्यपान गर्न लागिन्।मलाई चुप रहन ईशारा गर्दै उनि त्यहिँ बसिन्।म अवाक् भएँ।कस्ती लाज नभाकी।मनले भन्यो।एकैछिनमा मृगहरु बुर्कुसी मार्दै दौडिए।मैले चुपचाप उनलाई हेरी रहेँ।

 

उनको अनुहारमा उज्यालो थपिएको थियो।बेग्लै सन्तुष्टि झल्केको थियो उनको हेराईमा।

फर्किदै गर्दा उनले भनिन् “यो प्रकृतिले सबैलाई समान हक दिएको छ।प्रेम गर्ने हक सबै प्राणीलाई छ।सहवास र संसर्गको हक सबैमा छ तर हामीलाई यत्ति त ज्ञान हुनु जरुरि छ कि हाम्रो काम त निकै पर को कुरा हाम्रो सोचले मात्रै पनि कसैको हानी त गर्दै छैनौँ?

हाम्रो कसैप्रतिको कुविचार र कुआशक्तताले हामी कसैको जीवन माथि खेलवाड त गर्दै छैनौँ?

अझ हाम्रो समाजमा हामीले देखेको यौन प्रतिको ‘अतिज्ञान र अज्ञान’ले त छोरीमान्छेलाई त्यो मृग जसरी दौडिन, उफ्रिन,घुम्न,डुल्न ढुक्क भएर बाहिर निस्कन समेत पूर्णत; बन्देज गरेको छ।

 

उनि अझै बोल्दै गईन्।

हामीले बुझेको सेक्स सांसारिक सुख सँग जोडिएको छ तर भर्खर हामीले जे देख्यौँ,रियल सेक्स त्यो हो।

त्यहाँ जबर्जस्ती थिएन,पीडा थिएन,रुवाई र गुहार थिएन।मुख्य कुरा त त्यो मृगले ज्यान फाल्न परेन।तिनीहरुले सुख साटे अनि फर्किए दिनचर्यामा।” उनी बोल्दा बोल्दै भावुक भईन।

 

मैले त्यो परिस्थितिलाई एकै झड्कामा बुझ्न नसकेकाले,उनले बोलेका शब्दमा लुकेका पीडा र विगतको यथार्थतालाई समभाव र सहानुभूति दर्साउन सकिन।उनको अबरुद्ध भएको गलाबाट प्रसारित भएको कारुणिकताको घनत्व नाप्न सकिन।

 

केहिदिन पछि जब मैले त्यो दिनको घटनालाई पुन आफुमा जगाएँ मलाई कहाली लाग्यो।एउटा कालो सत्य छर्लङ्ग उदाङ्गियो।

एकैछिनका लागि मलाई मेरो तथाकथित् पुरुषत्व माथि घिन भाव आयो।मेरो तिघ्रा बीच उम्रिएको त्यो अंग मलाई घाँडो लाग्यो।मलाई भारी लाग्यो जो मलाई जमिन तर्फ खिची रहेछ र म केहि क्षणमा गाडिने वाला छु।मलाई गर्व लाग्नेगरि पोखिएका ति रातहरु र म सँगै पोखिएका स्त्री प्रति खेद भाव आयो।

 

कतै अन्जानमै पृथ्वीपुरमा कोहि बाध्यात्मक स्थितिले म सम्म आइपुगेको त थिएन?के अप्रतक्ष रुपमा मैले धोकासहित आफु तर्फ आकर्षित गराएको त थिईन?प्रस्नहरु मस्तिस्क र मनमुटुको केन्द्र भएर मडारिईरह्यो।

त्यतिबेला उनि मेरो साथ थिईनन्।मलाई उनको मृत्युको रहस्य बुझ्न समय लागेकोमा ग्लानि भयो।त्यसपछि निकै दिन खास रहेनन्।सबै उही थियो।मेरो मन उही थिएन।उनलाई खोज्दै म भौतारिरहें तर भेट्न असमर्थ भएँ।

 

बलात्कार र त्यसपछिको स्वअस्तित्व लाई आत्मसम्मानका साथ स्विकार्न,हुनसक्थ्यो उनमा हिम्मत नरहेकाले मृत्युपुरको बाटो रोजिकी हुन्।त्यसपछिका कयौं दिनसम्म मृत्युपुरमा मैले उज्यालो देखिन।सुन्दर मृत्युपुरलाई हुस्सुले खर्ल्लप छोपेको जस्तै लाग्यो।कतै थुचुक्क बसेँ भने उठ्न मन लाग्दैनथ्यो।हिडिरहेको छु भने कतै अडिन मन हुदैनथ्यो।मुर्दा घर जत्तिकै सन्नाटा र विस्मातले भरिएको थियो मेरो मन।म मृत्युपुरमा पहिला नभएको तनावबाट गुज्रिदै थिएँ।

 

“जनावर सँग रत्तिनु भएछ हगि?”तिनै पार्किन्सन्सका बिरामी बुढाले हाँस्दै सोधे। म खरायोलाई तरुल देखाउदै जिस्काउदै थिएँ।जनावर त हामी थियौँ।यहाँ त यो खरायो,उ पर चरिरहेका हरिण,उडिरहेको पुतली हामी सबै एकै हौँ।प्रकृति हौँ हामी।मैले भनेँ।

 

‘मानवले मपाईत्वको पराकाष्ठा नाघेको महसुश भएन र तपाईंलाई।’ -सोधेँ ।

“कसरी नहोस्।अझ मैले त दासत्वको भुङ्ग्रोमा आफुलाई दशकौँ पगालेको छु।एउटा मान्छेले मान्छे माथि गर्न सक्ने हद सम्मको क्रुरता लाई भोगेको छु।”

बुढा केही दुखि देखिए।आफ्नो बाल्यकाल र जवानीलाई शोषकको नाममा बिताउन पर्नाका अफसोसका धर्काहरु उनका अनुहारमा गाढा गरि कोरिए।उनले भनेका थिए “मेरो जमानामा त्यहि सहि र त्यहि सत्य थियो।त्यहि शक्ति थियो र त्यहि सर्वस्व पनि।कालान्तरमा ति सबैको परिचय बद्लियो।हामी बद्लियौ तर अर्को यस्तो समय आयो जो बदलिने छैन।

त्यो  समय अब आजको भन्दा क्रुर निस्कने छ।भोलिको पृथ्वीपुर आजको पृथ्वीपुर भन्दापनि निर्दयी हुने छ र एकदिन मानिसकै कारणले पृथ्वीपुरको अस्तित्व समाप्त हुने छ।”मैले आंशिक समर्थनका रुपमा टाउको हल्लाएँ।सँगैको खरायो दगुरेर पर पुग्यो।

 

“आफुलाई सर्वश्रेस्ठ मान्ने मान्छेलाई सर्वश्रेस्ठताको गरिमा कसले दियो?मान्छे खुद आफैँले हैन र?के मान्छेभन्दा बाहेक सजिव वा निर्जीव कसैले पनि त्यो मानिदिएको छ र?मान्छेले आफु फगत प्रकृतिको सानो हिस्सा भएको सत्य भुले पनि प्रकृतिले त्यो कदापी बिर्सने छैन।

म चाहन्थेँ आफुलाई सर्वज्ञाता मान्ने मानव जातले चराले बनाएझैँ गुँड बनाएर देखाओस्।गौंथलीलेझैँ घर बनाएर देखाओस्।चितुवाझैँ दौडेर देखाओस्।गैँडा र हात्तीझैँ शारीरिक बनावटलाई शालीनताले सजाओस्।के सक्ला त मान्छेले त्यो गर्न?सक्दैन भने उ के आधारमा आफुलाई सर्वश्रेष्ठ,सर्वज्ञाता र सर्वशक्तिमानको उपमा दिन्छ?एउटा सानो कमिलाले चिल्दा समेत पीडा महसुश गर्ने मनुष्य  के आधारमा आफुलाई सर्वशक्तिमान ठान्दछ?यो भन्दा ठुलो भ्रम मानव सभ्यतामा अरु के हुन सक्ला?”

 

उनि बोल्दै गए।मैले सुनिरहें।उनका हरेक कुराले सोचमग्न बनाइदियो।हामी कति ठुलो भ्रममा बाँचेका रहेछौँ।मृत्युपछि थाहा लाग्यो।तर यो अन्त्यमा प्राप्त ज्ञानको के अर्थ रहन्थ्यो?

 

उदघोषिकाको  कुनै अत्तोपत्तो थिएन।उनि किन यसरि अलप भईन मैले जान्न नचाहेको पनि त हैन।तर कसै गरि त्यो रहस्यको भेउ सम्म पाउन सकिन।दिनहरु बित्नु नै थियो,बित्दै थिए।कतिपय नयाँ टाउका भेटिन्थे।धेरैजसो पुरानाहरु नै हुन्थे।

नयाँहरुलाई भेट्दा पृथ्वीपुरको ताजा जानकारी पाइन्थ्यो।तर ति नयाँ टाउकाहरुको खास कथा केहि पनि हुदैनथ्यो।

पुरानाहरुको त यसैपनि जीवन लिला नै सुनी सकेको थिएँ।मलाई बिस्तारै यति सुन्दर,शान्त,शितल र मनमोहक मृत्युपुरमा समय कटाउन मुस्किल हुन थाल्यो।

 

जीवन भनेको दुख र सुख जो मनको भ्रम पनि हो-लाई अनेक आकार र प्रकारका धागामा उनेर ज्ञानले बुट्टा भरिदिनु नै हो रहेछ।आजको दिनमा पनि मानिस अमर रहने सपना देख्दै छ।अमर शब्दको अर्थ मर्दै नमर्नु भनेर लगाइन्छ।

तर मेरो अनुभवले भन्छ “मर्नुको दुख जब रहन्न,मृत्युको भय जब रहन्न र सिमितताले नै सहि आफ्नो जन्मलाई गुणस्तरीय बनाउन सक्नु अमर रहनु हो।” म भित्र जागृत यो अनौठो भावना उदघोषिकालाई सुनाउन चाहन्थेँ।कम्तिमा उनि म किन यस्तो वेचैन र छट्पटीमा छु बुझाउन सक्थिन।तर उनलाई भेट्न असम्भव लाग्दै थियो।

 

केही दिनदेखि म भित्रको ‘म’ लाई कसैले पुकारिरहेको आभास हुँदै थियो।मेरा कानको छेवैबाट बतास झैँ तेज दौडन्थ्यो त्यो आवाज तर म ठ्याक्कै के थियो सुन्न सक्दिनथेँ।मनभित्र मृत्युपुर आएपछि कहिल्यै नभएको एक प्रकारको हतारो बढ्दै थियो।

कसैसँग पनि नजिक हुन मन लागेन।मुटुको धड्कन अत्याधिक बढेको भान हुँदै थियो।मलाई त्यहि भड्किएको मनले खै कता कता पुरायो।म आफै भित्र हराएँ।एउटा रुख मुनि रहेको ठुलो ढुँगा माथि पसारिएँ।अकस्मात् मलाई केहिले घोचेको महसुश भयो।मेरो नाडीमा केही सलबलाएको देखेँ।कानमा मौरी भुनभुनाएझैँ अस्पस्ट आवाज आउन छोडेको थिएन।त्यो आवाज घरि घरि चर्को हुन्थ्यो।घरि बोधो हुन्थ्यो तर शान्त कुनैबेला पनि थिएन।

 

मृत्युपुरमा कहिल्यै नभएको घोचाई र ति रहस्यमयी आवाजले मेरो मुटु सुस्तरी तात्दै थियो।हल्का रुपमा रगत सर्दै गरेको आभास भयो।म पल्टीरहन सकिन उठेर लामालामा पाईला गर्दै फगत हिंडीरहें।मेरो हिडाईको गति बढ्दै गयो र त्यो गतिले हावाको रुप लियो।

म दौडिएर जति जति आगाडी पुग्दै गएँ मृत्युपुर पछाडी छुट्दै गयो।त्यो सारा सुन्दरता,त्यो प्रकृतिको अनुपम स्वरुप ति जनावर,ति पन्क्षि,ति तलाउ र नदि,त्यो जंगल र त्यहाँका फूल साथै ति पार्किन्सन्स्का रोगी बुढा,त्यो निअर्थ आफुलाई मारेको केटो,ति मृग र ति खरायोहरु र उनि जो एकपटक हराएपछी फेरि देखा परिनन्,सबै पछाडी छुटे।

 

त्यो उज्यालो र अँध्यारो भन्दा परको अलग ज्योतिले भरिएको मृत्युपुर बाट म यत्ति वर आईपुगेछु कि त्यहाँ अँध्यारो व्याप्त थियो।कान टट्याउने कोलाहल थियो।अब म ति आवाज स्पस्ट सुन्न सक्थेँ।ति आवाज पिडाका थिए।भोकका थिए।रोगका थिए।इर्स्याका थिए।लालचका थिए।चाप्लुसीका थिए।धोकाका थिए।अफसोसका थिए।प्रायस्चितका थिए।ढोंगका थिए।पाखण्डका थिए।ति आवाज मात्रै थिएनन् ति समग्र पृथ्वीपुरको क्रन्दन थिए जो कुनै न कुनै रुपमा गुन्जिरहेथ्यो।

 

ठिक त्यसैबेला मलाई अर्को घोचाईको महसुश भयो।तत्क्षण मलाई थाहा लाग्यो कि म मृत्युपुर र पृथ्वीपुरको सीमानासम्म आईपुगेछु।मेरा आँखाका ढकनी जब खुले मैले मृत्युपुर त्यागें वा भनौँ मृत्युपुर बाट म बाहिरिएँ।

 

म अस्पतालको आई सी यु मा थिएँ।मेरो वरिपरि निलो मास्क र हरियो कपडामा धेरै मानिस थिए जो मृत्युपुरका थिएनन्।ति बारम्बारका घोचाई नर्सले मलाई दिएका सिरिन्जका घोचाई रहेछन्| उनीहरुको आँखामा म केही सफलताको भाव टल्किरहेको देख्न सक्थेँ।केहीबेरमा ति सबै कोठाबाट बाहिरिए।

 

म किन यहाँ छु सोचमग्न थिएँ।एउटी नर्स भित्र छिरी।उ झ्याल छेउको टेबलमा सिरिन्ज र निडल ठिक गर्दै थिई।मलाई सोध्न मन लाग्यो म कसरि यहाँ आइपुगेँ,तर उसले म तर्फ हेरिन।मेरो टाउकै माथि उँधोमुन्टो लगाएर झुन्डिरहेको स्लाईनको बट्टामा त्यो निडल घुसाईदिई।ठुला साना फोका बन्दै सिरिन्जको फिक्का पहेंलो औषधी स्लाईनसँग घुल्यो।उसले अझै पनि मलाई हेरिन।नहेरेरै बाहिर निस्किई।

 

दुई दिन पछि मलाई आई सी यु बाट वार्डमा लगियो।बेड नं एघार।दश नं बेड खाली थियो।नौ नं बेडमा एउटा बिरामी निदाएको हुनु पर्छ बिना हलचल पल्टिरहेथ्यो।एउटी दुब्ली विधवा आईमाईले त्यो बिरामीलाई उठाईन।केहि खान पनि दिईन।मैले अनुहार देख्न सकिन तर कपाल हेरेर थाहा लाग्यो कोही युवती हो।तिन दिनसम्म मलाई भेट्न कोहीपनि आएन न त मलाई के भएको हो त्यो नै थाहा लाग्यो।म बेडमा पल्टी मात्र रहेँ।

 

आज सिनियर डाक्टर आउने दिन रहेछ।उसले आएर पहिला नौ नं बेडकि युवतीलाई भेट्यो।त्यसपछि मेरो पालो आयो।

उसले मेरो नाडी छाम्यो।आँखा च्यातेर हेर्यो।मुख खोल्न लगायो।जिब्रो निकाल्न लगायो मैले निकालिदिएँ।उ एक शब्दपनि बोलेन।फरक्क फर्किएर बाहिर निस्कियो।

निस्कदै गर्दा डाक्टर भन्दै थियो ‘सुसाइड इज नट अ सोलुसन’ सुन्ना साथ अकस्मात् मेरो शिर बेड नं नौ तिर मोडियो।मैले देखेँ त्यो बेडमा उही उदघोषिका थिईन।उनि मलाई अघि देखी नियाल्दै रहिछन्।म अवाक् भएँ।मैले विस्मयका ठुला ठुला आँखाले उनलाई हेरेँ।उनि मलाई हेर्दै मन्द मन्द मुस्कुराईरहेकी थिइन्। आफु बलात्कृत भएपछि उनले आत्महत्याको प्रयास गरेकी रहिछन्, तर मृत्युले देखेको नदेखेई गर्यो|एकाएक मेरो शरीर काँप्न थाल्यो|आँखा टालिए|सायद मेरो होस हरायो|त्यसपछिका समय मलाई सम्झना छैनन् |

 

मैले कहिल्यै थाहा पाउन सकिन कि म को हुँ।के मैले आत्महत्या गरेकै थिएँ?यदि गरेकै थिएँ भने म कसरी पुन जीवित रहेँ।यदी गरेको थिईंन भने मृत्युपुरको त्यो संसारमा कसरि पुगेँ।त्यसको प्रमाण त उदघोषिकानै थिईन नि।के उनि पनि जब मृत्युपुरबाट एकाएक हराएकी थिइन्,सोही बखत यहाँ पृथ्वीपुरमा जीवित भएकी थिइन्?यदी त्यस्तो हैन भने उनि किन मलाई हेरेर मुस्कुराउदै थिइन्?

 

उक्त घटना घटेको आज पैंतालीस वर्ष पछी पनि म ति यावत उल्झन सुल्झाउने कोसिस गर्दै छु। यतिका वर्ष कसरी के गरेर बिते मलाई याद छैन् |मेरो स्मृतिमा केही छ भने बस सोही मृत्युपुरको बसाई र उदघोषिका छिन् |र मलाई पार्किन्सन्स् ले थलिएको छु भन्ने सम्म थाहा छ।दुई दिन पहिले मात्रै छोरि आएर अक्सिजनको सिलिन्डर फेरिदिएकी थिई।छटपटाहट बढेको छ।वेचैनी बढेको छ|म घर्राभरि भएका औषधिका चक्कीहरुलाई एकनास नियालीरहेको छु।

हजुरबुबा

‘हजुरआमा कहाँ हुनुहुन्छ हजुरबुबा?’ नातिनीले प्रस्न गरी।

विल्कुल अनपेक्षित र असाधारण प्रस्न थियो मेरा लागि।उसको स्वभावत: ऊ जिज्ञासु छे।आठ वर्षकि एउटी बच्चीले आफ्नो आसपास हजुरआमा भनेर सम्बोधन गर्न सकिने व्यक्ति नदेख्दा त्यो प्रस्न गर्नु अस्वभाविक थिएन,भलै म उसको उक्त सवालको जवाफका लागि तयार थिईनँ।त्यसोत,यस्ता प्रस्नहरु नौला हैनन्।हरेक पटकका प्रश्नमा वजनको आभास हुन्छ।शान्त तलाऊमा फूल मात्र खसेपनि तलाऊ चलमलाउँछ।मेरो मन त्यस्तै शान्त रहन प्रयत्नरत रहँदा नातिनीका फूल जस्तै प्रश्नले मनको सोही तलाऊमा हलचल ल्याउँछ।

‘मै त हो नि तिम्रो हजुरआमा!’- उसको टाउको मुसार्दै भनेँ।

“नाइँ तपाई त हजुरबुबा हो,हजुरआमा हैन।हजुरआमा त केटीमान्छे पो हुन्छ।तपाईं केटी मान्छे हो र?”ऊ मेरो काखमा लाडिदै बोलि।

उसका कुरामा बालापन थियो।थियो कटुसत्य पनि।आमा शब्दलाई अन्य कुनै शब्दले परिभाषित गर्न सक्दैन।सकिँदो हो त आमाको महिमा यति वृहत नहुँदो हो।

‘ल हेर म हजुरआमा नभएको भए मेरो कानमा मुन्द्री हुन्थ्यो त?’ मैले आफ्ना दुईओटै कानका मुन्द्री देखाउदै भनेँ।

उसलाई पत्यार लागेन वा भनौँ ऊ मान्न तयार थिईन,कि मुन्द्री झुन्ड्याउनुले मात्र हजुरआमा हुनुको प्रमाण दिन सक्दैन।

‘त्यस्तो भए यो दारी कसरी आयो तपाइँको?’ उसले मेरा दारीलाई कपाल बाटे जस्तै गरि बाट्दै सोधी।

‘यत्ति लामो त मेरो कपाल पनि छैन।’ ऊ आफ्ना कपाल छोटो भएको गुनासो गर्न थाली।

 

केटाकेटीहरुको मानसपटलमा कस्ता कुरा खेल्दा हुन्।भर्खरसम्म हजुरआमाका बारेमा जिज्ञासु भएकी ऊ क्षणभरमै आफ्ना छोटो कपाल हेरेर दुखि भई।

‘तिम्रो कपाल छिट्टै लामो हुन्छ।मेरो भन्दा पनि लामो’ – उसलाई विस्वास दिलाएँ।

‘मेरो पनि दारी आउँछ हो त्यसोभए?’ सोधी।

‘तिम्रो दारी आउँदैन।तिम्रो गालामा बरु फूल फुल्छ।’ उसको गाला मुसार्दै भनेँ।

‘कुन फूल फुल्छ हजुरबुबा?’ ऊ मक्ख पर्दै सोध्छे।

‘मुस्कानको फूल।प्रेमको फूल।करुणाको फूल।सप्पै फूल फुल्छ।जब तिमी ठुली हुन्छौ,जब धेरै पढ्छौ ति फूल आफैँ फुल्न थाल्छन।’ बुझ्यौ?

उसले सबै कुरा बुझिन।बुझ्ने बेला पनि भएको छैन।तर बुझे जस्तो भने गरि।ऊ केही सम्झे जस्तो गरि मेरो काखबाट जुरुक्क उठी।

दगुरेर घरको मुलढोका तर्फ गई।छेउको गमलामा ऊ अल्झीई तर लडिन।गमला ढल्यो।त्यो उठाई।फेरि दगुरेर घरभित्र छिरी।

म तम्बाकु तान्न थालेँ।

 

केहीबेरमा ऊ हातमा एउटा फोटो फ्रेम लिएर म सामु आई।उसैगरी मेरो काखमा बस्दै ‘खै त हजुरआमाको गालामा त फूल नै फुलेको छैन’।ऊ हजुरआमाको तस्बिर सुमसुमाउँदै बोली।

मैले स्पष्ट देखिरहेथेँ उनको गालामा फुलेका हजारौँ फूलहरु।यो बच्चीलाई मैले कसरी बुझाउनु कि सबै कुरा हाम्रा बाहिरी आँखाले देख्न सक्दैनन्।देखेपनि बुझ्न र महसुश गर्न सक्दैनन्।बाहिरी आँखाले नदेखेका कुरा मनको आँखाले हेर्नुपर्छ।मनबाट महसुश गर्नुपर्छ।देख्नु भनेको अनुभूतिको अर्को पाटो हो।के आँखा नहुनेहरुले देख्नुको अर्थ लगाउन नसक्लान र?

‘तिमी सानै छौ नि त त्यसैले तिमीले नदेखेको हो।’यो बाहेक उसलाई भन्नसक्ने म सँग शब्द केहिपनि थिएनन्।

उसलाई आफु सानै भएको विस्वास भयो।थप प्रस्न गरिन।उसैगरी दगुरेर भित्र छिरी।मैले तम्बाकुका धुँवामा आफुलाई उडाईरहेँ।

जीवनसाथी भनेका जीवन रहेसम्म साथ निभाउनेहरुलाई भनिएको होला।

साथ निभाउनका लागि आफ्नो समीप रहनु जरुरी हुँदो हो।नत्र कसरी त्यो सानिध्यता रहँदो होला र।कसरी अन्तर्मनले गर्लम्म बेरेर राख्दो होला र।तर मैले यो कुरालाई भिन्न रुपले सोचेँ।त्यो यसकारण पनि थियो कि म सँग विकल्प बचेको थिएन।विकल्प त मनले चुन्ने हो क्यारे।जब चुन्नका लागि दोस्रो केही बाँकी रहन्न त्यसबखत आगाडी जे छ त्यहि सर्वेसर्वा हुँदो हो।

फेरि मन त कहिले चङ्गा बनिदिन्छ।कहिले ढुँगा बनिदिन्छ।कहिले फूल त कहिले पानी बनिदिन्छ।मन जब पानी बन्छ,बगेर गईदिन्छ भावनाका नदि बनेर अनेक किस्साहरुका महासागरसम्म।किनारमा अनेक सोचहरुले हात हल्लाई रहेको देख्छ।ति सोचले त्यसरी बगेर नजा भनि रहन्छन् तर बिदाईका हात हल्लाउन पनि छाड्दैनन्।मन त पानी नै पो हो कि?

मन त त्यस्तै हुँदो रहेछ।सागरमा पुगेपनि टिकिरहन सक्दैन त्यहाँको रङ्गीन माहोलमा।र किनारलाई सम्झिन्छ।मन फर्किन खोज्छ आफ्नै थाक थलोमा।बगेको मन कसरि फर्कियोस।आखीर पानी बनेर बगेको जो थियो।त्यसपछि वर्षा हुँदो हो।आकाश छोएर मन पुन: यथास्थानमा देखापर्छ।थोपा बनेर।यही चक्रलाई मैले आफ्नो शक्ति हो,आफ्नो चेत हो भनी मानेको हुँ।मनलाई मैले कहिल्यै बाँधिन।किनकि मलाई थाहा छ यो मन जहाँ पुगेपनि फर्किएर आफ्नै गुँडमा आईपुग्छ।त्यसैगरी मैले मेरी जीवनसाथीलाई पनि मसम्म आउँन र मबाट जान कहिल्यै निषेध गरिन।दिनमा घाम बनेर आउँछिन रातमा तारा बनेर आउँछिन।मलाई लाग्दैन उनि मबाट टाढा गईन।म त उनीलाई हमेसा आफ्नै समिप देख्छु।मेरी जीवनसाथीले अदृश्यतामा मेरो साथ निभाएकी छिन।ममा निहित छिन उनि।

 

नातिनीका सवालले मलाई हतास गराउँछ।भर्खरसम्म म उनिसँग गफिदै हुन्छु,फेरि पलभरमै मौनता छाउँछ।उनि आँखाका चेपबाट बग्न खोज्छिन।मेरो बसमा रहदैन आँशुको गति।सायद बग्नु आँशुको नियति होला।बाध्यता होला।

सधैँ देखिरहेको उनको तस्बिर आज झनैनजिकबाट नियालेँ।उही तेज छ मुहारमा।उही मुस्कान।उही निधार।उही नाक।उही आँखा।कसैका आँखा कसरी यती गहिरा हुनसक्छन?ति आँखामा हेरिरहँदा यस्तो लाग्छ अब परेली हल्लिने छन् तर हल्लिदैन।म एकटकले उनका नानीमा हेर्छु ताकी त्यो सरक्क सरेर बाँया चेपमा जाओस् ,जसरी उनि रिसाएको नक्कल गर्दा जाने गर्थ्यो।सर्दैन त्यो नानी पनि।जति हेरेपनि सर्दै सर्दैन।म हेरिरहन्छु उनको तस्बिर त्यस्ता अनेक इच्छा बोकेर।तर आँखा थाक्छन्।आँखा थाक्नु भन्दा पहिला एउटा सत्य देखापर्छ।त्यो सत्य विगतमा पनि यिनै आँखाले देखेको सत्य न हो।उनको भौतिकता नरहेको सत्यले आँखा घोचिदिन्छ।

‘हजुरबुबा आउनुस्।’

नातिनी स्कुल जान ठिक्क परेकी छे।उसलाई स्कुल सम्म पुराउने जिम्मा मेरो हो।सायद जिम्मा शब्द हलुङ्गो शब्द हो।त्यो शब्द परिवर्तन गर्ने हो भने दुईटा अरु शब्दले ठाउँ पाउँदा हुन्।कर्तव्य र सौभाग्य।म यसरी सोच्छु मेरी नातिनीका लागि।ऊ एक्लै जान सक्छे स्कुल बसमा।तर उसलाई म नै चाहिन्छ।अनि म?उसलाई एक्लै पठाउन म कसरि तयार हुन सक्थेँ र? 

‘मैले गाडी चलाउन सक्ने भएपछि म बसेको सिट तपाईंको हुन्छ है?’ऊ उत्साहित नजरले हेर्छे मलाई।मलाई भन्न मन लाग्छ, ‘तिमीले गाडी चलाउन सकेको दिन मेरो आत्मा मात्र रहँदो हो।’मलाई यो पनि भन्न मन लाग्छ ‘तिमीले गाडी हाँक्न सकेको दिन यो सिट मेरालागि खाली नरहला।’तर भन्न सक्दिन।त्यो बाल मगजमा म किन यस्ता गुनासाका भारी घुसाउनु?

‘तिमीले जहाँ राख्छौ म त्यहिँ बस्छु नि’ – उसलाई हेर्दै भन्छु।

‘हजुरआमा कहाँ बस्नुहुन्थ्यो?’- उसले पून: उही कुरा दोहोराई।हुनसक्छ कतै उसलाई हजुरआमाको भौतिक अस्तित्व नरहेको धमिलो ज्ञान भएको छ।

‘हजुरआमा मेरो चेतना भरि बस्नुहुन्थ्यो र आज पनि सोही ठाउँमा हुनुहुन्छ।’भन्न मन हुन्छ।सक्दिन भन्न।

‘तिमी जहाँ बसेकी छौ त्यहिँ बस्नुहुन्थ्यो’ भन्छु।मेरी नातिनी मेरी साथि हो।कम्तिमा उसको जवानी नआउन्जेल सम्मका लागि।त्यसपछिका दिनहरु मेरो भाग्यमा निर्भर रहला।

 

एउटा समय थियो छोरो साथि थियो।नातिनी जत्तिकै प्यारो।उत्तिकै जिज्ञासु।उत्तिकै आत्मिय।तर उसको जीवनमा खुशी भित्रिएको दिनबाट त्यो आत्मियता धमिलियो।धमिलिनु जरुरि थियो सायद।एउटा नधमिलिए अर्को नसङ्लिदो रहेछ क्यारे।यहि रित बसेको होला संसारमा।बसेको रित मानिदिनु अर्को रित पनि त हो।नभए त पुस्ता कसरी हस्तान्तरण हुँदै जाला र?

उमेर पनि गज्जबको रहेछ।शरीर उही,मन उही तर शक्ति भने जिर्ण।म शरीर जिर्ण भन्ने प्राचिन शब्द प्रयोग गर्न सक्थेँ तर म त्यो मान्न तयार छैन।मेरो लागि मेरो उमेर बाहेक ममा एक कण पनि परिवर्तन भएको भान कहिल्यै भएन।बढ्दो उमेरले शिथिलता ल्याउनु भनेको तपशिलका कुरा भए।शक्ति ह्रास हुनु स्वभाविक हो।तर व्यक्ति उही रहदैन र?एउटा वृद्ध वा वृद्धाले कस्ता सपना देख्लान भनेर कसैले मलाई सोध्यो भने म भन्न सक्छु कि बुढो मान्छेले बुढो सपना देखोस् त्यो जरुरि छैन।

त्यसमाथि आफ्नो आधा भाग पहिलै गुमाईसकेका मजस्ता हरुलाई थप मिठा सपना आउँदा हुन्।बुढो हुनु पाप हैन भनेर मैले केहिदिन अगाडी मात्रै बुहारीलाई भन्नु पर्यो।किनभने उसलाई यो थाहा हुन जरुरि छ कि बुढी हुने सौभाग्य मिलेमा उसले बुढी नै भएरै जीउनु पर्ने छ।अरु विकल्प सायदै बाँकि रहलान्।त्यसमाथि चाउरिएको छालालाई कस्मेटिक्सले कति पो लुकाउन सक्ला?

उसलाई खै के कुरामा गुनासो छ मसँग जान्दिन।बताउनेले बताइदिए कमजोरी थाहा लाग्दो हो।यसैपनि मानिस क्रोध र कुण्ठा पालेर बस्न रुचाउने प्राणि हो।तर ति पनि मनका भावना न हुन्।हामीले देख्ने सबै कुरा सहि र गलतकै तराजुमा राखेर तौल्न खोज्नु न स्वभाविक हो न व्यवहारिक।मान्छेको मनोविज्ञानको कुरा गर्दा जबसम्म कसैप्रति द्वैष भाव र क्रोध भाव लिएर बस्न सकिन्छ तब सम्म आफूभित्र अलग शक्तिको महशुस हुन्छ।जब त्यस्ता भावनाहरुको अन्त्य हुन्छ,त्यसले शक्ति क्षयको भ्रम पैदा गराउँछ।सायद यही तथ्य मान्न हामीलाई कठिन हुने गर्छ र आफुभित्रै गाडेर राख्न चाहन्छौँ त्यस्ता अनेक कु-भावनालाई।

गहिरिएर हेर्ने हो भने कसैप्रति प्रेम पलाएमा त्यो भावना व्यक्त नगरे सम्म बेग्लै छटपटी,वेचैनी र मनको अस्थिरता हामीसँगै रहन्छ।भित्र भित्रै हामी निसासिन्छौँ।जब त्यो भावना व्यक्त हुन्छ स्वत मन शान्त भईदिन्छ।हलुका भईदिन्छ।यो नियम प्रेमभावका लागी मात्रै कदापी हैन।मनमा उठ्ने जुनसुकै सकारात्मक र नकारात्मक भावनाका लागि समान रहन्छ।मात्र हामि यो प्रयोग गर्न चाहदैनौँ।चित्त दुखाई र गुनासाहरु सही समयमा,सही व्यक्तिसँग पोख्न सके मनमा नयाँ भावनाहरु पलाउने ठाउँ बन्दछ।सम्बन्धले गहिराई भेट्छ।

म हरेक बिहान उठेपछि सबैभन्दा पहिला नुहाउछु।कालो चिया बनाउँछु।त्यो पिएर वाकमा निस्किन्छु।म हिड्नु भनेको दुरी तय गर्नुमात्रै भन्ने सोच्दिन।बिहानको पहिलो प्रहरले जे देखाउँछ,जे सुनाउछ त्यो दिनभरी कतै देख्न सकिदैन,सुन्न सकिदैन।म आफुलाई देख्छु,आफुलाई सुन्छु।पछाडीका पदचापले पाईला पछ्याउछन्।आफ्नो पाईला पछ्याउन सक्नु भनेको बिहानीले सिकाउने पहिलो सीप हो।ज्ञान हो।

ठुलो घर छ।घरमा भौतिक रुपले चार जना छौँ तर वास्तवमा पाँचै सदस्य छौँ।मनमा बसेको मान्छेपनि गन्तीमा आउँछ।कम्तिमा मेरा लागि उनि यतै कतै नै छिन।हामी बाउछोराको मुस्किलले भेट हुन्छ।उसका आफ्ना व्यस्तता होलान।मलाई अलग भान्सा दिइएको छ।अलग सुत्ने कोठा पनि।एउटा बैठक कोठा भन्न मिल्ने कोठा छ जहाँ म धेरै समय बिताउँछु।ठुलो बुक शेल्फ राखेको छु।मैले लेख्न पढ्न जाने देखिका लगभग सबै किताब हुँदा हुन्।भित्ता भरी मनपर्ने गायक,लेखक,कलाकारका थरि थरि पोस्टर टाँसेको छु।मनपर्ने व्यक्तिका मनपर्ने भनाईहरु,जो मार्ग दर्शकका रुपमा रहेका छन्- लाई फ्रेमिंग गरेर राखेको छु।आरामदायी कुर्सि-टेबल छ जहाँ बसेर म कविता लेख्छु।टेबलको दायाँ छेउमा क्यासेट प्लेयर छ,जसमा उनि तारादेवीलाई सुनेर घन्टौँ बिताउँथिन।

 

…… तिमी आँखाले बोलिरहु,म पढीरहन्छु

नपरोस् आवस्यक शब्द कहिले पनि 

तिम्रा पाऊ हरुमा म सधैँ झुकिरहन्छु!

 

एकैसाथ जवानी सकेर एकैसाथ उमेरको उत्तार्धमा पुग्ने वाचा उनले तोडेर गईन।म जान सकिन।वा जसले उनलाई लिएर गयो ऊ मलाई लिन आजसम्म आएन।सत्य यो पनि हो कि,एउटा नमिठो र निरस जिन्दगी पार गरेपछि पुन बाँच्ने ईच्छा जाग्दै आउँने रहेछ।यो ईच्छा टिकाउ हो या क्षणीक हो यो पनि जान्दिन।कहिले कोही आफूबाट टाढा नहोस् भन्नु पर्ने,कहिले टाढा  भईसकेपछि त्यो सत्य मानीदिनु पर्ने,कहिले जे छ आफ्नो हत्केलामा त्यसमा खुसि हुनुपर्ने,कहिले आफ्नै जीवन देखेर विरक्तिनु पर्ने र कहिले उमेरको धागो तन्किएर नचुँडीयोस् भन्नु पर्ने।यो कस्तो मायावी जाल?प्रेमको यो कस्तो दोहोरो चरित्र?स्वार्थको यो कस्तो तागत?जीवनबोधको यो कस्तो लिला?

‘तपाइँको मामुले पनि तपाइँलाई गालि गर्नुहुन्थ्यो?’नातिनी मलाई सोध्छे।

लाग्यो आज फेरि बुहारीले उसलाई झपारी।

‘मैले मेरी मामुलाई भेटेँ तर देखिन,छोएँ तर स्पर्श थाहा पाईन,बोलेँ तर कुरा गरिन।मैले आँखा खोलिसक्दा मेरी मामुले आँखा बन्द गरिसक्नु भएछ।’

ओझिला मेरा शब्द उसले कती बुझी होला?तर उसले यत्ति बुझी मैले मेरी मामुलाई कहिलै देख्न पाइन।

ऊ टेबलमा भएका मध्ये एउटा किताबका पानाहरु पल्टाउँदै छे।ऊ केही खोज्दै छे ति पानाहरुमा।कती सजिलै पल्टिन्छन् किताबका हरेक पानाहरु र कती सजिलै सकिन्छन हरेक अध्यायहरु पनि।जीवन किताब जस्तो कहाँ छ?जीवनका हरेक शब्दले विशाल कथा बोकेर बस्छ।

नातिनी बोल्छे – ‘हजुरबुबा तपाइँको लाइब्रेरी त मेरो स्कुलको लाइब्रेरी जत्रै छ!कत्ति ठुलो अनि कत्ति धेरै बुक्स’

यो ठुलो लाईब्रेरिमा भएका अनगिन्ती किताबका अनगिन्ती कथाहरु कसका होलान?उनि सोध्ने गर्थिन।म भन्थेँ, यी सबै हाम्रै कथा हुन्।हामी कहिले एउटा चरित्रमा हुन्छौँ त कहिले अर्को।चरित्र फेरिन्छ र हाम्रो कथा फेरिन्छ।हरेक पात्र हामी हौँ।तिनका दु;ख हाम्रा हुन्।तिनका खुसि पनि हाम्रा।तिनका सम्बन्ध हाम्रा हुन् र तिनका मनोविज्ञान पनी हाम्रा।म बोलिरहँदा उनि मिठो नजरले हेर्थिन जहाँ अर्को पात्र देखिन्थ्यो,अर्को चरित्र देखिन्थ्यो र उन्मादको अर्को कथा जन्मिन्थ्यो।कहानीको भयानकताले हामी आपसमा थिचिन रहर गर्थ्यौँ।अब फगत स्मृति र कल्पनामा सीमित छन् ति प्रेमिल घटनाहरु।

 

‘मलाई मामु मन नै पर्दैन।मलाई तपाइँ मात्रै मन पर्छ।’ पटक पटक नातिनीले मलाई भनेकी छे।

म के गर्न सक्छु?के उसलाई उसकी आमाबाट अलग्याउँ?के उसलाई आफुबाट अलग्याउँ?के उसलाई उसको मनस्थितीमा जेलीईरहन दिउँ?यो कस्तो फसाद?मैले नभएर आमाको ममता पाईन,मैले चित्त बुझाउने झिनो ठाउँ छ।तर उसले?भएकी आमाबाट त्यो स्नेह,त्यो ममता,त्यो प्रेम,त्यो हार्दिकता,त्यो सान्निध्यता र त्यो साथ पाएको महशुस गर्न सकिरहेकी छैन।सायद यो पनि अस्तित्वको अर्को पाटो होला।यसलाई नातिनीको बालसुलभ मनले नजिकबाट नियाल्न र स्विकार्न आवस्यक छ।कुनैदिन।

अब वास्तवमै आफ्नो निजी अस्तित्वको अन्तिम घडी हरुमा स्वास प्रस्वास चलिरहेछ।अब पर्खाइ छ त्यो फरिस्ताको जसले मेरो पुरानो जिन्दगीको उद्दार गरोस्।मुक्तिको यो याचना अब क्षणिक नभई दुर सम्मको हो,कम्तिमा उक्त फरिस्ताको आगमन सम्म।

 

‘बुबा कस्तो छ अहिले?’ मेरो काखीमा थर्मोमिटर घुसार्दै नर्स बोल्छे।मेरो जवाफ के हुनुपर्छ?म ठिक छ भनुँ?अथवा ठिक छु भन्ने स्थितिमा छु म?हैन,ठिक त म कहाँ छु?त्यसोत मलाई ठिक हुनु कहाँ छ?मेरो वृद्धअवस्ताले अब एउटा कलकलाउँदो जवानी पाईसकेको छ।अब छोड्नु पर्छ जिउने रहर।आठ दशकको जिन्दगी देखेपछि पनि आफुलाई घिसार्दै बाँच्नुको अर्थ के?नर्स गई।आई।उसको उही प्रस्न।मेरो उही मौनता।बस् समयले दुरी घटाउने मेलो गरीरहेछ।

 

हजुरबुबा- मलाई देख्नुभयो? स्मार्ट फोनको भित्तामा चलमलाई रहेकी नातिनी देखापरी।उसका लागि म अब औपचारिकताको पात्र भईसकेको छु।को हो भन्दा,नाताले हजुरबुबा।पढ्न कुनै तेस्रो मुलुक गएकी ऊ उतै सेटल भई।बिहा-दान समेत भई सक्यो।केही वर्ष पहिले उसका पापा-मामु उतै गएर कन्यादान सकेर आएका हुन्।मलाई निम्ता नआउनु कुनै नौलो कहाँ थियो? 

नातिनीका आफ्ना व्यस्तता आए।सिङ्गो जिन्दगीको पहाड उसले चढेर ओर्लनु छ।जिउनुको खाँटी महत्व अब पल पल बुझ्नु छ,महशुस गर्नु छ।भोगाईका किस्साहरु सँगाल्नु छ।सँगाल्नु छ सपना र प्राप्तिका अनुभूतिहरु।कथा बन्नु छ आफ्नै जन्मको र जानु छ छाडेर भविष्यका आगन्तुक हरुलाई, जो कुनै न कुनै सम्बन्धको धागोमा अल्झिएका हुने छन्।

नातिनी प्रति गुनासो रहेन।अब गुनासो न छोरासँग रह्यो न त बुहारीसँग।म जीवनको पारी आईपुगेर कहिल्यै प्राप्त नभएको ज्ञानको ईतिहास पढिरहेछु।देख्न नसकेको सत्यमा दृष्टिगोचर भईरहेछ।आखिर जीवनको कुनै ठोस नियम कहाँ रहेछ र?जसले जसरी चाह्यो उसैगरी सिध्याउन सक्ने रहेछ यो नश्वर जिन्दगी।

बाँच्ने रहर सकिनु भनेको कतै मानसिकताको भयावहता त हैन?तर,के फरक पर्छ?औषधिका धुलोहरुले कतिदिन छोप्न सक्छ र मृत्युलाई?म टकटकिएको छु जीवन देखि।मैले बोकेको छु अनुभव र अनुभूति जो सुनाउने छु उनीलाई,कतै देख्न भेट्न सकेको खण्डमा।अब खुसीले स्वासको अन्तिम झोक्का फुस्स निकाल्न सके बाँच्नु र मर्नुको मिठास एकैसाथ प्राप्त हुँदो हो।

पर्दा भित्र !

 

 

दृश्य १.

 

उसको दायाँ हातको चोर औँलो र बुढी औँलोलाई

पिलासले निचोरिएको छ 

र बगेको रगत

औँलोको टुप्पोमा मसी बनेर थपक्क अडिएको छ

आलो, रातो धब्बा ‘पाइलट पेन’बाट

न्यायको शब्द बन्न निस्किएको विद्रोही प्रतित भै’रहेछ 

ऊ कवि रहेछ कि?

 

दृश्य २. 

 

उसको जिब्रोलाई स्क्रु-ड्राइभरमा उनिएको छ

र जिब्रोले अझै,बाक्लो र्याल चुहाईरहेको छ

र्याल– बग्दै बग्दै सेती’झैँ लाचारीको कुनातिर

लर्खराएर,मौन संवादको लेदोमा परिणत हुँदै छ 

निलो भएर सुन्निएको जिब्रो बुलन्द बोलीको

झ्याम्टा पिट्न उद्दत मुङ्ग्रो प्रतित भै’रहेछ

ऊ कवि रहेछ कि?

 

दृश्य ३. 

 

उसका आँखामा सेलोटेप बेरिएको छ

आजादीको अन्तिम पल मानेर हुनसक्छ

सुस्तरी झरेका छन् परेलाका एक जोडी र

नाकको थुम्कोमा विश्राम लिइरहेका छन् 

ऊ विलाशी जीवन र कोर्रा दर्शनका ठेलीमा

कुन अपराधीद्वारा कोचिएको हो?

 

उसले भोका नाङ्गालाई देखेको आरोपमा

उसले अधिकार र हक लेखेको आरोपमा

कोट्याएको आरोपमा सुकेर कत्ला बनेको

आदिवासीका मर्म

र उसले गाइदिएको हो यदि

खोला, झरना,हिमाल र गुराँसको गीत

लगाएको हो तिनैसँग अटुट प्रित

ति र त्यस्ता आरोपमा दण्ड लिइरहेको हो भने – 

ऊ कवि रहेछ कि?

 

दृश्य ४. 

 

विजय उत्सवमा माला भिरेर सीन्दुर यात्रामा

रमाईरहेको त्यो – व्यक्ति को रहेछ ?

अनि उसको हातमा त्यो पिलास जस्तो वस्तु के हो?

उसका बोलीमा स्क्रु-ड्राईभर जस्ता तिखा ध्वनि के हुन्?

उसको हृदयमा बेरिएको सेलोटेप जस्तो जिनिस के हो?

के उक्त व्यक्तिले सुनेन चित्कार?

पढेन मानवता र संस्कार?

खुट्याउन सकेन रामराज्यको खाका?

देखेन नाङ्गो गाउँ? बुझेन भोकको भाषा?

 

समाप्त,

 

म निज कैदीको अथवा कविको? रिहाईको पर्खाईमा छु 

उसले लेख्ने छ आफ्नै रगतले बनेको दाग रुपी आलो मसीले

— उक्त व्यक्ति,व्यक्ति नभएर व्यवस्था हो /

— उसको उत्सव,हर्षोउत्सव नभएर दण्डहिनता हो /

– ऊ सेवक नभएर शामन्ती हो /

– ऊ राज्य नभएर फगत लालचको मसिहा हो /

 

भविष्यका बाँकी दृश्यहरुमा,

उसले बगाउँने छ कोसीमा अरु र्याल र थुपार्ने छ

कर्णालीका भोक जस्तै अग्ला अग्ला शब्दका पहाड

ऊ पून: कैदी बन्न डराउने छैन 

ऊ कवि बन्न डराउँने छैन /

 

पराजय!

सङ्कट:- 

“जा,खेल्न- मलाई दिक्क नपार” – उसले छोरालाई भनी।

“नाइँ-दान्न-तपेंसं खेल्थु” – तोतेबोलीमा फुच्चेले भन्यो।

“मलाई कति रुवाउँछस्?पकाउन बितिसक्यो,पण्डित आइपुग्ने बेला भो” छातिमा बेरेकी एकसरो फरियालाई माथितिर तान्दै ऊ घरभित्र छिरी।

फुच्चे आँगनमा ईटा घिसारेर ओठ थर्थराउँदै धुर्धुर-धुर-धुर-धुर गर्दैछ।उसको मोटर गाडी।उसलाई जोसँग खेल्न जा भनेर आमाचाहिँले अह्राएकी छ,उनिहरुसँग असली मोटरगाडी छन्।प्लास्टिकका।पाङ्ग्रा समेत भएका।

खेल्न दिदैनन् भनेर फुच्चेले तारन्तार आमासँग गुनासो गरेतापनि उसको हातमा पर्न सकेन प्लास्टिकका असली मोटरगाडी।

टुप्लुक्क पण्डित मिल्किएपछी उसले पिढीमा गुन्द्री बिछ्याईदिई।माथिबाट एउटा पातलो चकटीपनि।

एक गीलास गाईको तातो दुध टक्राएपछी मान-मनितो पुग्यो।

श्राद्ध आज।उसको लोग्नेको।भयो दुईवर्ष परमधाम पुगेको।त्यतीबेला छोरो सत्ताई महिनाको थियो।बा भनेका कस्ता हुन्छन्?उसको छोरालाई थाहा छैन।थाहा होस् कसरी?मेरो बा खै भनेर,उसको छोराले आजसम्म नसोधेरै अलिक सजिलो भएको छ उसलाई।सोधेको बखत  के भन्ली?ओछ्यानमै बित्यो।सुतेको सुतेई भयो।बिहान खुलेनन् उसका आँखा।किन खुलेनन्?के भयो आखिर त्यस्तो,जसका कारण उसको प्राण गयो?श्राद्ध गरेर ऊ आफ्नो दिवङ्गत लोग्नेको आत्मा-शान्तिको कामना गर्दै छे वा आफ्नो?

 

समाज:- 

-माईतितिरको भाई पर्ने हो अरे।आफ्नो माईतिको कुकुर त प्यारो,मान्छे कसरी नहोस्?

-हैन है हैन,भाई नै भएपनी यत्रो आवत-जावत नहुनुपर्ने।भाई त हाम्रापनि छन्,खै त यता पाईलो टेक्दैनन्।

-यो कतै सल्केकी त छैन?कस्तो सरम नहुँदो हो?

-हुँदो-नहुँदो त नबोल्नु हौ।त्यसरी सल्किनी-मिल्किनी त लाग्दैन मलाई।

-त्यही प्युसो छ एउटा,पाल्ला।उसैले थाहा गर्ला को के हो भनेर।

 

धारा-पँधेरो र मेला-पातमा चल्छन् यस्ता कचहरी।ऊ सुनेको नसुनेझैँ गर्छे।उसका सामुन्ने को बोल्छ?आफ्ना पछाडी के चल्दै छ,त्यसको धेरथोर जानकारी भएतापनि ऊ मौन रहन ज्यादा ठिक ठान्दि हो।त्यसोत,समाजले उसलाई औँलो ठड्याउँदा सफाईमा के जवाफ दिन्छे?के अब यही समाजमा रहनुको औचित्य छ?अनि समाज नभएको ‘समाज’ कहाँ छ?

 

शहर:-

शहर समाज हो कि हैन?समाज कसरी बन्छ?संवेदनाले,सहचार्यले,सहयोगले,साथले,अथवा सम्पतीले?उसलाई शहर जताबाट हेर्दापनि समाज लागेन।एउटा साँघुरो कोठालाई उसले घर बनाउन पर्नेभयो,जसलाई अँध्यारोले दिनमैपनि निल्न खोज्दै थियो।भारी बिसाई उसले।भारी बालख छोराको। र केही गुन्टाको, जसमा के थिए?शुन्य।रिक्तताले भरिएको गुन्टालाई सम्हाल्नुको कारण के थियो?अथवा के हुनेछ त्यसको सम्भावित सुअर्थ?

                                                        *********

‘तपाइँ त कती राम्री हौ?’जहाँ काम गर्न जान्छे ऊ,त्यो घरकी छोरी चाहिँले भनी।

‘के राम्री हुनु?जिन्दगी खुइलिएर बेरङ्गको भएपछी के राम्रो,के नराम्रो।अन्य रङ्गको उपस्थितिले मात्रै हो कालो रङ्गको शोभा बढाउने।नभए त कालो आखिर कालो नै हो।’उसले कुकर बेस्सरी घोट्दै भनी र मन्द मुस्कुराई।ऊ तत्काल हलुङ्गि भएकी हुँदी हो।यत्तिपनि कसलाई सुनाउनु थियो र उसले?

केटीले वाल्ल पर्दै ‘कहाँ बस्नुहुन्छ नी?’ सोधी।

गौशालामा कोठा छ। 

‘ए! कतिभयो तपाइँ यहाँ आउनु भएको?’

‘यस्तै चार महिना त भयो।’

उसले भाँडा पखालेर सकी। घामकोपारमा सुकाई र त्यहाँबाट निस्कीई।अर्को घरमा सुके होलान जुठा भाँडा।

‘आउन त आएछौ,हिक्मतले मत्त्तै यो शहरले के पाल्ला?’वृद्धाले हातको लौरो खेलाउँदै थोतेबोलीमा बोलिन्।

‘जानु कहाँ छ मेरो?को छ मलाई पर्खिने?जतापनि ढोका बन्द भएपछी उभिएको थलो सर्वस्व हुने रहेछ आमा’। उसले निधारको पसिना नाडीले पुछी।

‘छोराले गर्ला।पडाउनु तो जैरेलाई।पडो भने गर्च’ भन्दै वृद्धा घुँडामा हात राखेर मुस्किलले उठिन् ।ऊ चुपै बसी।के बोलोस्?पढाउनु भन्नु के सजिलो छ शहरमा?कहाँबाट आउँछ मनलाग्दी शुल्क तिरेर पढाउने धन?ऊ यस्तै केही सोच्दी हो।

 

संकल्प:-

“मलाई साईकल चाईयो भनेसी चाईयो।ऐले-चाईयो – ऐले-चाईयो।” एकरात ऊ भात पस्किँदै थिई छोरो चाहिँले बेपत्तै गर्यो।

“कहाँ छ साइकल किन्ने पैसा?छ तँसँग?छ भने मलाई दिईराख।भोलि ल्याईदिन्छु।”उसले छोरालाई भनी।

“तपेंसं छ पैसा।ल्याइदिनु-ल्याइदिनु।”फुच्चे भुइँमा पसारिएर कुर्कुच्चा रगड्दै चिच्याउन थाल्यो।

 

“मेरो छोरो कती ज्ञानी छ।आऊ पहिले माम खाने अनि कुरा गर्ने,आउ-आउ-आउ।सेलाई सक्यो है।मम्मीलाई धेरै गाह्रो भा’को छ मेरो राजाले बुझ्छ नि है?ल छिटो आउ ल।” बढो प्रेमले उसले छोरालाई फकाउन खोजि।मनाउन खोजि।छोरोचाहिँ अटेरी भएर उसको कुरालाई टेढपुछार लगाएन।

ऊ जुरुक्क उठी र गालामा दुई झापड लगाईदिई।फुच्चे अत्तालिएर रुन थाल्यो।रोएरै घर जुरुक्कै बोक्लाझैँ गर्यो।

अरु दुई झाप्पु फेरि थपी र आफैँ बलिन्द्र रुँदै भनी- “दश ठाउँका जुठाभाँडा मस्काएपछी तेरो मुखाँ जुठो लाग्छ।यो दुख कसकालागि गर्दैछु म?तेरो मनलाग्दीले कसरी टिकिएला यो राक्षस बस्ने कुठाउँमा।खुरुक्क भात घिच्।”

फुच्चे तत्काल भातका सीता निल्नथाल्यो।साथमा आँसुका ढिक्का र पातलो सिंगानपनि।

 

के यो रिस नै थियो?अथवा मनको भारी?मनको भारी त उसले रातदिन आँसुसँगै बगाएकिनै छ।के तुश बाँकी छ त्यो मनमा, जसले आफ्नै मुटुलाई निर्मम कुटेर रुवायो?उमेरको माग न थियो,यति आक्रमक हुनुपर्ने कारण सम्भवत: छोराको माया,स्नेह र कर्तव्यबोध नभए अरु के हुन सक्थ्यो र।सन्तानप्रति आमाहरु कठोर कुन दशाले घेरिएपछी हुन्छन्?अथवा कुनैपनि कथित् दिन-दशाले आमाको मन कम्तिमा सन्तानप्रति क्रोधी हुनसक्ला?

बरा! डरले थुरथुर हुँदै आवाज समेत ननिकाली ठुला- ठुला आँसुका ढिक्का बगाई रहेको छोरालाई हेरेर ऊ कसरी चुपलाग्न सक्दि हो?कठै!बगाई आद्र छोरालाई गम्लङ्ग अँगालेर।डराएको छोरो लुपुक्कै टाँसियो आमाका छातिमा।आखिर आमासँग के को डर?आफ्नी आमासँग डराउनु पर्दाको भयावहता अरु केसँग तुलना गर्न सकिँदो होला र।त्यसैले त फुच्चे सुरक्षित रह्यो उही काखमा हिक्क-हिक्क र घुँक्क-घुँक्कका दारुण ध्वनिसँगै।

रातभर निन्द्रामा समेत फुच्चेले हिक्क गर्न छाडेन।हरेशिव !छोराको यो स्थिति देखेर उसको मन बाउँडिन सम्म बाउँडियो।सकेको कसेर छोरालाई अँगाली र बिना आवाज बगाईरही पश्चातापका नदीहरु।त्यो रातले उसँग वाचा बोकेर गयो।उपरान्त ऊ छोरालाई कुनैपनि शर्तमा हात उठाउने छैन।

 

सत्य:-

“म भन्दिन तपाइँकै कारण मैले गाउँ छोड्नुपर्यो।त्यती निर्मम आरोप म किन लगाउनु?तर सत्य के चाहिँ हो भने तपाइँ नितान्त स्वार्थी र ढोँगी व्यक्ति हो।यसको प्रमाण तपाइँले खुद मलाई दिएर बस्नु भयो यत्तिका समय।” ऊ भन्दै छे। 

“मैले तपाइँबाट कहिल्यैपनि कुनैपनि समयमा केहीपनि अपेक्षा राखिन किनकी म सक्षम थिएँ,जती म हुन जरुरी थियो।आफ्ना लागि  र मेरो बालख छोराका लागि।म जरुर थिएँ।तर मेरो गाउँको सक्षमता शहरले खास पहिल्याउन सकेन वा भनौँ शहरका लागि म भिन्न रुपले सक्षम हुनुपर्दथ्यो।हो,त्यसघडीमा मलाई तपाइँको जरुरत थियो।कहाँ हुनुहुन्थ्यो?र आज किन आईपुग्नु भयो?” उसको भरिएको गह टिलपिल नै थियो,छ्याप्पै पोखियो।कती पातलो त्यो आँसु।कती चुलिएको त्यो पीडा, कठै।

 

“दु:ख दिने मनसाय न हिजो थियो न आज छ।म बुझ्न सक्छु तिम्रो मनको हालत।”सँगै छेउमा बसेको पुरुषले भन्यो।

“कसरी बुझ्न सक्नुहुन्छ मेरो मनको हालत?हैन,भन्नुस न कसरी सक्नुहुन्छ?भोग्नु भएको छ मेरो जिन्दगी?मेरा पैतालाले हिड्नु भएको छ एक पाईला?कि मस्काउनु भएको छ जुठा भाँडा-वर्तन?जो मेरो भोजन-भुटनको एकमात्र विकल्प हो।कि एउटा बालख छोराको बालसुलभ ईछ्या-आकाङ्छ्या पुरा गर्न नसकेर सिरानीले मुख छोपेर चिच्याउनु भएको छ?भन्नुस् न कसरी बुझ्न सक्नुहुन्छ मेरो मनको चोट?के यो मेरो प्राण जतिकै प्यारो छोराको सम्भावित भविष्य यी आँखामा झलझल्ती देखापर्दा जसरी चिरिन्छ मेरो छाति र डगमगाउँछ मेरो मातृत्व,त्यस्तो विस्मातले बेरिनुभएको छ?यदी छैन भने कसरी सक्नुहुन्छ मेरो मनको हालत बुझ्न?मलाई आदर्श नसिकाउनुस र केही शब्दका साहारामा सस्तो सम्वेदना प्रकट नगर्नुस।” कठोर बोलीमा उसले यत्ति भनि।

 

“म कुनै काम बुझ्नेछु।मिल्ना साथ् खबर गर्नेछु।त्यतिन्जेल धैर्यता राख।र मलाई थोरै क्षमाको स्थान देऊ।एकदिन सबै ठिक हुनेछ।हामी ठिक गर्ने छौँ।”उभिएर उक्त पुरुषले भन्यो।गयो।

 

सत्मार्ग:-

“दुख कसले नगर्ला?दुखै नदेखे सुखको उपस्थिति कसरी पहिचान गर्न सकिएला?हामी यही सत्यसँग अमुर्त जोडिएका छौँ।यही हो जन्मको सार भन्नु।सुख र दुख भन्नु अनुभुति भन्दा बाहेक केहीपनि हैन।” श्री स्वस्वायन्त महाराज भन्दै गए। 

“यहाँ उपस्थित यो जत्था सुखको खोजीमा जरुर आएको हो,तथापी यो सुखको भण्डार कहाँ हो?यो त यहाँहरुको मनको अनुभूति न हो।मान्यता न हो।विस्वास हो।आस्था हो।के मन्दिर जाने सबैले सुख माग्छन्?त्यो जरुरी छैन।

फगत टहल्न निस्किएकाहरु अनायासै मन्दिर पुग्ने कति होलान्?परम सुख त्यही हो जहाँ आफु हुनुको आत्मबोधले आफुलाई जित्छ।बस्,यो मान्न नसकेर हो सुखको सुवास लिन नसकिएको।आफैँसँग आजै अहिल्यै प्रण गर्नुस कि,म जत्तिको सुखले जिउने सजिव अर्को छैन।हो,तत्क्षण आत्मबोध हुनेछ आफ्नो जन्मको रहस्य र सहर्ष त्याग्न सकिने छ यो शरीर।मृत्यु त आफ्नो समयमा आई नै हाल्नेछ।आउने नै छ र हामीलाई लिएरै जाने छ भने,त्यो सत्यसँग के गुनासो?के विस्मात? जय आत्मा।जय परमात्मा।”

 

महाराज बोल्दा बोल्दै रोकिएपछी सबै उठे।एउटा अनुशासित प्रणाममा झुकेर जत्था बाटो लाग्यो।उसका पाईला चलमलाएनन्।ऊ अवाक् दृष्टिले महाराजसामु उभिएकी छ।झलमल्ल दियोझैँ धपक्क बलेको रुपमा किञ्चित आस्चर्य भावका रेसा दौडाउँदै महाराजले उसलाई पुकार्यो।

“हे पवित्र आत्मा, केले खाँदैछ भित्र?भन,खुलस्त।”

“मलाई पश्चाताप गर्नु छ भगवान।मलाई क्षमा माग्ने शक्ति दिनुस्।”ऊ थचक्क बसेर बिलौना गर्नथाली। ‘म पापिनी हुँ’।

“पाप र धर्मको रेखा कहाँ कोरिएको छ?कहाँ छ त्यसको सीमाना?यो तत्वबोध नगरी आफुलाई त्यो भँगालोमा नधकेल।अन्जान र अचेतन अवस्थामा कुनै घटना घटेको छ भने त्यसको पश्चातापको सघनता नै क्षमा हो।

आफ्ना अर्धज्ञात-अज्ञात,अवचेत-अचेत र पूर्वाग्रहविहिनताको अवस्थामा घटित कुनैपनि घटना र क्षतिको भेद यदी अन्त:करणमा स्निग्ध छ भने उक्त अवस्थामा आफुलाई क्षमा गर्नसक्ने आफुभन्दा बाहेक दोस्रो कहिल्यै,कतै हुदैन।आफूप्रतिको ईमान्दारितामा दाग यदी छैन भने हे पवित्र आत्मा तिमीले आफुलाई क्षमा गरिसकेकी छौ।’ महाराज मुस्कुराउँदै बोले।

उनले अझै थपे ‘पश्चातापको जलन नै क्षमाको बाटो हो,गन्तव्य हो।यो संसारमा क्षमा गर्नसक्ने त्यो शक्ति,त्यो विशालता र त्यो सीमाना सीर्फ आफुमा निहित छ।बाहिर खोज्नुको कुनै तात्विक तुक छैन। जाऊ आफ्ना दैनिकीमा भिज्ने कोसिस गर।’

 

श्री स्वस्वायन्त महाराजका वाणीले उसलाई आफ्ना अतित,अपराध,असामाजिक भएर बिताउन परेका कयौँ वर्ष एकमुस्ट फिर्ता पाएझैँ ताजगी अनुभव भयो।ऊ आफ्ना कुनै जटिल समयका जटिल निर्णय जो आफूद्वारा निर्देशित थियो त्यस्ता थुप्रै निर्णय प्रति पुनरावलोकन गर्न चाहन्थी।र एक हिसाबले उसले गरी पनि।ऊ बादल भएर हिड्न थालेकी छ।उसमा नौलो तागत भरिएको छ।दिनभरी घामले मुर्झाएको बिरुवाले साँझमा पानी भेटेपछि तनक्क तन्किएझैँ ऊ स्फूर्ति देखाउँदै छे।

 

एक जुग बितेपछि उसलाई आफ्नो जीवनजगतको वस्तुबोध भएको छ।उसलाई जन्मसँग कहिलै गुनासो भएन।आफ्नो जन्मलाई लिएर प्रश्न नगर्ने मनुष्यलाई मृत्युप्रति औँला उठाउने हक कहाँ छ?यसो गर्छ नै किन यो मनुष्य?यस्ता अनेक धारणा,विचार,वैचारिक बहस,आस्था र धेरथोर सामुहिक प्रतिवद्धतामा आफुलाई छोडेकी उसले अबपनि आम जीवन र संघर्षको चिन्ता चासो लिन नछोडे कहिले छोड्ने?

 

सारांश/उपसंहार:-

छोरी,श्रीमती,बुहारी,आमा र कलंकिनीको उपमा बहन गर्दै सम्भवत: सम्पूर्ण संज्ञामा उत्कृष्ट क्षमता प्रदर्शन र उचित परिचय बनाए पश्चात ऊ विस्तारै वृद्धाको कोटिमा उक्लिदै छे।उसका सुख दुख,गुनासा,संघर्ष,चाहना,सपना,सामना,जस्ता भावना,उत्तेजना र जुनुन पनि सेलाएर ऊ सँगै वयोवस्थाको कावा खाँदै छन्।उसले कुनै दोश्रो प्राणीसँग सम्झौता नगरी आफ्नो बालख छोरोलाई वयस्क बनाई।यो उसको धर्म थियो।कर्म थियो।त्यो नगर्नु थियो भने ऊ आमा नबन्दि हो अथवा त्यो हक उसले नपाउँदि हो।यसर्थ यो मामलामा ऊ खरो उत्रिएकी नै हो।

 

परैबाट कसैले कति कारणले आफ्नो मानोको जिम्मा लिइरहेको छ त्यसको राज खोज्नु असल पुत्रको दायित्व थियो।र त्यो दायित्व निर्वाह गर्नसक्ने भयो त्यो बालख।उसले आफ्नो जवानीका दिनसम्म आफ्नो शरीरमा बगेको रगतको स्रोत किन जान्न चाहेन वा जान्न खोजेन त्यो अलग पक्ष हुनसक्थ्यो उसको व्यक्तित्व विकासको।तर हिम्मत जुटाएर उसले पहिलो पटक आफ्नो पिताको बारेमा प्रश्न राख्न सक्यो आफ्नी आमासँग।

के थियो ऊसँग तयारी अवस्थाको जवाफ?के बताउली आज आफ्नो जवान छोरालाई?दुई दर्जन वर्ष पहिले छाडेर हिडेको माटोमा सत्य लुकेको थियो।देखिएको सत्य यो थियो कि जो उसको पिता भनिएको थियो,जसलाई उसकी आमाको श्रीमान भनिएको थियो,उसलाई के देख्ने मौका पाएको थियो त्यो शिशुले?अथाव भनौँ,सामाजिक संस्कारले बेरेर जो दुई महिला पुरुषलाई,कथित् समाजको रितले गर्लम्म ढाकिदिएको थियो के जरुरि छ, ति दुई सदैव ढाकीईरहे?

उसको कोख सिञ्चित गर्ने के उही व्यक्ति थियो जसलाई हक थियो?के जरुरि छ र त्यस्तै भएको होस्?खै! कहाँ जोडिएको छ कडी,जसले फुकाउन सकोस् र देखाओस् छर्लंग माता-पिता-पुत्रको सुत्रधार।

 

समाप्ती:-

“कठैबरा! बाउको हात शिरमा नभएको यो टुहुरो खुट्टा बजारेर हिड्न सक्ने भएछ बाबै।धन्य छ भौमान।” चौतारीमा बसेकी हजुरआमा उमेरकी वृद्धा कामेका ओठले बोलिन।ऊ चुपै लाग्यो।उसले बोल्नु पर्ने आवस्यकता देखेन।

“उहिले हिडेकी हो तँलाई च्यापेर तेरी आमा,के जान्नु काँ गै” वृद्धा बोल्दै गईन।”भन्नेले त भने नाठो बोकेर हिडी।म के भनु बा,आफ्नो थाक-थलो चटक्क बिर्सेर हिड्ने मान्छेको के भरोसा।आफ्ना आँखाले नदेखी यसै भो पनि कसोरी भनुँ? हुनलाई मेरी बुहारी नै हो,तँ नाती नै होस्।तेरो बा,ओछ्यानमै मर्यो बाबु।मलाई कालले बिर्सिहाल्यो।जिम्दी छु।उमेरको छोरो लिएर गो पापी कालले।” वृद्धाले भलभली आँसु बगाईन।वर्षौ देखी ति आँखामा भरिएर खस्न नसकेका हुँदा हुन् ति पुत्र वियोगी अश्रुधारा।आज हुनसक्छ बग्ने बाटो पाए र बगिरहे।कठै! त्यो आमाको मन।चाउरीएका गाला भरी सिञ्चित भए बुढ्यौली आँसु। हरे!कसरी छताछुल्ल पोखियो एउटा ममत्व।

हजुरआमाको कुराले उसलाई गहिरो सोचमा लगेर डुबायो।आफैँ बुढी हुँदै गईरहेकी आमाको दुई दशक पुरानो जीन्दगी कतिसम्म कोट्याउनु जायज हुनसक्छ र त्यसको वास्तविक उपलब्धि के निस्किन सक्छ?यो प्रश्नले उसलाई राम्रै बेरेर राख्यो।एउटा शिक्षित,अनुशासित,कर्मशील र भविष्यप्रतिको चेत बोकेको त्यो युवा मनले अन्तत: आफ्नो बा’को तलासलाई हमेसाका लागि छाड्ने निर्णय गरेर फर्कियो।जवाफ नआउने र आएपनि सम्भवत: सत्य जवाफ नपाइने प्रश्न पुन:आमासामु राख्नुको अर्थ के?उसलाई लागेन अब उक्त विषयमा कुनै वाक्य-बहसको आवस्यकता छ।ऊ जसरी बाँच्दै आएको छ सोही जीन्दगी बाँच्दै जाने छ।त्यहाँबाट निस्किएर कुन दिशा तर्फ लाग्यो कुन्नी,ती हजुरआमाले मेसो पाईनन्।

उसकी आमा जो,व्यक्त नभईसकेको कुनै अपराधको विषलाई महाराजका प्रवचनमा घोलेर घरी पिउँदै घरि वमन गर्दै आफुलाई सजाएँ दिईरहेकी छ।आफुले आफ्नो क्रुर आत्मालाई सजाएँ दिन सक्नु,आत्मक्षमाको अर्को रुप हो भनेर मानिदिएकि छ।सक्दिन ऊ शब्दमा बताउन आफ्नो छोराको पिता मरिसकेको छैन।र जो मर्यो ऊ पिता थिएन।कसरी हुनसक्छ यो?कसरी थेग्न सक्ला उसको प्राण-प्यारो छोराले यो बज्रपात?के आज सम्म छोराले यो प्रस्न नगर्नु यो मातृत्वको जित थियो?के त्यो मातृत्व अब कमजोर भएर टुक्रिन लागेको हो?बुझ्न सक्दिन ऊ आफुपनि।

सत्य र झुट कसरी आपसमा जोडिएर बस्न सक्ने रहेछन्।उसको सत्य उसको छोराको लागि झुट हो।त्यो भन्दा ठुलो झुटको आकार सायदै उसको छोराले महसुस गर्नसक्ला।समय यही झुटलाई बोकेर बगिरह्यो।

“हाम्रो जीवनको महाझुट जुनसुकै सत्यको आवरणमा ढाकिएपनि त्यो धुजा धुजामा परिणत हुनेछ।झुट लुक्न सक्थ्यो भने सत्यको अस्तित्व रहने थिएन।” एकदिन श्री स्वस्वायन्त महाराजका यी शब्दले उसलाई वेचैनको शिकार बनायो।ऊ सरासर कुटीबाट निस्किएर घरतर्फ लागि।घरमा छोरो थिएन।थियो त उही पुरुष,जो सर्वदा उसको सेवामा खटियो।दुईका आँखा चार भए।एकसाथ बरर बगे।यतिबेला झुट बगेर गयो सायद।उसले उक्त पुरुषको दुई पाखुरा समातेर उसका आँखामा हेर्दै भनी, अब सत्य स्विकार्नुको विकल्प छैन।जानुस् आफ्नो छोरालाई सम्पूर्ण सत्य बताएर आउनुस्।पुरुष सधैँझैँ शान्त भावले निस्कियो।ऊ थचक्क भुइँमा बसी।खुईय्य एउटा लामो स्वास उही पुरुषको पछि लागेर निस्कियो।

दिन बित्यो,रात बित्यो,अर्को दिन आयो,गयो,हप्ता र महिना हुँदै वर्षौँ बिते।न उक्त पुरुष फर्किएर आयो न उसको छोरो।के यो सत्यको हार थियो?

चिया।सुकुमेल र तिमी

चिया पिईसकेर रित्तिएको 

‘सिङ्गल’ गीलासको बिटमा

एक पत्र दुधको तर कटकटिएको छ ।

 

म हेरिरहेछु र बोधगम्य छु 

यस्ता गीलास कति रित्तिए

चियापत्ती सँगै कति यस्ता सेता तर राता बने

परन्तु–

चियाको स्वाद कहिल्यै फेरिएन ।

चियाको तृष्णा कहिल्यै मेटिएन ।

 

आज फेरि

रित्तिएको गीलास हेर्दै एक झल्को तिमीलाई सम्झिएँ 

हाय! मनसुन झरेर निथ्रुक्क भिजेको

एउटा जवान दिनको उत्तरार्धमा

ओठमा लाली मुस्कान;

आँखामा गाजले सन्तुष्टी;

हिँडाईमा हाँसको नक्कल;

र हातमा एक जोडी चिया गीलास बोकेर 

तिमी म सामु आएकी थियौ

बार्तलिको ओभानो कुनामा।

 

अनि–? हो अनि चियाको सुरुप सुरुप सप्तकमा

लय हाल्दै तिमीले सुनाएकी थियौ 

‘सुकुमेल’ शिर्षकको एउटा स्वादिलो कविता ।

 

त्यसदिन देखि आजसम्म मैले 

-मनसुन 

-मनसुनले निथ्रुक्क भिजाएको दिन

-मनसुनले निथ्रुक्क भिजाएको दिनको चिया

-चिया भित्रको सुकुमेल

-सुकुमेल शिर्षकको कविता

-र कविता सुनाउँने तिमीलाई भुल्न सकेको छैन ।

 

हेर–तिमीलाई भुलाउन

 म बारम्बार चिया पिईरहेछु

हरेक वर्ष मनसुन पनि झरी नै रहेको छ 

अनि सुकुमेल पनि मज्जाले फस्टाईरहेको छ।

 

हेर– तिमीलाई भुलाउन

मैले सुकुमेलको खेती गरेको छु।

 

आमालाई चिठ्ठी!

झिसमिसेमा म उठ्न सक्दिन -सम्झिन्छु !

चुलोमा लोरिको  फु-फु सुन्दिन -सम्झिन्छु !

‘छोरी उठ अब’ यो आवाज सुन्दिन -सम्झिन्छु  !

सातु र चिया चुलो नजिक बसेर खाँदै  

गफिन पाउदिन -सम्झिन्छु !

सम्झिने बहाना धेरै छन आमा  -सम्झिन्छु !

बिर्सिने बाटो कतै छैन -सम्झिन्छु !

पाएर पनि बुझ्न नसकेको त्यो प्रेम ,त्यो त्याग र प्रार्थना 

आज टाढा छु – सम्झिन्छु !

यहाँ घर शान्त बस्छ, शहर शान्त बस्छ 

त्यो हाँसोको गुन्जन सुन्दिन -सम्झिन्छु !

प्रेम खोज्दै हिँड्दा एक्छिन बाटो बिराएँ 

माया के होला ? कस्तो होला ? बुज्न खोजेँ बाटो बिराएँ 

तर आमा हरेक दिनको पहिलो प्रश्न ‘खाना खायौ ?’ सुनिरहँदा 

‘मायाको अर्थ माता पो रहेछ’ यत्ती बुझेँ -सम्झिन्छु!

एक टुक्रो खुसीको किरण देख्छु -सम्झिन्छु !

एक टुक्रो खुसीको सिङ्गै टुक्रोमा त्यो मुहार देख्छु -सम्झिन्छु !

मेरा आँखाबाट अनायास पीडा पोखिन लाग्दा 

म अक्सर विछ्यौनामा हुन्छु …

जब आँखाका कोशबाट आसुँ बग्दै गएर 

कानका लोतीहुँदै तकियामा तप्प झर्छ 

एकाएक त्यो अनुहार देख्छु ….सम्झन्छु 

” आसुँ झर्दैमा कमजोर साबित भइदैन ” यी वाक्य सुन्छु सम्झिन्छु !

 

म कसरि नसम्झौँ आमा?

एक पित्को अचारमा ,

एक मुठी मकैमा ,

एक गास बढी भातमा ,

एक जोर नयाँ जुत्तामा ,

छोटो कपालमा ,

चट्ट मिलेको दारीमा ,

मग्मगाउँने अत्तरमा ,

प~रको पारीजतको बिरुवामा ,

वरिपरि फुलेक फूलहरुमा ,

चोट लाग्दा – दुखाईमा

छाती दुख्दा औषधीका चक्कीमा,

निद्रा नपर्दा – ताराहरुमा

हरेकमा म तपाईंलाई देख्छु ।

 “दिन औंशि भएपनी मेरो जीवनको पुर्णिमा हो तपाईं “

एकै दिन दुईवटा पूर्ण चन्द्रमा आउन नसकेर होला 

आजको दिन औंशि परेको है? 

मेरा खुसी र दु:खमा म बराबर सम्झिन्छु !

म धेरै सम्झिन्छु आमा – अत्ती धेरै।

मजदुर कि परिश्रमी?

मजदुर १. 

तपाइँ बिहान उठेदेखी 

राती नसुतेसम्म

कति छाक हिड्नुहुन्छ?

म त–

एक छाक हिड्छु

था’छैन एकछाकले कति हिडाउँछ

फेरि यस्ता छाक,आएको आयै गर्छन्  र पो!

अँ–

यसमा एउटी जहान र एक जोडा

लालाबालाको,हिसाब नगर्नुहोला 

किनकी उनीहरु मेरै गोडाले हिड्छन् /

 

मजदुर २. 

घाम चर्क्यो भनेर 

घरमै बसेर कहाँ हुन्छ?

चोकतिर ‘मजदुर दिवस’को फ्लेक्स बोर्ड

बोक्ने काम आ’को छ अरे– जानुपर्यो /

 

मजदुर ३. 

एकछिन अगाडि :उहाँ 

तिमी अल्ली तलको

म अल्ली माथिको

अन्तर छैन भाई – हामी दुवै मजदुर हौँ 

यति भनेर उहाँ सरक्क निस्किनुभयो

–लगत्तै फर्किनुभयो

 र मेरो हातमा हरियो नोट थमाईदिनुभयो 

एकछिन पछि :म 

म अल्ली माथिको 

तिमी अल्ली तलको

मेन्यु ल्याऊ भाई

आज,दबाएर दिवस मनाउँछु /

 

मजदुर ४.

मजदुर भएकैले मजबुर छैन ।

मजबुर भएकैले मजदुर पनि हैन ।

वास्तवमा,

मेरो घाँटीबाट खोले फाँडो छिर्न छाडेपछि

मेरो आङले ‘ब्रान्ड’स्पर्श गर्न चाहेपछि

मेरा कुर्कुच्चामा छिरेको काँडाले

कुर्कुच्चा भन्दा धेरै ‘ईख’ दुखाएपछि

मेरो छिमेकीले माथ्लो तलामा बसेर

चिया सुर्पाएपछि

अर्को दर्जाको मजदुर बन्न

म मजबुर बनेको मात्र हुँ

मजदुरी त मेहिनत हो ।

मेहिनत धर्म हो ।

मजदुरी नगरी म एक दाना पनि किन खाउँ?

खैर– यी दिवस किन आउँछन् ?कसका लागि आउँछन्?

म त भगवान हुँ !

म सुक्ष्मताको अन्तिम कण हुँ

म विराटताको पहिलो जड हुँ

म जरा हुँ, जन्मान्तरको

परम्परा हुँ प्रकृतिको

म शुन्यताको सान हुँ 

म त भगवान हुँ ।

 

म थोपा हुँ जलहरुमा 

म नै निश्चल हुँ, सम्पूर्ण निश्चलहरुमा 

म कलकल धारा हुँ अग्निको

परम्परा हुँ प्रकृतिको

म सृष्टीको मुहान हुँ 

म त भगवान हुँ ।

 

म जानेर जानी नसक्ने रहष्य हुँ

म बुझेर बुझी नभ्याउँने अगस्त्य हुँ 

म जटिलतामा पहिलो पहेली हुँ

म सरलतामा अन्तिम गाँठो हुँ 

सिर्फ खेल हुँ तिम्रो चन्चल मनको

सर्वस्व सारा हुँ तिम्रै मनको

परम्परा हुँ प्रकृतिको

म प्राण हुँ – म त भगवान हुँ ।

 

म आफैँसँग युद्ध लड्छु – योद्धा हुँ

म आफैँलाई हराउँछु – होसियार हुँ 

म आफैँलाई जिताउँछु – अहम् हुँ 

कोही छैन व्याधा यहाँ,

कोही छैन दुस्मन यहाँ,

एउटा छ मेरै कलुषित मन यहाँ – यहि छ मेरो दुस्मन यहाँ 

म रिक्ततामा सन्तको आत्मा हुँ 

म पूर्णतामा यज्ञयज्ञादी हुँ 

म नदि हुँ,बगर हुँ ,

म फोसिल हुँ अनन्त देखी अनन्त सम्मको यात्रामा निस्किएको

म ज्ञानीको पहिलो ज्ञान हुँ

म त भगवान हुँ ।

 

म कलामा नृत्य हुँ 

म गलामा सुर हुँ 

म दृष्टिमा निराकार हुँ

मुमुक्षुमा साकार हुँ 

कहाँ छ यहाँ दुख?सुख के हो आखिर खोज्छौ के तिमी

म मुस्कान हुँ, बाल गोपालको,रोदन हुँ अन्तिम खुसीको 

भन रोज्छौ के तिमी

म फूल हुँ। म बाग बाग हुँ।म मस्तमगन हुँ।

म त भगवान हुँ ।

 

म घाम हुँ मेरै कर्तव्यको

म किरण हुँ मेरै कर्मको

म तारा हुँ आफ्नै आलोकको

म किन मानौँ म’मा खोट छ

म त जून हुँ अरुकै नजरको

 

म माटो हुँ मेरै छालाको

म मुर्ति हुँ मेरै परिश्रमको

म बिज हुँ आफैँलाई फलाउँने

म कल्पवृक्ष हुँ मेरै छहारीको

म एक्लै भिँड हुँ मेरो साहाराको

 

म धुलो हुँ पैताला मुनिको

म खरानी हुँ जलीरहेको धुनिको

म हुँ ध्यान,म हुँ नाद शङ्खको

मै हुँ अज्ञानको रेगिस्तान 

मै चेतनाको बगान हुँ

म त भगवान हुँ ।

मै त भगवान हुँ ।

 

कर्नेल र साईली

 

‘सम्पतिको भोक सबैभन्दा तेज भोक रहेछ क्यारे।पैसै त हो नि सम्पूर्ण विलासिताको आधार।प्राप्तिको सुक्ष्म डोरी दौलतसँग नजोडिएको भए सम्बन्धमा जालो नबेरिँदो हो।’ आवाज आईरहेछ पश्चिम कुनाको टेबल बाट।

‘सन्दुकमा भोटे ताल्चा लगाएर पटुकामा साँचो गुटमुटाएकी मुखिनीलाई सम्पतिको लोभ छैन भनेर कसरी मान्नु?मुखिनिको के कुरा,आजको मानव सभ्यता मकैमा घुन अल्झिएझैँ धनमा अल्झिएको छैन र?’ अर्को कोहि लर्बरिएको जिब्रो चलाईरहेको छ।

‘ऊ! अस्ति द्वादसिका दिन नै त हो,सराद्दे खान आ’का ज्वाँई लाई समेत लखेटीछन्।हैन मान राख्नु पर्छ भनेर बिर्सन मिलो?’ यो ज्ञान दिने अस्टे साहु थियो।

 

‘पन्चायत ढाले,राजा ढाले मुखिनी अझै आफुलाई उही मान्छिन।फेरिनु भनेको काल युगको माग हो।ति नमरी फेरिन्नन्।जस्ले जे भनोस् माबादीले यत्ति त गरेकै हो ल।’ दयाराम मास्टरले यत्ति बोलि सक्दा नसक्दै, चन्द्रेले भन्यो  ‘के गर्यो जङ्गली शासनले?बोकाले दाईं कहाँ भयो?हुँदो कुरो बोल्न राजाले कहिले रोकेथे र।’

साईलीको भट्टीमा यस्तै कचहरी चल्दै छ।

“तिमेरलाई अर्काको उछित्तो नकाटी खाको पच्दैन भने अन्न किन खान्छौ हँ?घाँस खाए भो।भट्टीमा आफ्ना दुख सुख साट्ने हो।कचहरी बस्न चिया दोकान छँदै छन् गए भयो उतै।”साईलीको असन्तुष्टि पोखिन्छ।

त्यसोत गाउँको शोभा यही होला।गाउँ यही कारणले गाउँ रहला।गाउँले सारा देश देख्छ।देश दुखेको देख्छ।भाईचाराको तानमा आफ्नोपन बुन्छ।गाउँलेको दिनभरिको थकानलाई साँझमा रित्तीने गिलासले पकल्क्क मार्छ।के जादु छ ति घुट्का हरुमा?सिपालु छे साईली।भट्मास भुटेर त्यसलाई  तातो तेलमा देखाएर चरचरी काटेर लसुन हाल्दिएपछि नुन त छ्वास्स चिम्टाउनु न हो।

“मात्ने हन है।ठिक्क पीउने,जुरुक्क उठेर जाने।म सुन्न सक्दिन तिमेर्का स्वास्नीका आरोप।” साईलीको तरिका हो यो।यत्ति फलाकेपछी पिउन मन नहुनेले समेत चाख्न मनगर्छ।

‘यो पात्तेकी भोटिनिले सारा गाउँलाई धोक्ने बनाएर सक्ने भई’।साईलीलाई डस्ने शब्दहरु यिनै हुन् ,यस्तै हुन्।

सुन्छे।बिर्सिदिन्छे।सुन्छे।अनि रुन्छे।कराईमा पटपटी पड्किएको सुँगुरको भुटनमा केहि थोपा आँसु नपरी त्यसको स्वाद यो बिघ्न मिठो नभएको हुँदो हो।

उसको कम्मरको गोलाई,छातीको उचाई,ओठको तन्काई,कपालको लम्बाई र मखमलको पातलो म्याक्सिमा पुट्ट उठेको नितम्बले मात दिएर लहै लहैमा पिउनेहरुको वास्तवमा गल्ति के छ र?आँखाले के धोका दिन्छ?दिएपनि त त्यो ज्ञात धोका भएन र?सहि र गलत छुट्याउन हरेकका घरमा आ-आफ्ना जहान छन्।फेरि  पिउने बखत केलाई आफ्नो नियतको परिक्षा लिने लेठो गरिरहनु?

साईली थप् न।हत्केलाले ओठ पुछ्दै कर्नेल बोल्छ।

“किन हौ, यत्तिको धोक्नु परेको?मृगौला कुइसक्यो होला।”गिलास भर्दै साईली भन्छे।

‘डर छैन मलाई,कुहियोस्।मृगौला,आन्द्राभुँडी,कलेजो र फोक्सो पनि सडेर सक्योस्।बस यो मुटु केहि नहोस्,मुटुमा तँ छेस् नि त।’ हेहेहे।कर्नेल हाँस्छ।

साईली मौनताको वाण आँखाबाट छेड्छे।मन नपरेको स्वाङ्ग पार्दा पनि केहि पत्र गुलाफ साईलीका गालामा  फुलीहाल्छन्।राता र रसिला।

“विदेश गईसी एस्तै सिकेर आउने रछ यो मर्दको जात।सरम भन्ने बेचेर खाईसि के लाग्छ।” गिलास मस्काउँदै साईली फतफताउँछे।

बतासमा रात मिसिएर आउँछ।आकाशमा तारा आउँछन्।मातेका आँखाहरुले साईलीको रुपलाई फगत चाँदनीसँग दाँज्ने चेष्टा गर्छन।कसरी चट्ट बिर्सिएर थकान अनि ह्वास्स गनाएको आफ्नै शरीर,निस्किन्छन् पिउने हरु घरतर्फ?यो हिम्मत कहाँबाट आउँदो हो?भर नभएको पाईला र होस नभएको मगजले आफ्नो गुँड कसरी भेट्ला?चराहरुले विशाल जङ्गलबिचको एउटा हाँगोमा बनाएको गुँड पनि त नबिर्सेला।घरले कसरी तान्छ,चुम्बकले तानेझैँ। उसैगरी तानिन्छ मन।चेतनाको चेत कहाँ बुझिसक्नु छ र।

चुलोमा सेलाएको ढिंडो रुँगेर बसेकि श्रीमतीको थकित अनुहारमा साईलीको रुप देख्न आतुर कर्नेलका आँखाले देख्दैनन् नाकमा झुन्डिएको बुलाकी।

खै त बुलाकी?

“किनिदेको छस्?कुकुरको झोलमा डुबे पछि के के देख्छन् तेरा आँखाले?”दैलोमा आग्लो ठोक्दै ठुली बोल्छे।

तँलाई म पर्ले मुया गर्छु,तँ किन बुझ्दिनस् ठुली।

“गर्यो माया।जाँड बोलेको म बुझ्दिन क्या?”

उता विदेश हुँदा रगत पसिना कस्कोलागि बगा’को मैले लु भन त?देख्नु पर्दैन तैँले मेरो दुक्ख?कर्नेल सुँक्क गर्छ।

एउटो पीउसोको रहर पुरा गर्दे न ठुली।म पिउन चटक्क छोडीदिन्छु।तेरो कसम।लु।छोराको आसमा चार छोरी जन्मीसके पछि कर्नेलले अघोषित हार मानेको छ तर त्यो हारको जिम्मा आफ्नी श्रीमती  माथी थुपारेको छ।स्वास्नी जातले आफुले नबिराए पनि भोग्नु पर्ने सजाएँ मध्यको सबैभन्दा पीडादायी सजाएँ हो यो।

“मलाई के रहर नहोला?तिम्लाई मात्र छ छोराको चाहा?किस्मतमै छैन रेछ के गर्नु।” हिक्का छुट्छ दुबैको।भयङ्कर सन्नाटाले छोपिन्छ मझेरी।एउटा छुचुन्द्रो चुईकिदै तखताबाट हामफाल्छ।सँगै खसाल्छ पुराना केही प्लास्टिकका बट्टाहरु।ठुलीले केही न केही हालेर राखेकी हुँदी हो।

“धुरुक्कै रुवाई सके यी छौँडाहरुले।छुचुन्द्रा तर्फ निर्देशित उसको आक्रोसको ज्वाला कर्नेलले ‘मार्न हुन्न तिनलाई’ भनेर निभाउँछ।

कर्नेलको लरबरिएको शरीरलाई भित्तामा आड लगाईदिन्छे।तोरीको सागमा लप्सीको अचार मिचेर ढिंडोको एकगास कर्नेलको मुखमा हालिदिन्छे।छोरो हुँदो हो त ऊ यसैगरी खुवाउँदी हो।

तेरो हात पर्ले मिठो छ ठुली।

“साईलीको जत्ति त नहोला।”

दोब्बर मिठो छ।आम्मा कसम।कर्नेल चम्किन्छ।

ठुली  खितखिताउँछे।

“घरको ढिंडो र साग मिठो कि साईलीको सुँगुर?”मातेको लोग्नेलाई झन् मात दिने प्रस्न गर्छे ठुली ।

तँ रिस नगर त्यस्को।त्यो भोटिनीको मनमा पाप छैन।तैँले म माथि भरोसा राखेस्।मर्दका आँखा लोभी हुन्छन्,मेरा नि हुन्छन् ।मैले कस्ता कस्ता देखेर आको हुम् उहाँ विदेशाँ।

“तिम्ले भनेर हुन्छ?यो मन हो एउटी स्वास्नीको।कसरी टुलुटुलु हेरेर बस्नु आफ्नो लोग्ने अर्की तिर सल्केको?तिम्लाई खुसि राखेकी छैन र मैले?

ठुली चुलो पुछ्दै बोल्छे आवाज भिजेको कपास जस्तै बनाएर।तपक्क तप्किएको हुँदोहो एक बुँद आँसु।देख्न,सुन्न,जान्न र बुझ्न कर्नेल छैन होसमा।रक्सि र निन्द्राको प्राचिन सम्बन्ध हुन्छ कि त?एउटाको उपस्थितिले अर्कोको अस्तित्व जोगाएझैँ देखिन्छ।

अर्को दिनको प्रतिक्षामा रात सुतिसकेको छ।एकतमासको फ्वाँ – फ्वाँ व्याप्त छ अधेँरोको गर्भमा। उता शान्त आँधी चलिरहेछ साईलीको छातीभित्र।भातसँग एउटा खुर्सानी मिच्छे,एक गास हाल्छे,रोकिन्छे।दोहोराउँछे।

एक्लोपनको मिठास भन्नु मुखमा राखेको सुपारी जस्तै हो।त्यो स्वादको नाम छैन।बस् स्वादिलो छ।भन्नकै खातिर।एक्लोपनको मिठास एउटा रात जस्तै हो।रात कती मिठो छ,त्यो स्वादको नाम छैन बस् स्वादिलो छ।यत्तिकै किन भनियो होला रात पछी बिहान आउँछ,किन भनिएन रात फर्किने छ उही स्वरुपमा,उही अवतार,उही गहिराई र उही बेस्वादिलो स्वादमा।

आफुलाई सक्दो छोपेर गुजुल्टिएको बिरालो झस्किन्छ,साईलीको स्पर्शले।उसको मनले भनिरहेको छ,मलाई पनि  गर स्पर्श।लामो हाई काढेर बिरालो पुर्वअवस्थामा पुग्छ एउटा म्याउँ समेत नगरी।साईली आकास हेर्छे,के गिज्याईरहेछन् ति ताराहरुले उसलाई?केहिबेर अतितको सागरमा चुर्लुम्म डुबेर ऊ थरथर काम्दै निस्किन्छे।एक झप्को कर्नेलको अनुहार सम्झिन्छे।उसका तमाम छेडखान सम्झिन्छे र सासमा बोल्छे – मुर्दार।झ्याप्प बत्ति निभाउँछे।यद्यपि मधुर मधुर गुलाबी चाहना र कर्नेलका शब्दहरुको प्रभाव भने बलिरहन्छ उसका गालामा।

‘जमाना काँ पुईसको।पैले जस्तो कहाँ छ अब संसार?टुप्पो हेर्दा टोपी खस्ने दर्बारमा काम गरेको मैले त।’ कर्नेल आफ्नो विगतको हैसियत बताउँदै छ।

गाउँबाट विदेश पस्ने पहिलो व्यक्ति थियो कर्नेल।दलाललाई पुरै बत्तीस हजार तिरेर ऊ दक्षिण भारत पुगेको थियो।गेट पालेको नोकरी गर्थ्यो।जुत्ता देखि टोपी सम्म यसैपनि अनिवार्य पोशाक भईनै हाले त्यसमाथि वाकीटकी समेत भिर्न पाएपछि उसलाई आफु सेनापति भैसकिएको महशुस हुनु नौलो थिएन।कर्नेल नाम उसलाई त्यसपछि न मिलेको हो।स्वघोषित रुपमा।कर्नेल भन्छ, ‘म सिरिलंकाको दर्बारमा खटिएको थेँ।कतिपय त हिन्दि भाषा बुझ्थे।म सँ गफ गाफ गर्थे।’चुस्की लिईरहेका गाउँलेहरु उसका कुरालाई लोककथाझैँ सुन्छन र जिल्ल पर्दै जिब्रो निकाल्छन।

“भारत र सिरिलंका नजिक हुन् रे है”? अर्कोले प्रस्न राख्दै निधार तन्काउँछ।

हो त।सहि थप्ने लगभग सबै हुन्छन।

भट्टीमा साँझ पसिसकेको छ।हरेक साँझका बेग्लै कथा हुन्छन,बेग्लै परिस्थिति हुन्छन र बेग्लै परिणाम पनि।एउटा भ्याई नभ्याईले न्याकेर राख्छ साईलीलाई।साईलीको हातको रक्सि,मासु,सितन र उसको बिस्तारै उम्किन्दै गरेको यौवनले घोक्राएर भित्र तानिनेहरुको अलग झुण्ड छ।वास्तवमा रुपमा के छ र,फगत सपाट छाला बाहेक।बाहिरी आवरणले तानिनेहरु आत्मा सम्मको यात्रामा निस्किने हो भने के त्यो उन्मादले भरिएको आँखालाई न्याय गर्न सक्लान्?सक्दैनन् भने रुपलाई किन आधार मान्छ तृप्तिको तृष्णाले?

“यो जात नै मिठो जात हो हजुर”।तालुको टोपी झिकेर कपाल कन्याउँदै कानेखुसी गर्दै छ सुवेदी।

उसको यो मिठो जातको तात्पर्य साईली तर्फ इन्कित छ।

“यो छाला जापानीसँग मिल्दो जुल्दो छ भन्छन।नौनी बराबर भनेर त मेरै काकाले भनेका हुन्।”ऊ थप्दै छ किस्सा माथी किस्सा।

“भनेसी तेरो काकाऊले जापानी सँ नारीने मौका पायो?जी हजुरी बटुलीरहेको मुखिनीको छोरो अविस्वास र उत्सुकताको मिस्रित नजरले हेर्छ।

“कहाँ हुनु काकाले त भोटिनीको कुरा गरेक हुन्।जापानी सँ नारीन पाए मै गोरु बन्दो हुँ जिन्दगीभर हेहेहे।”सुवेदी खितखिताउँछ।

धत्! हुँदो नहुँदो,मनलाग्दी ओकलेर बस्छ।व्यापक असन्तुस्टीको अर्को गिलास भरिन्छ दुबैका अगाडी मुखिनिको छोराको आवाज द्वारा।

पल्लो कुनाबाट कर्नेलको आवाज आईरहेकै छ।

“सुन्छु कर्नेलको लसपस छ रे।नामैले खाने भो जाँठाले।”सुवेदी कान कोतर्दै छ।

साईली खै भट्मास त आएन नि।कर्नेल बसेको टेबलबाट आवाज आउँछ।

“एकछिन रुक्न नसक्नि किन हो?दस ओटा हात छैन मेरो।”भट्मासको प्लेट राख्दै साईली पट्कीन्छे।

‘दश ओटा हात त कालीको हुन्छ साईली! तँ गोरी छेस्,तेरा दुई हत्केला काफी छ।परिका पनि दुईटै मात्र हुँदा हुन् हातहरु।’

कर्नेलले गिलास सिनित्त पार्दै बोल्यो।

“म के जानु?न काली मेरी छिमेकी न परि मेरी मितिनी।तिम्ले देख्या हौला कसका के छन् भनेर।”उत्तिखेरै जवाफ फर्काएर जान्छे साईली।

                                                        **********

“तिमि किन घर जाँदैनौ?मलाई अबगाल पार्न?यसैपनि  तिम्री स्वास्नी मलाई देखिसहन्न।जाउ कर्नेल तिमी, रात छिप्पियो।”

एघार बजेको हुँदो हो,एक्लै धुमधुम्ती बसेको कर्नेललाई घर फर्किन आग्रह गर्दै छे साईली।कसैको सामिप्यताको साक्षात्कार भईसकेपछि त्यो न्यानोपन,त्यो नछोईएरै हुने स्पर्श र मनले बेर्ने आफ्नोपनको धागो हत्तपत्त चुँडीदैन क्यारे।कर्नेलले सारा संसार कसरी भुल्न सक्छ साईलीको उपस्थितिमा?

त्यसो त साईलीलाई के आत्मा देखिनै कर्नेल गए हुन्थ्यो जस्तो लागेको होला र?ऊ निस्किएपछि झ्याल,ढोका,कुना कप्चेराबाट छिर्ने सादा र रंगहिन एक्लोपनाले ऊ आक्रान्त भईसकेकी छे भने किन चाहन्थी कर्नेल निस्किएर जाओस्।कोठाभरि पोखिने अँधेरोमा भविष्यको नक्सा खोज्नु जत्ति दिक्दार काम उसले कहिले गरि र क्षणभरको दिक्दारिलाई पन्छाईदिएर बसेको कर्नेल लाई गई हाल भन्न सकोस्।

“एकैछिन मेरो नजिक बस्।आईज साईली।मलाई तेरो सामुन्ने बसेर पुगेकै छैन।मलाई दिनरात तेरो भोकले सताउँछ।आज यो मनको भारी तेरो छेउमा बिसाउन मन छ।” कर्नेल भन्छ।

“म के गरौँ त? तिम्रो भोक के मा छ म जान्दिन तर तिमी  नबिर्स घरकी स्वास्नीलाई।चार ओटी छोरीलाई र यो समाजलाई।म प्रति तिम्रो दयाभाव छ भनेपनि मलाई चाहिन्न त्यो।म कसैको दयामा किन बाँच्नु?” साईली बोल्छे।

“किन आफैँलाई ढाँट्छेस् तँ?तेरा आँखा म पढ्न सक्दिन र?तेरो मनमा मेरो लागि एक थोपा माया छैन भने कसम खा मेरो।” कर्नेल बसेको ठाउँबाट सरक्क उठेर बोल्छ।

“के गर्छौ हँ माया छ भनेँ भने?कहाँ छ यसको गन्तव्य?यसको सुरुवात नै थाहा छैन भने अन्त्यको कसरी सोच्न सकूँली?यसैपनि कसैको बनेको घरमा आगो लगाउनु छैन मलाई।”साइली भावुक हुँदै बोल्छे।

‘रोकेर रोकिन्छ र मायाको भेल?खहरे बनेर उर्लिदै छ मेरो छाती भित्र तेरो माया।तँ के चाहन्छेस म यसैगरी आँखा मात्र  जुधाएर बसुँ?तेरो शरीर हेरेर थुक निल्नेहरुलाई टुलु टुलु हेरेर बसुँ हारेको सीपाही झैँ?मेरो नजरले तेरा कुन अङ्ग चिमोटेको छ आज सम्म?’ कर्नेल पनि भावनामा बग्दै बोल्छ।

मेरो मुटु चिमोटेको छ।भन्न चाहन्छे साईली।सक्दिन।

प्रेमको अभिव्यक्ति जत्तिको सकस अरु केहिमा नहोला।कसरी पिल्सिएर बस्न सक्ने रहेछ यो प्रेम भन्ने जिनिस।कसरी गुटुमुटिएर रहन सक्ने रहेछ यो प्रेम।केमा टुसाउँदो हो प्रेम र केमा फूल्दो हो जो जसरी फूलेपनि मग्मगाउँछ।गमलामा फूलेको फूलमाथि माटोको हक लाग्ला कि गमलाको?साईली यस्तै दुविधामा छे।उसलाई फूल्न ठाउँ दिने यो गाउँ हो,यहाँ लहलह फूलाएकी छे आफ्नो परिचय,अस्तित्व र जोगाएकी छे अनिश्चित एउटा भविष्यको बिज।अर्को तर्फ आफू निर्धक्क फूल्न सकेको गमलाको रुपमा कर्नेल छ।त्यो गमलामा एउटा फूल निकै पहिलै फुलिरहेथ्यो,तापनि साईलीले आफ्नो जरा गाडिएको महशुस गरेकी छे।कर्नेलले त्यो स्थान दिएको छ उसलाई।

श्रीमती र चार छोरीको बाऊ कसरी अर्को बेनाम सम्बन्धमा बेरिन सक्छ?हरेक सम्बन्धमा विस्वासको लिसो टाँसिएको हुन्छ जसले टुक्रिन दिँदैन,जोडिएको सगोल परिचय।ऊ र उसकी श्रीमती भन्नु दुवैको एउटा सगोल परिचय नभए के हो त?फेरि कुन आगो त्यो लिसो पगाल्न उद्दत छ?के प्रेम आगो हो?प्रेममा जायज वा नाजायज भन्ने सीमितता रहन्छ र?प्रेमको यो कस्तो स्वभाव हो जो एकातिर आँसु बनेर बग्न खोज्दै छ भने अर्को तर्फ खुसीको ढिक्का भनेर जम्न खोज्दै छ।

‘मलाई छोरो दिन सकिन ठुलिले।’ लामो मौनता चिर्दै कर्नेल बोल्छ। ‘मलाई था’छ तेस्को कुनै दोष छैन तर जे मैले पाईन त्यो सत्य हो,उसले दिन सकिन।मलाई छोरो जन्माएर दिन सक्छेस भने अहिले भर्खर सिन्दुर हालेर भित्र्याउँछु।’ कर्नेल एक सासमा बोलेर,टुसुक्क भुइँमा बस्छ।

‘ए!अनी मैले पनि छोरो दिन सकिन भने नि?’ साईलीको अनुहारभरि क्रोध,घृणा,बेईजति र त्यस्तै अनगिन्ति भावका नशा फुल्छन।मरुभूमिझैँ बन्न लागिसकेको गलामा आँखाको आर्दको सिंचाई हुन्छ।

साइली बसेको ठाउँबाट जुरुक्क उठ्छे र भन्छे,

‘यही हो तिम्रो श्रीमती प्रतिको संवेदना?यही हो तिम्ले उसलाई दिएको साथ?यहि हो तिम्ले मलाई गर्ने प्रेम?यत्ति हो मेरोजीवनको स्थान तिम्रो जीवनमा?यत्ति हो हाम्रा आँखाले आजसम्म गरेका संवाद?के यत्ति हो मैले तिम्रो कल्पनामा सजाएको एउटा संसारको मूल्य?तिम्ले कम्तिमा मलाई देखाउन हुन्नथ्यो यो निचता।

प्रेम कुनै चाहानाले उम्रिएको छ भने,मुर्झाएर झर्न बेर लाग्दैन।कहाँ छ मालीले महिनौ सम्म सम्हालेको फूलले जिन्दगी भरी उसलाई साथ दिएको?छ कतै?कति निस्ठुर हुन्छ फूल समेत,उस्तै माली पनि।फगत एकले अर्कोलाई समय सीमामा केही दिए,सकिए।कस्तो तुच्छता।तिम्रो प्रेम त्यस्तै छ कर्नेल।केही नपाउन्जेल सम्मको सीमा छ तिम्रो प्रेमको।मलाई यो घना स्वार्थमा बादल सरि उडेको प्रेम चाहिएन कर्नेल।के थाहा यो बादल कहाँ कतिबेला टुक्रिने हो र वर्षा हुने हो मेरा सुकी सकेको आँसुहरुको रुपमा जाऊ निस्किएर र यहाँ फर्किएर कदापी नआऊ।म हिजोपनि एक्लै थिएँ र भोलि पनि एक्लै रहन सक्छु।तिमी पापी हौ।मेरो मनमा सपनाको महल बनाएर आज त्यसलाई एकैखेपमा गर्लम्म ढालीदियौ।

म पनि कति नासमझ।मैले सोच्नुपर्थ्यो तिमी मेरा लागी हैनौ भनेर।यो सत्य स्वीकारेकी भए तिम्रो यो मनस्थिति बुझ्न सक्दि हुँ।तर प्रेम कहाँ त्यस्तो हिसाब किताबमा हुन्छ र?बाघचाल त तिमीले खेल्दै रहेछौ कर्नेल।म जान्दिन यस्तो प्रेम गर्न।गईहाल यहाँबाट।मलाई हेर्नु छैन तिम्रो यो स्वार्थी अनुहार।

कर्नेलले सर्वाङ्ग ज्यानमा हजारौँ अरिङ्गालले एकसाथ चिलेको अनुभव गर्छ।स्वाट्ट बिजुली गएझैँ रक्सीले छोड्छ।उसलाई हठात् पिसाब लाग्छ,दिसा लाग्छ।मनभरी बोल्ने शब्दहरु आपसमा लडि रहेछन कि त?मुख खोलेपनि जिब्रोमा हलचल छैन।मध्यरातमा  हालको  यो अवस्थाको न कर्नेलले पहिला कहिल्यै कल्पना गर्यो न त अहिले विस्वास।उसलाई त लाग्थ्यो आफ्नो चाहाको एउटा अभिव्यत्तिले साईलीलाई ऊ तर्फ अझ संबेदनशील बनाउने छ।तर परिणाम विपरित भईदिन्छ।हिजोसम्म आँखा जुध्दा काँडा उम्रिने तन र मन,आज उही काँडाले निर्मम कोतरेझैँ दर्खराएको छ।

न आवेग,न क्रोध,न हारको रंग,न अर्को पाईलाको भर,न अबको गन्तव्य,न परिणाम स्वीकारोक्तिको शक्ति,न साहसको क्षय,न सोच,न शब्द केहीपनि नबोकी कर्नेल निस्किन्छ।उसलाई घरले पनि मचक्क थिचेको हुँदो हो र त पाईला त्यता मोडीएनन्।मुर्दा हिडेझैँ कर्नेलको प्राण लस्किरहन्छ रातभर।विश्रामको बिन्दु कतै त हुनुपर्छ तर विश्राम के को?पाईला या प्राण?

बाँकि के रह्यो र अब साईलीको भागमा पनि।कतिपय प्रेम व्यक्त नहुनु जाती रहेछ।कुण्ठा कुन प्रेममा नहोला तर त्यसको आयतन कति रहला निश्चित आफुले गर्ने रहेछ।कतिबेला कर्नेल सँग उसको मन साटियो उसैलाई खबर छैन।यो अन्यौलता प्रेमको अर्को सुन्दरता होला।

अन्तिम पटक उसले पुन बिरालोलाई सुमसुमाई।आज ऊ झस्किएन,तर्सिएन न ब्युँझियो।हुनसक्छ उसले आजसम्म साईलीले गरेको स्पर्श बुझेको छ र स्वीकारेको छ।हुन सक्छ उसले त्यो सहजता अपनाएको छ।हुन सक्छ अब उपरान्त यही स्पर्शमा हराउन चाहन्छ।तर उसले देखेको छैन,भर्खर एउटा यस्तै सहजताले भत्काईदिएको सम्बन्धको खाँबो।त्यसपछि भट्टीको ढोका खुल्लै राखेर साईली निस्किन्छे अनिश्चित यात्रामा।ऊ यहाँ फर्किने छैन अब।

भोलिपल्ट सबेरै भालेको डाँकोसँगै गाउँभरि हल्ला फैलिन्छ कि कर्नेलले साईलीलाई भगायो।कर्नेलकि श्रीमती  ठुली मनमनै कामना गर्छे मेरी सौतालाई खुसि नै खुसि मिलोस्।उसलाई के थाहा कर्नेल र साईलीका पाईलाहरु एकसाथ नभई विपरित दिशामा चलेका थिए।