पर्दा भित्र !

 

 

दृश्य १.

 

उसको दायाँ हातको चोर औँलो र बुढी औँलोलाई

पिलासले निचोरिएको छ 

र बगेको रगत

औँलोको टुप्पोमा मसी बनेर थपक्क अडिएको छ

आलो, रातो धब्बा ‘पाइलट पेन’बाट

न्यायको शब्द बन्न निस्किएको विद्रोही प्रतित भै’रहेछ 

ऊ कवि रहेछ कि?

 

दृश्य २. 

 

उसको जिब्रोलाई स्क्रु-ड्राइभरमा उनिएको छ

र जिब्रोले अझै,बाक्लो र्याल चुहाईरहेको छ

र्याल– बग्दै बग्दै सेती’झैँ लाचारीको कुनातिर

लर्खराएर,मौन संवादको लेदोमा परिणत हुँदै छ 

निलो भएर सुन्निएको जिब्रो बुलन्द बोलीको

झ्याम्टा पिट्न उद्दत मुङ्ग्रो प्रतित भै’रहेछ

ऊ कवि रहेछ कि?

 

दृश्य ३. 

 

उसका आँखामा सेलोटेप बेरिएको छ

आजादीको अन्तिम पल मानेर हुनसक्छ

सुस्तरी झरेका छन् परेलाका एक जोडी र

नाकको थुम्कोमा विश्राम लिइरहेका छन् 

ऊ विलाशी जीवन र कोर्रा दर्शनका ठेलीमा

कुन अपराधीद्वारा कोचिएको हो?

 

उसले भोका नाङ्गालाई देखेको आरोपमा

उसले अधिकार र हक लेखेको आरोपमा

कोट्याएको आरोपमा सुकेर कत्ला बनेको

आदिवासीका मर्म

र उसले गाइदिएको हो यदि

खोला, झरना,हिमाल र गुराँसको गीत

लगाएको हो तिनैसँग अटुट प्रित

ति र त्यस्ता आरोपमा दण्ड लिइरहेको हो भने – 

ऊ कवि रहेछ कि?

 

दृश्य ४. 

 

विजय उत्सवमा माला भिरेर सीन्दुर यात्रामा

रमाईरहेको त्यो – व्यक्ति को रहेछ ?

अनि उसको हातमा त्यो पिलास जस्तो वस्तु के हो?

उसका बोलीमा स्क्रु-ड्राईभर जस्ता तिखा ध्वनि के हुन्?

उसको हृदयमा बेरिएको सेलोटेप जस्तो जिनिस के हो?

के उक्त व्यक्तिले सुनेन चित्कार?

पढेन मानवता र संस्कार?

खुट्याउन सकेन रामराज्यको खाका?

देखेन नाङ्गो गाउँ? बुझेन भोकको भाषा?

 

समाप्त,

 

म निज कैदीको अथवा कविको? रिहाईको पर्खाईमा छु 

उसले लेख्ने छ आफ्नै रगतले बनेको दाग रुपी आलो मसीले

— उक्त व्यक्ति,व्यक्ति नभएर व्यवस्था हो /

— उसको उत्सव,हर्षोउत्सव नभएर दण्डहिनता हो /

– ऊ सेवक नभएर शामन्ती हो /

– ऊ राज्य नभएर फगत लालचको मसिहा हो /

 

भविष्यका बाँकी दृश्यहरुमा,

उसले बगाउँने छ कोसीमा अरु र्याल र थुपार्ने छ

कर्णालीका भोक जस्तै अग्ला अग्ला शब्दका पहाड

ऊ पून: कैदी बन्न डराउने छैन 

ऊ कवि बन्न डराउँने छैन /

 

चिया।सुकुमेल र तिमी

चिया पिईसकेर रित्तिएको 

‘सिङ्गल’ गीलासको बिटमा

एक पत्र दुधको तर कटकटिएको छ ।

 

म हेरिरहेछु र बोधगम्य छु 

यस्ता गीलास कति रित्तिए

चियापत्ती सँगै कति यस्ता सेता तर राता बने

परन्तु–

चियाको स्वाद कहिल्यै फेरिएन ।

चियाको तृष्णा कहिल्यै मेटिएन ।

 

आज फेरि

रित्तिएको गीलास हेर्दै एक झल्को तिमीलाई सम्झिएँ 

हाय! मनसुन झरेर निथ्रुक्क भिजेको

एउटा जवान दिनको उत्तरार्धमा

ओठमा लाली मुस्कान;

आँखामा गाजले सन्तुष्टी;

हिँडाईमा हाँसको नक्कल;

र हातमा एक जोडी चिया गीलास बोकेर 

तिमी म सामु आएकी थियौ

बार्तलिको ओभानो कुनामा।

 

अनि–? हो अनि चियाको सुरुप सुरुप सप्तकमा

लय हाल्दै तिमीले सुनाएकी थियौ 

‘सुकुमेल’ शिर्षकको एउटा स्वादिलो कविता ।

 

त्यसदिन देखि आजसम्म मैले 

-मनसुन 

-मनसुनले निथ्रुक्क भिजाएको दिन

-मनसुनले निथ्रुक्क भिजाएको दिनको चिया

-चिया भित्रको सुकुमेल

-सुकुमेल शिर्षकको कविता

-र कविता सुनाउँने तिमीलाई भुल्न सकेको छैन ।

 

हेर–तिमीलाई भुलाउन

 म बारम्बार चिया पिईरहेछु

हरेक वर्ष मनसुन पनि झरी नै रहेको छ 

अनि सुकुमेल पनि मज्जाले फस्टाईरहेको छ।

 

हेर– तिमीलाई भुलाउन

मैले सुकुमेलको खेती गरेको छु।

 

आमालाई चिठ्ठी!

झिसमिसेमा म उठ्न सक्दिन -सम्झिन्छु !

चुलोमा लोरिको  फु-फु सुन्दिन -सम्झिन्छु !

‘छोरी उठ अब’ यो आवाज सुन्दिन -सम्झिन्छु  !

सातु र चिया चुलो नजिक बसेर खाँदै  

गफिन पाउदिन -सम्झिन्छु !

सम्झिने बहाना धेरै छन आमा  -सम्झिन्छु !

बिर्सिने बाटो कतै छैन -सम्झिन्छु !

पाएर पनि बुझ्न नसकेको त्यो प्रेम ,त्यो त्याग र प्रार्थना 

आज टाढा छु – सम्झिन्छु !

यहाँ घर शान्त बस्छ, शहर शान्त बस्छ 

त्यो हाँसोको गुन्जन सुन्दिन -सम्झिन्छु !

प्रेम खोज्दै हिँड्दा एक्छिन बाटो बिराएँ 

माया के होला ? कस्तो होला ? बुज्न खोजेँ बाटो बिराएँ 

तर आमा हरेक दिनको पहिलो प्रश्न ‘खाना खायौ ?’ सुनिरहँदा 

‘मायाको अर्थ माता पो रहेछ’ यत्ती बुझेँ -सम्झिन्छु!

एक टुक्रो खुसीको किरण देख्छु -सम्झिन्छु !

एक टुक्रो खुसीको सिङ्गै टुक्रोमा त्यो मुहार देख्छु -सम्झिन्छु !

मेरा आँखाबाट अनायास पीडा पोखिन लाग्दा 

म अक्सर विछ्यौनामा हुन्छु …

जब आँखाका कोशबाट आसुँ बग्दै गएर 

कानका लोतीहुँदै तकियामा तप्प झर्छ 

एकाएक त्यो अनुहार देख्छु ….सम्झन्छु 

” आसुँ झर्दैमा कमजोर साबित भइदैन ” यी वाक्य सुन्छु सम्झिन्छु !

 

म कसरि नसम्झौँ आमा?

एक पित्को अचारमा ,

एक मुठी मकैमा ,

एक गास बढी भातमा ,

एक जोर नयाँ जुत्तामा ,

छोटो कपालमा ,

चट्ट मिलेको दारीमा ,

मग्मगाउँने अत्तरमा ,

प~रको पारीजतको बिरुवामा ,

वरिपरि फुलेक फूलहरुमा ,

चोट लाग्दा – दुखाईमा

छाती दुख्दा औषधीका चक्कीमा,

निद्रा नपर्दा – ताराहरुमा

हरेकमा म तपाईंलाई देख्छु ।

 “दिन औंशि भएपनी मेरो जीवनको पुर्णिमा हो तपाईं “

एकै दिन दुईवटा पूर्ण चन्द्रमा आउन नसकेर होला 

आजको दिन औंशि परेको है? 

मेरा खुसी र दु:खमा म बराबर सम्झिन्छु !

म धेरै सम्झिन्छु आमा – अत्ती धेरै।

मजदुर कि परिश्रमी?

मजदुर १. 

तपाइँ बिहान उठेदेखी 

राती नसुतेसम्म

कति छाक हिड्नुहुन्छ?

म त–

एक छाक हिड्छु

था’छैन एकछाकले कति हिडाउँछ

फेरि यस्ता छाक,आएको आयै गर्छन्  र पो!

अँ–

यसमा एउटी जहान र एक जोडा

लालाबालाको,हिसाब नगर्नुहोला 

किनकी उनीहरु मेरै गोडाले हिड्छन् /

 

मजदुर २. 

घाम चर्क्यो भनेर 

घरमै बसेर कहाँ हुन्छ?

चोकतिर ‘मजदुर दिवस’को फ्लेक्स बोर्ड

बोक्ने काम आ’को छ अरे– जानुपर्यो /

 

मजदुर ३. 

एकछिन अगाडि :उहाँ 

तिमी अल्ली तलको

म अल्ली माथिको

अन्तर छैन भाई – हामी दुवै मजदुर हौँ 

यति भनेर उहाँ सरक्क निस्किनुभयो

–लगत्तै फर्किनुभयो

 र मेरो हातमा हरियो नोट थमाईदिनुभयो 

एकछिन पछि :म 

म अल्ली माथिको 

तिमी अल्ली तलको

मेन्यु ल्याऊ भाई

आज,दबाएर दिवस मनाउँछु /

 

मजदुर ४.

मजदुर भएकैले मजबुर छैन ।

मजबुर भएकैले मजदुर पनि हैन ।

वास्तवमा,

मेरो घाँटीबाट खोले फाँडो छिर्न छाडेपछि

मेरो आङले ‘ब्रान्ड’स्पर्श गर्न चाहेपछि

मेरा कुर्कुच्चामा छिरेको काँडाले

कुर्कुच्चा भन्दा धेरै ‘ईख’ दुखाएपछि

मेरो छिमेकीले माथ्लो तलामा बसेर

चिया सुर्पाएपछि

अर्को दर्जाको मजदुर बन्न

म मजबुर बनेको मात्र हुँ

मजदुरी त मेहिनत हो ।

मेहिनत धर्म हो ।

मजदुरी नगरी म एक दाना पनि किन खाउँ?

खैर– यी दिवस किन आउँछन् ?कसका लागि आउँछन्?

म त भगवान हुँ !

म सुक्ष्मताको अन्तिम कण हुँ

म विराटताको पहिलो जड हुँ

म जरा हुँ, जन्मान्तरको

परम्परा हुँ प्रकृतिको

म शुन्यताको सान हुँ 

म त भगवान हुँ ।

 

म थोपा हुँ जलहरुमा 

म नै निश्चल हुँ, सम्पूर्ण निश्चलहरुमा 

म कलकल धारा हुँ अग्निको

परम्परा हुँ प्रकृतिको

म सृष्टीको मुहान हुँ 

म त भगवान हुँ ।

 

म जानेर जानी नसक्ने रहष्य हुँ

म बुझेर बुझी नभ्याउँने अगस्त्य हुँ 

म जटिलतामा पहिलो पहेली हुँ

म सरलतामा अन्तिम गाँठो हुँ 

सिर्फ खेल हुँ तिम्रो चन्चल मनको

सर्वस्व सारा हुँ तिम्रै मनको

परम्परा हुँ प्रकृतिको

म प्राण हुँ – म त भगवान हुँ ।

 

म आफैँसँग युद्ध लड्छु – योद्धा हुँ

म आफैँलाई हराउँछु – होसियार हुँ 

म आफैँलाई जिताउँछु – अहम् हुँ 

कोही छैन व्याधा यहाँ,

कोही छैन दुस्मन यहाँ,

एउटा छ मेरै कलुषित मन यहाँ – यहि छ मेरो दुस्मन यहाँ 

म रिक्ततामा सन्तको आत्मा हुँ 

म पूर्णतामा यज्ञयज्ञादी हुँ 

म नदि हुँ,बगर हुँ ,

म फोसिल हुँ अनन्त देखी अनन्त सम्मको यात्रामा निस्किएको

म ज्ञानीको पहिलो ज्ञान हुँ

म त भगवान हुँ ।

 

म कलामा नृत्य हुँ 

म गलामा सुर हुँ 

म दृष्टिमा निराकार हुँ

मुमुक्षुमा साकार हुँ 

कहाँ छ यहाँ दुख?सुख के हो आखिर खोज्छौ के तिमी

म मुस्कान हुँ, बाल गोपालको,रोदन हुँ अन्तिम खुसीको 

भन रोज्छौ के तिमी

म फूल हुँ। म बाग बाग हुँ।म मस्तमगन हुँ।

म त भगवान हुँ ।

 

म घाम हुँ मेरै कर्तव्यको

म किरण हुँ मेरै कर्मको

म तारा हुँ आफ्नै आलोकको

म किन मानौँ म’मा खोट छ

म त जून हुँ अरुकै नजरको

 

म माटो हुँ मेरै छालाको

म मुर्ति हुँ मेरै परिश्रमको

म बिज हुँ आफैँलाई फलाउँने

म कल्पवृक्ष हुँ मेरै छहारीको

म एक्लै भिँड हुँ मेरो साहाराको

 

म धुलो हुँ पैताला मुनिको

म खरानी हुँ जलीरहेको धुनिको

म हुँ ध्यान,म हुँ नाद शङ्खको

मै हुँ अज्ञानको रेगिस्तान 

मै चेतनाको बगान हुँ

म त भगवान हुँ ।

मै त भगवान हुँ ।

 

प्रेमपत्र

जब म तिमीलाई आफ्नो मान्छु 

मैले यो पनि मानिरहेको हुन्छु

तिम्रा सबै खुसी मेरा

तिम्रा सबै दुख पनि मेरा

तिम्रा आफ्नाहरु मेरा, पराई पनि मेरा

तिम्रा हाँसो,चासो र आँसुको त्रिवेणी पनि मेरा 

तिमीले लिने र छोड्ने सास मेरा 

तिम्रो मनमा आउँने हरेक चन्चलता मेरा

विचार मेरा, 

तिमी सँग जोडिएका हरेक समाचार मेरा

 

जब म तिमीलाई आफ्नो मान्छु

मैले यो पनि मानिरहेको हुन्छु 

तिम्रा दाजुभाई मेरा दिदि बहिनी मेरा

तिम्रा साथीसहेली मेरा, 

तिमी यो दुनियाँमा हुनुको कारण

तिम्रा बाआमा मेरा

तिम्रा घरका कुकुर बिराला मेरा

तिम्रा घरका गाईगोरु पनि मेरा

तिमीले पुज्ने भगवान मेरा

तिमीले बुझ्ने भाषा मेरा

पलपल बदलिने तिम्रो जीवनको

परिभाषा मेरा

तिमीले देख्ने सपना मेरा

तिमीले गर्ने कल्पना पनि मेरा

तिमीलाई उठ्ने रिस मेरा, प्रित मेरा

तिम्रो मनको करुणा पनि मेरा

तिमीले छुने धरतीका प्रत्येक हिस्सा मेरा

तिम्रा पाईला मेरा,तिम्रा लक्ष मेरा

तिम्रा सृंगारका रङ्ग मेरा

तिम्रो जवानीका उमङ्ग मेरा तरङ्ग मेरा

तिमीले लड्ने जङ्ग मेरा,

 

जब म तिमीलाई आफ्नो मानीरहेको हुन्छु

मैले यो पनि मानिरहेको हुन्छु 

तिमीलाई लाग्ने चोट मेरा,घाऊ मेरा

तिमीलाई हुने पीडा पनि मेरा

तिमीलाई मनपर्ने गीत मेरा,संगीत मेरा 

तिम्रा प्रिय किताब मेरा,अक्षर मेरा 

तिम्रा भोक र भोजन मेरा

तिम्रा सन्तुष्टि मेरा,

तिमी अक्सर जाने लाइब्रेरीको 

कुनाका कुर्सी टेबल पनि मेरा

तिमीलाई लाग्ने खराब मेरा असल मेरा

मैले मानेको छु

तिमीभित्र बगिरहेका रगतका थोपा मेरा

चलिरहेको धड्कनका गति मेरा

तिमीले गर्ने सबै प्रगति मेरा

 

म प्रेमको अभिव्यक्ति तुच्छ शब्दले किन गरौँ

मेरा आँखाले बोल्ने भाषालाई हेर

मेरो बन्द ओठले कोरेका शब्दचित्र हेर

मेरो गलाबाट निस्किएका मौन ध्वनि सुन

देख्ने छौ

तिमीलाई गर्ने मायाका ति हरेक सुर र ताल

मैले तिमीलाई आफ्नो मानीरहँदा

मात्र तिमीलाई आफ्नो मानिरहेको हुन्छु 

मात्र तिमीलाई

तिमीलाई मात्र /